लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरिएको छ। बिहीबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले प्रतिवेदन पेस गर्नुभएको हो।
आर्थिक वर्ष २०७८/०७९ को अवधिमा जम्मा १ हजार ३ सय ९७ वटा विज्ञापन तथा बढुवा सूचनाबाट कूल तीन हजार ७ सय २७ पदका लागि विज्ञापन भएको कुरा प्रतिवेदनमा उल्लेख छ। उक्त विज्ञापनबाट बढुवातर्फ एक हजार २ सय ३३, आन्तरिक प्रतियोगितातर्फ २ सय ७१, खुला प्रतियोगितातर्फ एक हजार २ सय ६ तथा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रका समावेशी प्रतियोगितातर्फ जम्मा एक हजार १७ पदका लागि दरखास्त माग गरिएको छ।
राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवेदनमा आयोगको कार्यसम्पादनका आधार, प्रशासनिक तथा वित्तीय स्थिति, विज्ञापन र दरखास्त, परीक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रम सम्बन्धी विवरण समेटिएको छ।
आयोगबाट विगतका प्रतिवेदनमा प्रस्तुत सुझाव कार्यान्वयनको स्थिति तथा सार्वजनिक सेवामा गर्नुपर्ने सुधार लगायत विषयमा सुझावलाई समेटिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो।
आयोगको प्रतिवेदनमा आन्तरिक प्रतियोगिता तथा खुला प्रतियोगिताका विज्ञापनतर्फ लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल तीन लाख ६५ हजार ४ सय ३४ दरखास्त प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।
Discussion about this post