ममीले भन्नुहुन्थ्यो आफ्नो फर्स्ट बेबी छोरी होस् भन्ने लाग्थ्यो रे। तर पहिलो त के दोस्रो सन्तान पनि छोरा नै भएपछि, फेरि गर्भ रह्यो भन्ने थाहा पाएको दिनदेखि परमेश्वरसँग ९ महिनासम्मै छोरी, अर्थात म नजन्मेसम्म विशेष भाकल प्रार्थना गर्नुभएको थियो रे अनि प्रार्थनाकै उत्तरस्वरुप परमेश्वरले बाबुआमालाई छोरी दिनुभएछ। यसरी मेरो जन्म भएको रहेछ। प्रार्थनाको उत्तर पो रहेछु मत। कति अचम्मको कुरा परमेश्वरले मानिसलाई आफूतिर खींच्न विभिन्न तरिकाहरू अपनाउनुहुन्छ।
फेरि अर्को उदाहरण, म मेरो टीनेजको उमेरमा परमेश्वरदेखि धेरै टाढा थिएF। संसारमै रुमल्लिएकी, मस्तीको जीवन रुचाउने, नाचगान र फिलिम अनि साथी। हुन त म एउटा ख्रीष्टयान परिवारमा शिक्षा पाएर हुर्केकी थिएँ। तर जब म ख्रीष्टयान परिवारमा नै हुर्केको कसैले थाहा पाए र मेरो अधोगति देखे तब बोझसहित मलाई पिताकहाँ फर्काउने नेक इच्छा राखेर कसैले प्रार्थना गरिदिए र साँचै त्यसकै उत्तरस्वरुप म आज यस ठाउँमा छु। म परमेश्वरलाई कोटी कोटी धन्यवाद दिन चाहन्छु किनकी उहाँ अचम्मको हुनुहुन्छ।
अर्को उदाहरण, म आफै पनि छोरी रुचाउने भएको हुनाले, मेरो पहिलो गर्भ रहेको कुरा थाहा गरेदेखि मैले पनि छोरी नै दिनुहोस् भनेर प्रार्थना गरें र यतिमात्र होइन तर हरेक विस्तृत विवरण सहित प्रार्थना गरे। छोरीको आँखा, नाक आदि सबै कुराको लागि एकदम डीटेलमा (Detail) प्रार्थना गरें। नभन्दै साँचिनै मैले छोरी पाएँ र मैले गरेको प्रार्थनाको हरेक डीटेल सहितकी छोरी यहाँसम्म कि उनको ओंठमाथिको सानो कालो कोठी पनि।
अर्को आश्चर्यको कर्म, मेरी माहिली छोरी जब अठार महिनाकी थिइन् उनी ५तला माथिबाट भूइंतलामा खसिन्। त्यो दिन दशैंको टीकाको दिन भएकोले अस्पताल लानुको कुनै औचित्य नै थिएन। उनी माथिबाट खसेकी १०-१२ मिनेटपछि मात्र हामीले थाहा पायौं कि अघि त्यति ठूलो आवाज आएको त सामान खसेर वा ठक्किएर होइन रहेछ तर आफ्नै छोरी पो रहेछ। म रुन पनि सकिनँ किनकि उनी दुखाइको कारण स्वर खोलेर पनि रुन सकेकी थिइन। त्यति बेला प्रार्थना बाहेक अरु कुनै उपाय थिएन र हामीले प्रार्थना गर्यौं। परमेश्वरले साँचिनै हाम्रो प्रार्थनाको उत्तर दिनुभयो। हाम्री छोरीलाई सानो स्क्र्याच पनि भएन र शरीरको कुनै पनि अङ्गमा केही चोटै लागेन। त्यसबेला विश्वास नगर्ने हाम्री घरपेटी भाउजुले भन्नुभयो: “बाइबलमा स्वर्गदूतले हातहातै थाम्छ भनेको कुरा त हो रैछ।”
त्यसकारण, म निर्धक्क भएर भन्न सक्छु हाम्रो परमेश्वर जिवित हुनुहुन्छ। उहाँले हामीतिर आफ्नो कान थाप्नुहुन्छ र उत्तर दिनुहुन्छ।
जस्तो लेखिएको छ:
तब परमप्रभुले भन्नुभयो ‘…प्रजाको दु:ख मैले देखेको छु,
…पुकारा गरेका मैले सुनेको छु। तिनीहरूको दु:ख मलाई थाहा छ।
…छुटकारा दिएर …ल्याउनलाई म ओर्लिएको छु’।” (प्रस्थान ३:७,८)
Discussion about this post