मंसिर १२, २०८३ शनिबार
काठमाडौं । लसिथ क्रिस्पुल्ले र सिनेत जयवर्धनेले शतकीय पारी खेलेपछि श्रीलंका ‘ए’ ले भारत ‘ए’ लाई आठ विकेटले पराजित गर्दै एसिया कप राइजिङ स्टार्स २०२६ को फाइनलमा स्थान बनाएको छ।
दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतले दिएको ३१८ रनको लक्ष्य श्रीलंकाले ४१.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। श्रीलंकाले ५१ बल बाँकी छँदै प्रभावशाली जित निकालेको हो।
श्रीलंकाको जितमा ओपनर क्रिस्पुल्लेले १०७ बलमा ११६ रन बनाए। उनले आफ्नो पारीमा १२ चौका र तीन छक्का प्रहार गरे। अर्का ओपनर जयवर्धनेले ७० बलमा १० चौका र ६ छक्कासहित १०५ रन जोडे। यी दुईले पहिलो विकेटका लागि १७४ रनको साझेदारी गर्दै भारतलाई सुरुदेखि नै दबाबमा राखे। जयवर्धने १०५ रनमा आउट भए भने क्रिस्पुल्लेले दोस्रो विकेटका रूपमा पेभेलियन फर्कनुअघि टोलीलाई जितको नजिक पुर्याइसकेका थिए। त्यसपछि निशानले अविजित ५८ र पवन रथनायकेले अविजित ३१ रन बनाए। उनीहरूले अविजित साझेदारी गर्दै श्रीलंकालाई सहज जित दिलाए।
टस जितेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३१७ रन बनाएको थियो। भारतका अभिषेक शर्माले ६३ बलमा ७८ रन बनाए भने कप्तान तिलक वर्माले ६६ बलमा ५३ रन जोडे। वैभव सूर्यवंशीले २६ बलमा ४० रन बनाएर टोलीलाई आक्रामक सुरुवात दिलाएका थिए। मध्यक्रममा विकेट गुमाउँदै दबाबमा परेको भारतलाई शाहबाज नदीमले अविजित ५४ रन बनाएर प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए। तानुष कोटियनले २८ रनको योगदान दिए। तर बलिङमा भारतले श्रीलंकाका ओपनरलाई रोक्न सकेन। क्रिस्पुल्ले र जयवर्धनेको आक्रामक ब्याटिङसामु भारतीय बलर निरीह देखिए।
यस हारसँगै भारत ‘ए’ को एसिया कप राइजिङ स्टार्स २०२६ को यात्रा सेमिफाइनलमै समाप्त भएको छ। श्रीलंका ‘ए’ भने उपाधि भिडन्तमा प्रवेश गरेको छ।
















Discussion about this post