स्पेन /मड्रिड । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले स्पेनी दैनिक एल पाइसलाई दिएको अन्तर्वार्तामा युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताएका छन् ।
भविष्यमा रूस र युक्रेनलाई वार्ताको टेबलमा ल्याउन हर सम्भव प्रयास भएपनि तत्काल कुनै पक्ष यसका लागि तयार नदेखिएको उनले बताएका हुन् ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको रेड स्क्वायर भिक्ट्री डे परेडमा विश्व ‘टर्निङ प्वाइन्ट’मा रहेको र रूसविरुद्ध ‘युद्ध’ सुरु भएको दाबी गरेका थिए ।
त्यसको अघिल्लो दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नाजीवादलाई परास्त गरेझैं रूसी सेनालाई पनि परास्त गरिने बताएका थिए।
युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न चीनले दबाब दिइरहेका बेला चिनियाँ विदेशमन्त्री किन ग्याङले यसै साता युरोपको भ्रमण गर्ने घोषणा गरेका छन् । स्रोत: रासस/एएफपी
Discussion about this post