काठमाडौं-जेठ १ गते, नेपाल ख्रीष्टियन समाजका सहअध्यक्ष तथा आइटीनका निर्देशक पास्टर टंक सुबेदीलाई मातृशोक परेको छ। ललितपुर स्थित भैसेपाटी निवासबाट मार्था सुबेदी ८४ वर्षको उमेरमा बैशाख ३० गते शनिबार राती यस धर्तिबाट सदाको लागि बिदा लिएर परमेश्वरको घरमा जानुभएको छ। वि.सं १९९० सालमा जन्मेकी मार्था सुबेदीका तीन सुपुत्र र एक सुपुत्री छन्। ज्येष्ठ सुपुत्र बेदी सुबेदी रामघाट चर्च पोखराका एल्डर हुनुहुन्छ भने कान्छा सुपुत्र पास्टर टंक सुबेदी पछिल्लो समय रेलिजियस लिवर्टी अन्तर्गत राष्ट्रिय संयोजक भएर सक्रिय रुपमा वर्तमान अवस्थामा धार्मिक स्वतन्त्रताको लागि आवाज उठाउदै आउनुभएको छ। माइला सुपुत्र डिल्लीराम सुबेदी पोखरामा हुनुहुन्छ भने कान्छी सुपुत्री अरूणा सुबेदी थापा अमेरीकामा हुनुहुन्छ।
आज जेठ १ गते पुतलीसडक बेथशालोम चर्च काठमाडौंमा स्वर्गीय मार्था सुबेदीको ख्रीष्टियन परम्परा अनुसार पार्थीव शरीरको अन्तिम संस्कार सेवा भएको हो। अन्तिम संस्कार सेवा काठमाडौंमा भएपनि पार्थिव शरीर गाड्न अथवा राख्नको लागि पोखरा लगिएको छ। काठमाडौंमा ख्रीष्टियनहरूको पार्थिव शरीर राख्ने वा गाड्ने चिहान नभएको हुँदा पोखरा लगिएको हो। पार्थिव शरीरको दफन गर्ने कार्यक्रम जेठ २ गतेका दिन रामघाट चर्च पोखरा अन्तर्गत हुनेछ।
स्वर्गीय मार्था सुबेदी पछिल्लो समय डिमेन्सिया रोगबाड पीडित हुनुहुन्थ्यो। अन्तिम संस्कारमा रामघाट मण्डली पोखरा र काठमाडौंका विभिन्न चर्चका पास्टर अगुवाहरू आफन्त जनहरूले मार्था आमाले गरेको सेवा समाजमा र मण्डलीमा स्मरणीय र उदाहरणीय भएको कुरा बताउनु भएको थियो। आफ्नो जीवनमाकालमा दाङमा, बाग्लुङ र पोखरामा सामाजिक कार्यको साथै परमेश्वरको प्रेम बाड्ने काम गरेको कुरा पनि वर्णन गर्नुभएको थियो। समाजमा घृणित कुष्ठरोगीहरूको सेवा गर्नुको साथै ख्रीष्टमा हुर्काउने, प्रार्थना गर्ने र उत्साह दिने काममा आफ्नो समय विताएको कुरा रामघाट मण्डलीका डिकन शोभाखर थापाले बताउनुभएको थियो। स्वर्गीय सुबेदीले सामाजिक कार्यको सिलसिलामा नेपालको मध्यपश्चिमका पहाडी क्षेत्रहरूमा सुसमाचार प्रचार र सेवामा लामो समय बिताउनु भएको थियो। बाग्लुङ र दाङमा चर्च स्थापनामा ठूलो योगदान दिएर स्वर्गीय मार्था सुबेदीले ख्रीष्टियन जगतमा कहिल्यै विर्सन नसक्ने काम गरेको कुरा बर्णन गरिएको थियो।
यस दु:खद घडीमा शोक सन्तप्तमा पर्नुभएका आफन्त जनहरू र परिवारलाई परमेश्वरले सहन सक्ने क्षमता र शान्ति दिनुभएको होस् भन्दै नेपालचर्चडटकम परिवारले प्रार्थना गर्दछौं।
Discussion about this post