१० असोज २०८३, शनिबार
काठमाडौं :संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन्। अमेरिकाको न्युयोर्कमा आयोजित महासभामा सहभागी भएर उनी शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा उनलाई कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले स्वागत गरेका थिए। महासभाका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुका साथै न्युयोर्कस्थित नेपाली स्थायी नियोगका विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाएका थिए।
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल र समग्र हिन्दुकुश हिमालय क्षेत्रले सामना गरिरहेको गम्भीर जलवायु संकटबारे विश्व समुदायको ध्यान आकर्षित गराएका छन्। हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोको प्रसंग उठाउँदै उनले यो संकट कुनै एउटा देशको स्थानीय समस्या मात्र नभई सम्पूर्ण मानव जातिकै लागि चेतावनी भएको बताए। जलवायु संकटको सामना गर्न फोस्रा प्रतिबद्धताहरू त्यागेर तत्काल र ठोस कदम चाल्नुपर्नेमा जोड दिँदै उनले साना अनुदानका टुक्रे व्यवस्थाले प्रभावकारी काम नगर्ने स्पष्ट पारे। साथै, जलवायु संकटको असर न्यूनीकरण र सीमापार विपद् व्यवस्थापनका लागि उनले ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापनाको महत्त्वपूर्ण प्रस्ताव समेत अघि सारेका छन्।














Discussion about this post