अमेरिकाको राष्ट्रपति पदका लागि ७० वर्षीय डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएको छ। मंगलबार सम्पन्न भएको निर्वाचनमा मत परिणाम अनुसार राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मत भन्दा बढी मत प्राप्त गर्नुभएको छ। रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले २७६ मत प्राप्त गर्दा उहाकी प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनले २१८ मत मात्रै प्राप्त गर्नुभएको छ। मिडिया र विभिन्न एजेन्सीहरुको अनुमान विपरित ट्रम्पले निकटतम प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टन भन्दा बढी मत प्राप्त गरी विश्वकै शक्तिशाली देश संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्नुभएको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनको झन्डै २ सय ४० वर्षको इतिहासमा ४४ जना राष्ट्रपति भइसक्दा अहिलेसम्म महिला चयन भएका छैनन्। राष्ट्रपतिमा अहिलेसम्म प्रमुख पार्टीबाट महिला उम्मेदवार हुनसम्म सकेका थिएनन्। यसले हिलारीका पक्षमा चुनावी लहर देखिएको थियो।
अर्थशास्त्रमा स्नातक ट्रम्प रियलस्टेट, निर्माण कम्पनी, टेलिभिजन कार्यक्रम उत्पादन लगायतका भेन्चरको प्रिन्सपल होल्डिङ ट्रम्प अर्गनाइजेशनका मालिक पनि हुनुहुन्छ। अमेरिकी अरबपति ट्रम्पको मिस युनिभर्स, मिस यूएसए, मिस टिन यूएसए जस्ता प्रतियोगिता गराउने संस्थाहरुमा समेत संलग्नता छ।
ट्रम्पको शपथग्रहण भने आगामी २० जनवरीमा मात्रै हुनेछ। अमेरिकामा राष्ट्रपतिको निवार्चन प्रत्येक चार वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबार र शपथग्रहण २० जनवरीमा हुने संवैधानिक व्यवस्था छ।
डोनाल्डका लागि आउने दिन सजिलो भने छैन। ७० वर्ष पुगेका डोनाल्डले निर्वाचन अभियान सुरु भएदेखि नै गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएको आप्रवासीलाई जहाँबाट आए त्यही फिर्ता पठाउने बताउँदै आउनुभएको थियो। उहाँको यो नीति कार्यान्वयन भए झन्डै १ करोड १० खाल गैरकानुनी अप्रवासी प्रभावित हुने छन्।आप्रवासीमा यो त्रास वढेको छ। यो फिर्ता पठाउने प्रक्रिया आफैंमा जटिल छ।
Discussion about this post