परमेश्वरलाई सम्झेर कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय छ। … तिमीहरूले असल गरेर पनि दु:ख भोग्नुपर्दा धैर्यसँग सहन्छौ भने यो परमेश्वरमा ग्रहणयोग्य हुन्छ, १ पत्रुस २:१९-२०
मानविय स्वभाव नै अन्याय नसहने हो। मानिसमा सबैभन्दा ठुलो हुने, आदर सम्मान रूचाउने स्वभाव हुन्छ। राजनीतिक परिवर्तनसँगै हामी मानिसलाई अलिकति राज्यबाट अथवा अन्य क्षेत्रबाट अन्याय भयो भने, आफ्नो हक अधिकारको लागि आवाज उठाउछौं। त्यतिमात्र नभएर व्यक्तिगत कुरामा पनि कसैले हेला गरेको, अन्याय गरेको थाह हुनेवित्तिकै त्यसको विरूद्धमा उत्रिन्छौ। चाहे पारिवारिक मामलामा किन नहोस प्रतिकार गर्न पछि पर्ने चलन छैन। तर यहाँ माथिका पदहरूमा ठ्याक्कै उल्टो परिभाषा पाइन्छ।
यी पदहरूमा पत्रुस एउटा असजिलो र महत्त्वपूर्ण शिक्षा दिन्छन्: अन्यायी दुःख सहनु, अथवा असल गरेर पनि दुःख भोग्नु चाहिँ परमेश्वरलाई एउटा ग्रहणयोग्य कुरा हो । संसारका मानिसको विचारभन्दा यो शिक्षा उल्टो छ। ख्रीष्टियानहरूलाई पनि यो शिक्षा पूरा गरी मान्न एकदम गाह्रो छ। हामी दैनिक प्रार्थनामा समय विताए पनि, बाइबल अध्ययन गरे पनि, अरूलाई शिक्षा दिए पनि कतिपटक हामी आफै यी कुराहरू सहन नसक्ने अवस्थामा पुग्दछौं।
चाहे चर्चमा पास्टर र विश्वासीबीचको सम्बन्धमा किन नहोस, कार्यालयमा हाकिम र कर्मचारीको बीचको सम्बन्धमा, मालिक र नोकरको बीचको सम्बन्धमा कुनै सानो अन्याय वा दुःख पर्ने बित्तिकै हामी कराउँछौं र कसरी बदनाम गर्ने वा खराबी देखाइदिने भन्ने तर्फ लाग्छौं। यदि यस्तो गर्छौं भने, हामीले परमेश्वरबाट कुनै पनि प्रशंसा पाउनेछैनौं।
यसै प्रसंगलाई अहिलेको राजनीतिमा हेर्दा पनि ख्रीष्टियनहरूलाई राज्यको तर्फबाट, राजनीतिक दलहरूको तर्फबाट पनि अन्याय भएको महशुस हुन्छ। केहि राजनीतिक स्वार्थ बोकेका व्यक्तिहरू र केही मेडियाबाट ख्रीष्टियनहरूको विरूद्धमा अनेकप्रकारका आरोप र विरोधहरु मात्र सुन्नमा आइरहेका छन्। ईसाइहरूको संख्या नेपालमा १.४ प्रतिशत छ। अन्य धर्महरूको तुलनामा ख्रीष्टियनहरू धेरै कम संख्यामा छन्। यो संख्यालाई अन्य धर्ममा आश्था राख्नेहरूले ठुलो संख्या मानेर ख्रीष्टियन धर्म फैलन नदिन रोक्ने प्रयास गरिरहेका छन्। एउटा व्यक्तिको स्वतन्त्र धार्मिक आश्थालाई धर्म संस्कृति नष्ट गर्नेसँग तुलना गरेर बुद्धिजीबि वर्गहरू पनि ख्रीष्टियनहरूको विरूद्धमा उत्रेका छन्। यहाँ बहुसंख्यकले अल्पसंख्यकमाथि गरेको अन्याय वा दमन मान्न सकिन्छ। धर्म परिवर्तनको वास्तविकता पत्ता नलगाएर धर्म परिवर्तनको आरोप ख्रीष्टियनहरूलाई लगाउनु कदापि न्यायसंगत छैन। त्यतिमात्रै नभएर राज्यको प्रतिनिधित्व गरेका व्यक्तिहरूले पनि वास्तविक कुराहरू पत्ता नलगाइ धर्मपरिवर्तनमा कडा गर्ने भनेपछि नेपालकै नागरिकले आफूले चाहेको धर्ममा आश्था राख्न नपाउने भन्ने बुझिन्छ ।
नेपालको संविधान २०७२ ले मौलिक हक र कर्तव्य अन्तर्गत धारा २६ ले प्रत्येक नागरिकलाई चाहेको, इच्छा लागेको धर्ममा आश्था राख्न वा मान्न, अवलम्बन गर्न र संरक्षण गर्न स्वतन्त्रता दिएको छ। उपधारा ३ ले कसैले पनि आफ्नो आश्थालाई जोड दिएर अरुको आश्थामाथि असर नपारोस् वा खलल नपारोस। कसैले कसैलाई पनि धर्म मान्न बाध्य नपारोस्, सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप, अराजकता जस्ता काम नहोउन् वा कसैले नगरोस् भनिएको छ। यस्तो हुनगएमा दण्डनीय हुने बताइएको छ । साथै मुलुकि ऐनमा अपराध संहितामा धर्मसम्बन्धिको कसूरमा स्पष्ट्याइएको छ।
नेपालको संविधान र कानूनले आफ्नो आश्था वा धर्मको अभ्यास गर्न र संरक्षण गर्न स्वतन्त्रता दिइसकेको अवस्थामा अब कुनै पनि धर्ममा आश्था राख्नेहरूले अर्को धर्ममा आश्था राख्नेहरूलाई विना कारण आरोप लगाउन पाउँदैनन्। आफ्नो धर्म संरक्षण गर्न अर्को धर्मको बारेमा गलत आरोप लगाउने व्यक्ति दण्डनीय हुन्छ कि हुँदैन? अहले बारम्बार मेडियामा ख्रीष्टियन विरूद्धका आरोपहरू आइरहेका छन्। धर्म परिवर्तन कसरी हुन्छ भनी पत्ता नलगाइ धर्म परिवर्तन भयो भनि आरोप लगाउनु अबैज्ञानिक ठहरिन्छ । जुनसुकै धर्म माने पनि नेपाली नागरिक नै हुन्। वास्तविक कारण पत्ता नलगाइ कुनै सम्प्रदाय, व्यक्ति वा संघ संस्थालाई धर्म परिवर्तनको आरोप लगाउँदा धर्ममा आश्था राख्ने नागरिकको मनोभावनामा असर पर्न जान्छ भन्ने कुरा राज्यका प्रतिनिधित्व गरेका व्यक्तिहरू र धर्ममा आश्था राख्ने भक्तजनहरूले बुझ्नु आवश्यक छ।
ख्रीष्टियन धर्म वा सिद्धान्त राम्रो होइन भनि प्रमाणीत गराउन मेडिया, सामाजिक सञ्जाल र राजनीतिक दलका व्यक्तिहरूपनि लागि परेका छन्। ख्रीष्टियनहरूलाई झुटा आरोप र अनेक असत्य कुरा भनी विदेशी धर्म समेत भनेर राम्रो दृष्टिले हेरिदैन। यस्तो अवस्थामा कति ख्रीष्टियनहरू हामी किन चुप लागेर बस्ने, हामी पनि यो देशको नागरिक हो। धर्म निरपेक्षता भएको देशमा आफ्नो इच्छा अनुसार धर्म मान्न नपाउने? भनी आवाज उठाउनेहरू पनि छन्। अर्को तर्फ विरोधीहरूको निम्ति प्रार्थना गर्ने ख्रीष्टियनहरू पनि छन्। प्रभु येशू ख्रीष्टमा विश्वास र ग्रहण गरेकाहरूलाई पत्रुसले लेखेको माथिको पदअनुसार असल काम गर्दा अन्याय कष्ट आउछ भने यो परमप्रभुबाट ग्रहणयोग्य नै हुन्छ । प्रभुले नै वास्तविक सत्य कुरा ख्रीष्टलाई विश्वास गर्नेहरूबाट नै प्रकट गर्नु चाहनुहुन्छ । कुनै व्यक्तिबाट, समाजबाट वा राज्यवाट हामी येशू ख्रीष्टलाई विश्वास गर्नेहरू जति ख्रीष्टियन प्रति अन्याय गरेपनि, कष्ट दिएपनि सहनुपर्छ। परमेश्वरतर्फ आफ्नो मन स्थिर गरेर धन्यवादी हुनुपर्छ। किनकि जब हामीमा अन्याय, कष्टहरू ख्रीष्टको नाउँमा आउँछन् भने परमेश्वरमा प्रशंसनीय नै हुन्छ। भलाई गर्ने काम, सबैको हित हुने काम निरन्तर नै भइरहुन्।
Discussion about this post