तेह्रथुम- २५ असार, तेह्रथुम जिल्लाको संक्रान्ती बजारमा बैशाख २६ गतेका दिन ६ जना ख्रीष्टियनहरूले येशू ख्रीष्टको बारेमा बताउदै गर्दा धर्म प्रचार गरेको आरोपमा पक्राउ परेका थिए । ६ जना ख्रीष्टियनहरूलाई १५ दिन तेह्रथुम हिरासतमा राखेर तारेखमा छाडिएको थियो। असार २५ गतेका दिन जिल्ला अदालत तेह्रथुमले फैसला गर्दै सफाइ दिएको छ । नेपाल ख्रीष्टियन समाजका उपाध्यक्ष कुबेर गुरूङका अनुसार सुसमाचार प्रचार गर्दा पक्राउ परेका ६ जना झापाको दमक १ का दिनेश सुब्बा र आशिष सुब्बा, दमक २ का दिपक सुब्बा, र मनतुला धिमाल तथा भारतको सिकिम, गान्तोकका भूपाल राई र पश्चिम बंगालका पवन राईले सफाई पाएका छन्।
पक्राउ परेकाहरूको लागि नेपालका मण्डलीहरूले निरन्तर प्रार्थाना गर्दै आएका थिए। नेपालको संविधान २०७२ को भाग-३ मा मौलिक हक र कर्तव्य अन्तर्गत प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार आफूले चाहेको वा इच्छा लागेको धर्म अवलम्बन, अभ्यास र संरक्षण गर्न पाउने स्वतन्त्र अधिकार दिएको छ। तर पछिल्लो समयमा अरू कोही व्यक्तिलाई येशू ख्रीष्टको बारेमा सुनाउँदा वा बताउँदा मात्रै पनि धर्म प्रचार गरेको भनी आरोप लगाउन थालिएको छ। कुनै पनि व्यक्तिले आफ्नो आस्था वा धर्ममा कसैलाई पनि प्रलोभन देखाइ वा जबरजस्ती परिवर्तन गराउन पाउने अधिकार कुनै पनि धर्मलाई छुट दिइएको छैन। वर्तमान अवस्थामा कतै कतै जबरजस्ती ख्रीष्टियन बनाएको आरोप ख्रीष्टियनहरूलाई लगाइए पनि अहिलेसम्म जबरजस्ती धर्म परिवर्तन गराइएका वा ख्रीष्टियन बनाइएका व्यक्ति नेपालका चर्चहरूमा कतै भेटिएका छैनन्। शारिरीक अशक्तता, रोग, विभिन्न प्रकारका समस्याहरूबाट पिल्सिएकाहरूको नै चर्चहरूमा बाक्लो उपस्थिति देख्न सकिन्छ।
Discussion about this post