११ बैसाख, चितवन, यस वर्षको शैक्षिक शत्रको सुरूवातसँगै गैरसरकारी संस्था जेन्टल हार्ट फाउन्डेसन (कोमल हृदय प्रतिष्ठान) ले धादिङ, नवलपरासी तथा चितवन जिल्लाका केहि गाउँहरुमा बिभिन्न सामग्रीहरू वितरण गरेको छ । संस्थाले धादिङको पिंडा, नवलपरासीको पिठौली तथा चितवनको जुटपानी गा. वि. स. मा रहेका अति बिपन्न समुदायका १४३ जना बालबालिकाहरूलाई बिहीवार र शुक्रवार गरि शैक्षिक सामग्री वितरण गरेको हो । बालबालिकाहरुलाई कापी, कलम, सिसाकलम, इरेजर, ज्यामिति बक्स लगायतका सामानका साथसाथै स्कुल जाँदा लैजानका निम्ति खाजाको प्याकेट र सरसफाईका सामानहरू पनि वितरण गरिएको थियो । सबै बालबालिकाहरुलाई स्कुल ड्रेस प्रदान गरिएको थियो भने नयाँकक्षामा लाग्ने भर्नाशुल्कवापतको रकम पनि संस्थाले नै उपलव्ध गराएको थियो ।
आर्थिक विपन्नताकै कारण थुप्रै बालबालिकाहरू स्कुल भर्ना नहुने तथा भैहाले पनि अध्ययनलाई निरन्तरता दिन नसक्ने हुनाले अत्यावश्यक समुदायहरू छानेर यी कार्यक्रम संचालन गरेको संस्थाले जनाएको छ। यस संस्थाले विगत केहि बर्ष अघि देखि नै यी क्षेत्रका सयौं बालबालिकाहरूलाई पठनपाठनका सम्पूर्ण सामग्री, सरसफाइका सामग्री, खाजा, लत्ताकपडा तथा अन्य उपभोग्य बस्तुहरू पनि प्रदान गर्दै आएको बुझिएको छ । जुटपानीका स्थानिय अगुवा ईश्वर श्रेष्ठका अनुसार जेन्टल हार्ट फाउन्डेसनले सहयोग गर्न सुरु गरे पछि यहाँका बालबालिकाहरुमा उल्लेखनीय सुधार आउनुका साथै स्कुल नजानेहरू अहिले स्कुल जाने र पढाइमा राम्रो गर्ने भएका छन् ।
देशका अन्य भागहरूमा पनि आफ्नो कार्यक्रम विस्तार गरेर सकेसम्म धेरै विपन्न समुदायहरूमा सहयोग पुर्याउने योजनामा आफुहरू रहेको जेन्टल हार्ट फाउन्डेसनका अध्यक्ष अर्जुन ढकालले बताउनुभएको छ ।
Discussion about this post