चितवन- ४ कार्तिक, ग्लोबल मिसन नेपालको आयोजनामा कार्तिक १ गतेदेखि ४ गतेसम्म पास्टर तथा अगुवा तालिम चितवन जिल्लाको सौराहामा सम्पन्न भएको छ। पास्टर तथा अगुवा तालिममा ग्लोबल मिसन नेपालका ३० वटा चर्चहरूबाट लगभग ९० जनाको सहभागिता रहेको थियो। तालिममा विभिन्न विषयहरूमा प्रशिक्षण गराउनलाई अमेरिकाबाट पास्टर क्रिस, पास्टर ब्राइन, चाड, पावल र क्याटलिन आउनुभएको थियो।
पहिलो वर्ष र दोस्रो वर्षको गरी तालिमलाई दुइभागमा विभाजन गरेर अगुवाहरूको लागि महत्वपूर्ण विषयहरूमा प्रशिक्षण गरिएको थियो। पहिलो वर्षमा सहभागी अगुवाहरूलाई बाइबलबाट नयाँ नियम, दर्शन, अनुशासित अगुवा, येशूले बोल्नुभएका उखानहरू र सेवाक्षेत्रमा बरदान आदिको बारेमा प्रशिक्षण गरिएको थियो भने दोस्रो वर्षको लागि आत्मिक अगुवापन, दर्शनधारी अगुवापन, संस्थागत अगुवापन, प्रेरितको पुस्तकलाई तीन भागमा विभाजन गरी येरूशलेममा साक्षी, यहूदिया र सामरियामा साक्षी र पृथ्वीको अन्तिमसम्म साक्षीको विषयमा, रोमिको पुस्तक, कोरिन्थी, एफिसी, पावलको इश्वरशास्त्र र बिजनेस सम्बन्धि कक्षाहरू भएका थिए।
तालिमले आत्मिक स्तरमा बलियो र परिपक्व बनाइ मण्डलीमा चेलापन र बृद्धि हुने कुरामा अगुवाहरूलाई प्रेरित गरेको छ। सेवाकाइ अन्तर्गतका विभिन्न अनुभव, उदाहरण र शिक्षाले तालिममा सेवकहरूलाई अझै उत्साहित बनाएको छ। कार्तिक १ गतेदेखि ४ गतेसम्म भएको अगुवा तालिम ग्लोबल मिसन नेपालले विश्वव्यापी सुसज्जित ग्लोबल लिडर्स इन्स्टिट्यूटसँगको सहकार्यमा तालिम गरेको हो।
Discussion about this post