काठमाडौं : जापानको आइची–नागोयामा दुई सातासम्म सञ्चालन भएको २०औं एसियाली खेलकुद (एसियाड) आइतबार नागोयास्थित मिजुहो पार्क एथलेटिक स्टेडियममा आयोजित भव्य समापन समारोहका साथ सकिएको छ। आइची–नागोया (जापान) मा असोज ३ गतेदेखि सुरु भएको २०औं एसियाली खेलकुद आइतबार साँझ भव्य समापन समारोहका साथ सम्पन्न भएको हो । एसियाका ४५ राष्ट्रका हजारौँ खेलाडीहरूले सहभागिता जनाएको यस महादेशीय खेलकुद महोत्सवमा नेपालले सोचेजस्तो सफलता भने हासिल गर्न सकेन। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अघि सारेको ‘मिसन २०२६’ अन्तर्गत लामो समयदेखि विशेष तयारी गरेर दोहोरो अंकमा पदक जित्ने र इतिहासमै पहिलोपटक स्वर्ण पदक हात पार्ने लक्ष्यका साथ जापान पुगेको नेपाली टोली अन्ततः दुईवटा कांस्य पदकमै चित्त बुझाउन बाध्य भएको छ।
प्रतियोगितामा नेपालका तर्फबाट करातेका तेन्जिङ शेर्पाले पुरुष कुमितेको ८४ केजीमाथिको स्पर्धामा कांस्य पदक जितेका हुन् भने महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाडमा कांस्य पदक जित्दै देशको प्रतिष्ठा जोगाएको छ। यद्यपि, ऐतिहासिक स्वर्ण पदकको मुख्य दावेदार मानिएकी कराते खेलाडी एरिका गुरुङलगायत अन्य सम्भावित खेलाडीहरूबाट अपेक्षा अनुसारको नतिजा आउन सकेन। दुई सातासम्म चलेको यो खेलकुद कुम्भ मेलाको समापन समारोहमा परम्परागत जापानी संस्कृति र आधुनिक प्रविधिको सुन्दर दृश्य प्रस्तुत गरिएको थियो, जहाँ आगामी २१औं एसियाली खेलकुदको आयोजक राष्ट्र कतारको दोहालाई एसियाडको आधिकारिक झण्डा हस्तान्तरण गर्दै औपचारिक समापन गरियो।
प्रतियोगिताको पदक तालिकामा भने चीनले आफ्नो वर्चस्व कायम राखेको छ। चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्य गरी कुल ३४१ पदक जित्दै शीर्ष स्थान हासिल गर्यो भने आयोजक जापान ३९ स्वर्णसहित दोस्रो, दक्षिण कोरिया तेस्रो र भारत चौथो स्थानमा रहे। चीनकी १३ वर्षीया पौडी खेलाडी यु जिदीको उत्कृष्ट प्रदर्शन प्रतियोगिताको प्रमुख आकर्षणमध्ये एक बन्यो। केही व्यवस्थापकीय त्रुटि र चुनौतीका बाबजुद दुई सातासम्म चलेको यो खेलकुद महोत्सवले एसियाली खेलकुदको नयाँ सम्भावना र उत्साह छाडेर विदा लिएको छ।














Discussion about this post