पोखरा – पोखरास्थित लामाचौर चर्चले यही कार्त्तिक १३ गते शनिबार स्थापनाको चालिसौं वाषिर्कोत्सव विविध कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ। समारोहका विशेष अतिथि क्वानोनिया ख्रीष्टिय मण्डली कुमारीपाटी, ललितपुरका वरिष्ठ पास्टर रेभ डा.मगलमान महर्जनले लामाचौर चर्चले चालिस वर्षपूरा गरेकोमा वधाई तथा शुभकामना दिँदै रोमीको १२ अध्यायबाट वचन प्रचार गर्नुभएको थियो। वचनमा प्रेममा जोड दिनु भएको थियो।
कार्यक्रममा लामाचौर चर्चका पास्टर अतन लामा, एल्डर के.बी. (भक्त) थापा, डा. मंगलमान महर्जन र पोखरेली ख्रीस्टिय समुदायका अध्यक्ष भवीन्द्र रानाले संयुक्त रुपमा लामाचौर चर्चको स्मारिका र एल्बम विमोचन गर्नुभएको थियो।
विमोचनपछि यस चर्चको इतिहासका बारेमा रामचन्द्र तिमोथीले छोटकरीमा प्रकाश पार्नुभएको थियो। वि.सं. २०३१ सालमा स्थापना भएको यो चर्च पोखरामै तेस्रो पुरानो चर्च भएको बताउँदै उहाँले यस चर्चले अझ द्रूत गतिमा अघि बढ्नुपर्ने आवश्यकता उल्लेख गर्नुभएको थियो।
कार्यक्रममा लामाचौर चर्चका संस्थापकहरु के.बी. (भक्त) थापा, मायाचङ गौतम, पास्टर अतन लामा लगायत यस चर्चको स्थापनामा योगदान पुर्याउने डेभिड मकंकी र श्रीमती, आर्थर जोन र श्रीमती हिलारी जोन, डा. एलिसन क्राभेन लगायत विदेशी पाहुनाहरुलाई समेत सम्मान गरियो।
लामाचौर चर्चका अ.पा. मुक्ति ढकालले उपस्थित समस्त पाहुनाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। विशेष गीत सलोमी लेप्चा तिमोथीले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम राजु अधिकारीले सञ्चालन गर्नुभएको थियो।
उत्सवमा पोखरा तथा आसपासका चर्चका पास्टर अगुवाहरु तथा स्थानीय भद्रभलाद्मीहरु समेत गरी ६०० भन्दा बढी व्यक्तिहरुको उपस्थिति थियो।
Discussion about this post