मंसिर ९, २०८३ बुधबार
रुकुम पश्चिम । कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक मेला डिग्रे सम्पन्न भएको छ। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५, थर्पुस्थित डिग्रे साइकुमारी भगवती मन्दिर परिसरमा गत शुक्रबार हरिबोधनी एकादशीदेखि सुरु भएको मेला मंगलबार पूर्णिमाका दिन समापन भएको हो।
मन्दिर व्यवस्थापन समितिका अनुसार पाँच दिनसम्म चलेको मेलामा करिब दुई लाख दर्शनार्थी सहभागी भएका छन्। समितिका अध्यक्ष लालबहादुर केसीले रुकुम पश्चिमसहित आसपासका जिल्ला तथा भारतबाट समेत भक्तजन मेला भर्न र पूजाआजा गर्न आएको जानकारी दिएका छन्।
मेलाको मुख्य आकर्षणका रूपमा स्थानीय मौलिक नाच तथा सांस्कृतिक प्रस्तुति रहेका थिए। मयूँर, सिँगारु, पैसेरु र विशेषगरी सगाल नाचले मेलाको रौनक बढाएका थिए। स्थानीय साँख गाउँबाट लाठीसहित आएका समूहले बाजागाजाका साथ मन्दिर परिक्रमा गरी लाठी नाच प्रस्तुत गरेपछि मेला समापन गर्ने परम्परा छ।
मेलामा स्थानीय झाँकी, काठेपिङ, बाल उद्यानलगायत मनोरञ्जनका गतिविधिसमेत सञ्चालन गरिएको थियो। धार्मिक आस्था र स्थानीय संस्कृतिको संगमका रूपमा रहेको मेलामा रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, सल्यान, डोल्पा, सुर्खेत, दाङ, बाँके र बर्दियालगायत जिल्लाबाट दर्शनार्थी पुगेका थिए।
डिग्रे साइकुमारी भगवती मन्दिरमा हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म विशेष पूजाआजा गर्ने परम्परा छ। यस अवधिमा भक्तजनले पूजाआजा तथा भाकलअनुसार बलि चढाउने गर्छन्। मन्दिरमा दर्शन तथा पूजाआजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।
डिग्रे मेला धार्मिक आस्थासँगै कर्णालीको मौलिक कला, संस्कृति र परम्परा संरक्षण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि परिचित छ। मेलामा प्रस्तुत हुने परम्परागत नाच तथा सांस्कृतिक गतिविधिले स्थानीय पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउन योगदान दिँदै आएका छन्।















Discussion about this post