आराधना सेवाका लागि सञ्चालकहरूले गर्नुपर्ने कार्यहरू बुँदागत रूपमा

[ 0 ] March 8, 2018 |

नेपालका धेरैजसो चर्चहरूमा आराधना सेवा संगति गर्ने तरिकाहरू एकै किसिमका छन् । चर्चअनुसार कहीँकतै अलिकति फरक पनि हुन सक्ला। तर आराधना सञ्चालन गर्ने व्यक्ति वा अगुवाहरू आफ्नो मण्डली, स्थान वा क्षेत्रअनुसार प्रभावकारीरूपमा आराधना सञ्‍चालन गर्नलाई केही तरिकाहरू यहाँ छन् । क्वाइनोनिया पाटन चर्चका एल्डर शेर ए सीले तयार पार्नुभएको निर्देशनहरूलाई ध्यान दिँदा आराधना संगतिलाई अझै मर्यादित बनाउन सहयोग पुग्‍नेछ।
– शेर ए.सी.,

क) सञ्चालकले विशेष ध्यान दिनुपर्ने कुराहरू :

१. सञ्चालकले पवित्र र परमेश्वरको भययोग्य जीवन जिएको हुनुपर्छ ।
२. कार्यक्रम वा सङ्गतिका लागि तयारी गर्दा प्रार्थनासहित गर्नुपर्छ ।
३. कार्यक्रम वा सङ्गति सानो नै किन नहोस् त्यसलाई हल्का रूपमा लिनुहुँदैन, र यो परमेश्वरको काम हो भनी सम्झनुपर्छ ।
४. सबै सहभागीका आँखा सञ्चालकमाथि पर्ने हुँदा सञ्चालक सफा–सुग्घर हुनुपर्छ, र पुल्पितमा जाँदा जहिले पनि सफा र मर्यादित कपडा लगाउनुपर्छ ।
५. सञ्चालकको बोली स्पष्ट र सबैले बुझ्न सक्ने खाल्को हुनुपर्छ ।
६. कार्यक्रम वा सङ्गति सुरु गर्नु अगाडि; सबै कुरा ठीक छन् वा छैनन्, र विश्वासीहरू ठीकसँग मिलेर बसेका छन् वा छैनन् भनेर विचार गर्नुुपर्छ ।
७. कार्यक्रम सुरु गर्नु अगाडि; सङ्गीत झुन्ड वा मण्डलीका अगुवाहरूसँग मिलेर केही क्षण प्रार्थना गर्नु धेरै राम्रो हुन्छ ।
८. सञ्चालक; ठीक समयमा अर्थात् कार्यक्रम सुरु गर्नु भन्दा अगाडि नै आउनुपर्छ, र सङ्गति ठीक समयमा सुरु गर्नुपर्छ ।
९. पुल्पितबाट बोल्दा; जथाभावी अर्थात् कुनै अमर्यादित वा कसैलाई चोट पुग्ने कुरा बोल्नुहुँदैन ।
१०. कार्यक्रम वा सङ्गतिलाई ठीक समयमा सुरु गरेर ठीक समयमा अन्त्य गर्नका लागि समयको एकदमै ख्याल गर्नुपर्छ ।
११. सबै कुरा राम्रो र असल हुनका लागि; सञ्चालक आफै पवित्र आत्माको भरपूरीमा हुनुपर्छ ।
१२. सञ्चालकले बाहिरी कार्यक्रमहरूभन्दा चर्चका कार्यक्रमहरू फरक हुन्छन् भनेर थाहा पाउनुपर्छ, र अरूको नक्कल नगरेको राम्रो हुन्छ ।
१३. सञ्चालकले सधैँ एकैतिरमात्र नहेरेर सबैतिर हेर्नुपर्छ, र अनुहार पनि हँसिलो बनाउनुपर्छ ।
१४. सञ्चालकले औंला ठडाउने र अरूलाई दोष दिने वा गाली–गलौज गर्ने काम कहिल्यै गर्नुहुँदैन ।
१५. सञ्चालकले नचाहिँदा जोक्स वा फाल्तु कुराहरू नगरी; कार्यक्रमको उद्देश्यमा नै ध्यान केन्द्रित गर्नु राम्रो हुन्छ ।

ख) कोरस/भजन/सुरुको प्रार्थना :
कोरस, भजन र प्रार्थना; सङ्गति तथा कार्यक्रमका सुरुका कुराहरू हुन्, र यही नै पहिला हुनुपर्छ भन्ने खासै केही नियम छैन । तर सुरुमा केही प्रभुलाई महिमा दिने, र अलि जोशिला कोरसहरू गाएर सुरुको प्रार्थना गर्दा राम्रो हुन्छ । त्यसपछि भजन गाउन सकिन्छ । भजन पनि प्रभुलाई महिमा दिने, र स्तुति–प्रशंसाका गीत–भजनहरू भएमा अझ राम्रो हुन्छ । सुरुको प्रार्थना गर्दा धन्यवादबाट सुरु गरेर मण्डली, समाज र देशका लागि पनि प्रार्थना गर्न सकिन्छ । विशेष गरेर सङ्गतिको लागि प्रार्थना गर्नुका साथै सबै कुराहरूका लागि, जस्तै: सङ्गीत झुन्ड, सूचना दिने व्यक्ति र वक्ताका लागि प्रार्थना गर्नुपर्छ अर्थात् उनीहरूलाई परमेश्वरको हातमा सुम्पनु वा समर्पण गर्नुपर्छ ।

ग) विश्वासको सार, दर्शन र मिसन :
यी तीनवटा कुराहरू मण्डलीका सबै कार्यक्रमहरूमा समावेश हुनुपर्छ भन्ने होइन तर कति (क्वाइनोनिया) मण्डलीहरूले शनिवारको सङ्गतिमा विश्वासको सार, दर्शन र मिसन पढ्ने चलन छ । यस कारण यी कुराहरू पढ्दा खासै हानि हुँदैन किनकि हरेक हप्ता पढ्दा सधैँ सम्झिरहन सकिन्छ । तर अरू सबै कार्यक्रम वा सङ्गतिहरूमा चाहिँ नपढेकै राम्रो हुन्छ ।

घ) स्तुति/प्रशंसा :
स्तुति–प्रशंसा तथा आराधना; सङ्गतिको एकदमै महत्त्वपूर्ण कुरा हो , र हरेक सङ्गति वा कार्यक्रममा छोटै भए पनि स्तुति–प्रशंसा, आराधना गर्दा राम्रै हुन्छ । अहिले प्राय: मण्डलीमा यो भाग सङ्गीत झुन्डलाई दिइने भएकाले उनीहरूसँग समन्वय गरेर गर्दा राम्रो हुन्छ । बाइबल पाठ गर्ने क्रममा स्तुति–प्रशंसाका खण्डहरू विशेष गरी भजनसङ्ग्रहबाट छान्दा राम्रो हुन्छ । छोटो र प्रशंसाको लागि उपयुक्त खण्ड छान्नु नै ठीक हुन्छ तर पढेर त्यसलाई लामो व्याख्या भने गरिरहनुपर्दैन । उक्त खण्ड पढेर सारांशमा केही कुराहरू भन्न सकिन्छ तर लामो व्याख्या भने गर्नुहुँदैन । स्तुति–प्रशंसाका लागि कोरस/भजनहरू छान्दा पनि खण्डसँग मिल्ने र स्तुति–प्रशंसा गर्न उत्साह प्रदान गर्ने खालका
छान्नुपर्छ । सुरुमा अलि जोशिला खालका कोरसहरू गाउने, र स्तुति–प्रशंसामा डोर्‍याउने, र विस्तारै मानिसहरूलाई आराधनामा डोर्‍याउनुपर्छ । कतिपटक सञ्चालक र सङ्गीत झुन्डका बीचमा तालमेल हुँदैन । यस कारण कतिवटा कोरस/भजनहरू गाउने, कति बेला कसले प्रार्थना गरेर अन्त्य गर्ने भनेर पनि पहिला नै कुरा मिलाउनुपर्छ । सञ्चालक र सङ्गीत झुन्डले एक–आपसमा हानथाव गर्नुहुँदैन ।

ङ) स्वागत :
सञ्चालकले हँसिलो अनुहारमा सबै मण्डली परिवारलाई सुरुमै स्वागत गर्दा राम्रै हुन्छ । सङ्गतिमा कोही नयाँ छन् भने स्पष्ट शब्दमा उनीहरूलाई आफ्नो नाउँ र आएको ठाउँ भन्न लगाउने । अनि सबै जना मिलेर उनीहरूलाई ताली बजाएर स्वागत गर्नुपर्छ। स्वागतका अरू थुप्रै तौर–तरिकाहरू छन्, ती पनि समय–सन्दर्भअनुसार गर्न सकिन्छ ।

च) सूचना :
आ–आफ्नो मण्डलीका आ–आफ्नै सूचना दिने तरिकाहरू हुन सक्छन् तर सूचनालाई सक्भर छोटो र स्पष्ट पार्न सकेमा राम्रो हुन्छ । सूचना दिँदा कुन कुरा बढी महत्त्वपूर्ण हो, र कुन कुरा भनिरहनु आवश्यक छैन भनेर पनि विचार गर्नुपर्छ । बाहिरका कुराभन्दा मण्डलीकै आन्तरिक कुराहरू र अझ महत्त्वपूर्ण कुराहरूमात्र भन्दा राम्रो हुन्छ । यदि कोही बिरामी छन् र उनीहरूको नाउँ पुल्पितबाट सुनाइन्छ भने उनीहरूको नाउँ र ठाउँमात्रै भन्दा समयको बचत हुन्छ । तर कोही विश्वासी साह्रै बिरामी भएर अस्पताल भर्ना भएका छन् भने सो कुरा सविस्तार भन्नु राम्रै हुन्छ । कुनै तालिम, सेमिनार तथा सम्मेलनका बारेमा सूचना दिँइदैछ भने मिति, समय, ठाउँ र दर्ता शुल्क स्पष्ट रूपमा बताउनुपर्छ । कति मण्डलीमा दशांश–भेटी दिनेहरूको नाउँ भन्ने चलन छ तर त्यो पुल्पितबाट नभनेकै राम्रो हो । हेरक सूचना छोटो र स्पष्ट हुनुपर्छ ।

छ) भेटी संकलन :
भेटी तथा दशांश उठाउने आ–आफ्नो मण्डलीका आ–आफ्नै तरिकाहरू हुन्छन्, र यही तरिका नै सही हो भन्ने छैन । भेटीका लागि पहिला नै उठाउने मान्छे तयार गर्ने, भेटीको झोला दिने र भजन गाउन सुरु गरेपछि मात्रै उठाउन निर्देशन दिँदा राम्रो हुन्छ । भेटी उठाउने व्यक्ति नचिनेको, बप्तिस्मा नलिएको, जो पायो त्यही हुनुहुँदैन । भेटीका लागि भजन छान्दा पनि सोही विषयसँग सम्बन्धित भजन भयो भने राम्रो हुन्छ तर सक्भर लामो भजन नछान्नु राम्रो हो ।

ज) प्रार्थना :
समयको बचत होस् भनेर सूचना, भेटी र वचनका लागि एकै जनाले प्रार्थना गर्दा राम्रो हुन्छ । यसका लागि सक्भर मण्डलीका अगुवाहरूलाई नै मौका दिँदा अझै बेश हुन्छ, र हुन सक्छ अनि सम्भव छ भने पहिला नै जानकारी दिएको खण्डमा उक्त व्यक्ति तयार भएर बस्न सक्छ । समय धेरै गइसक्यो र छोटो गर्नुछ भने सञ्चालक आफैले प्रार्थना गर्दा पनि राम्रै हुन्छ । प्रार्थना छोटो र सबै विषयलाई समेटेको पनि
हुनुपर्छ ।

झ) वचन :
सञ्चालकले वक्तालाई सक्भर लामो समय मिलाइदिनु राम्रो हुन्छ कारण त्यसो भएमा वचनको खण्ड पढेर राम्रोसँग वचन दिन सकिन्छ । वक्ता मण्डलीकै भए केही भन्नु वा गर्नु नपर्ला तर बाहिरबाट आएको भएमा उहाँको परिचय दिनु राम्रो हुन्छ । वक्तालाई बोलाउँदा अति धेरै फुर्का गाँस्नु पनि राम्रो होइन, र फेरि अलि होच्याए जस्तो पाराले पनि बोलाउनुहुँदैन । नयाँ वक्ता आएको भए सबैले ताली बजाएर स्वागत गर्नु राम्रो हुन्छ । वक्तालाई मण्डलीका सङ्गतिका चलनहरू, र समयको बारेमा पहिला नै जानकारी दिनुपर्छ । वक्ताले बोलिसकेपछि उहाँलाई धन्यवाद दिन भुल्नुहुँदैन ।

ञ) अन्तिम तथा आशिषको प्रार्थना
हरेक कार्यक्रम तथा सङ्गतिहरू प्रार्थनाद्वारा सुरु गरिएका हुनाले; अन्त्य पनि प्रार्थनाद्वारा नै गरिनु राम्रो हुन्छ । मण्डलीको सेवा–सङ्गति हो भने मण्डलीका वरिष्ट व्यक्तिहरूलाई अन्तिम तथा आशिषको प्रार्थना गर्न दिएको राम्रो हुन्छ । तर यदि त्यस्ता व्यक्तिहरू छैनन् भने अवस्था हरेर गर्न सकिन्छ । अरू सङ्गतिमा सञ्चालक आफै वा वक्ता वा अरू कुनै पाको व्यक्तिले गर्दा पनि हुन्छ । यो यस्तै हुनुपर्छ भनेर नियम नबनाएकै राम्रो हो किनकि त्यसले कतिपटक आफैलाई समस्या पार्छ ।

ट) निष्कर्ष
कार्यक्रम वा सङ्गतिको विशेष व्यक्ति नै सञ्चालक हुने भएकाले सञ्चालकले धेरै कुराहरूमा विचार गर्नुपर्छ । यदि सञ्चालक तयार भएर आएको छैन र ऊ बोल्दा अल्मलियो भने सुन्ने सबैलाई नमजा लाग्नुका साथै विश्वासीहरूले खासै आशिष पनि पाउँदैनन् । कार्यक्रम राम्रो र छोटो अनि मीठो हुनका लागि सञ्चालकको ठूलो भूमिका हुन्छ । सञ्चालक धेरै महत्त्वकांक्षी भएर देखाउन खोज्यो, र आफूलाई सुपर हीरो बनाउन खोज्यो भने पनि काम बिग्रन्छ । यस कारण सञ्चालक मर्यादित भएर पवित्र आत्माको भरपूरीमा कार्यक्रम वा सङ्गति सञ्चालन गर्ने हो भने धेरै राम्रो हुन्छ, र सबैले आशिष पनि पाउँछन् ।

Facebook Comments

Category: Articles, Sermons