धेरै धेरै प्रार्थनाको प्रतिउत्तरमा परमेश्वरले चार आत्माहरुरुपी फसलहरु दिनुभयो। यी फसलहरु बटुल्नलाई मिलाप मिनिष्ट्र्जिका सम्पूर्ण विश्वासीहरु हिजो रातभरि निदाएनौं। अपार्टमा मान्छेहरुको खचाखचको चापले गर्दा पा. एम. बि. र म एउटै बेडमा सुत्नु परेको थियो। खसाकखुसुक गफहरु र मोबाइलको रिड०टोनको आवाजले गर्दा मलाई बाकी रातभरि फिटिक्कै निन्द्रा नै लागेन।
बिहाँनै ३:४५ बजे सबै जराकजुरुक्क उठेर यात्राको लागि तयार हुनु थालियो। तर एउटै चर्पि र शौचालय भएको कारण तयार हुनु केहि समय कुर्नु परेको थियो। पा. एम. बि. राईलेले बिहाँन चाडो यात्रामा भोक लाग्छ भनेर सबेरै हिजो राती दिदी-बहिनीहरुले पकाउनु भएको खानेकुराहरु खानु थाल्नुभयो। मैंले पनि थोरै चना खाए। चिल्ड्रेन पार्कमा आइ पुग्नु भइ सकेका यात्राका मित्रहरुले फोन गरेर मलाई खैं तपाई कहाँ हुनुहुन्छ। हाम्रो गाडीहरु कति खेर आइ पुग्छ भनेर प्रश्न गर्नु भइ रहेको थियो। मिनरल वाटर र जुस बोकेर हामीहरु चिल्ड्रेन पार्कमा गयौं।
भम्रणमा जाने संख्याहरु थपियो कि घट्यो जानेहरुको नामहरु र यात्रा खर्च नदिनेहरुबाट आर्थिक संकलन गर्नु पर्ने भयो। जसले गर्दा समय निकै नै वर्वाद भएको थियो। चिल्ड्रेन पार्क एकै स्थलमा मृत सागर र हाइफा टुर जाने बसहरु आएर रोकिएको कारण यर्दन नदी जाने मित्रहरु कुन बसमा जानु पर्ने हो केहि पलहरु रनभुलमा पर्दै हुनुहुन्थ्यो। मैंले गाडीलाई ए, बि र सि नामाकरण गरेको थिए। ढिलै भएता पनि सबै जनालाई सिट मिलाएर बि गाडी पा. एम. बि. राई र सि गाडी मित्र कृष्ण रायमाझीलाई जिम्मा दिएर म ए गाडीमा चढेको थिए।
बिहाँन ६:४५ बजे हाम्रो गाडीले तेल अभिभ सहरलाई छोड्दै भूमध्य सागरको किनारै किनारा उत्तरतर्फ गुड्न लाग्यो। रातभरिको अनिदो कति मित्रहरु त सिटमा बस्नु बित्तिकै निदाउनु भएको थियो। मैंले केही साथीहरुलाई आज तपाईहरु कहाँ भम्रण गर्नु जानुहुदैछ भनी प्रश्न गरेको थिए। धेरै मित्रहरुले यर्दन नदी, तिबेरिअस ताल र नासरत सहर भन्नुभएको थियो। थोरैलाई भने आफू कुन ठाउहरुमा भम्रण गर्नु जादैछु भन्ने थाहा थिएन। हाम्रो गाडीले धेरै घुम्तिहरु, टाफ्रिक लाइनहरु पार गर्दै ९ बजेतिर यिज्रेल उपत्याकाको एक पेट्रोल पम्प स्टेशननिर दिशा-पिशा फेर्न रोक्यो। सबै जना गाडीबाट ओर्लिएर दिशापिशा गर्यौं। आधा घण्टापछि हाम्रो गाडीले पूनः अग्र गति लियो। तर गाडीले हामीहरु जाने पहिलेको रोड नसमातेर अर्कै रोडका गुड्न थाल्यो। मैंले सोचे अरु रोडबाट यर्दन नदी पुग्न सकिन्छ होला। केहि समयपछि बि गाडीमा रहनु भएकी मेरी भाउजू चञ्चलाले भन्नुभयो, “भाइ पहिले यर्दन नदी जाने की नासरत? हाम्रो गाडीले नासरत पो लादैछ।” मैंले प्रतिउत्तरमा, “पहिले हामीहरु यर्दन नदी जान्छौं।” मैंले गाडीको नागलाई भने, “हामीहरु नासरत होइन तर पहिलो यर्दन नदी जानेछौं।” केही क्षणहरु गुडी रहेको गाडीमा नै हामीहरु अलमल्लमा परेको थियौं। तर हाम्रो दृढ संकल्प पहिले यदर्न नदी भएको कारण त्रय नागहरुले एक आपसमा मोबाइलबाट कुराहरु गरेर हामीलाई यर्दन नदीतर्फ नै लगेका थिए।
करिब १०:१५ बजेतिर हाम्रो गाडीहरु यर्दन नदीको यर्देनित बप्स्मिल किनारामा पुगेर रोकियो। सबै जना गाडीबाट झरेका थियौं। म र बहिनी रुना राई हतार२ गर्दै बप्सिमाको लागि सेतो पोशाक अर्डर गर्नु हतारिदै पसलमा पुगेका थियौं। १८ जोर सोतो पोशाक अर्डर गर्नु परेको थियो। यर्दन नदीको किनारमा पुग्दा एक जना बहिनी सारा राईचाहि गाडीभित्र नै छोडीनु भएछ। गाडी डाइभरले गाडीको ढोका बन्द गरेर हामीसँगै आएको थिएछ। बहिनी साराप्रति समुन्द्रमा ज्वारभाटा उठे झैं मेरो मूहारको सगरमा केहि हल्का अमर्षको ज्वारभाटा उठेर पलकमा शमन हुन पुगेको थियो। मैंले मनमनै सोचे, साथीहरु गाडीबाट बाहिर निस्कदा उनी कसरी छुट्टीन सकीन? सँगै सीटमा बसेका साथीहरु कस्ता हुन चुपचुप आफू मात्र बाहिर निस्किएका? एकछिन् त नाग (चालक)लाई खोज्नु कठिन परेको थियो। बल्ल फेला परेर नागले फेरि गाडीको ढोका खोलेर सारा बहिनीलाई गाडीबाट यर्दन नदीमा ल्याउनु परेको थियो।
सलल बगी रहेको यर्दन नदीको एक सानो भंगालोलाई छुट्टाएर बप्तिसमा प्रयोजनको लागि तोकिएको निश्चित स्थललाई नै यर्देनित बप्तिसमल किनारा (Yardeneet Baptismal Site) भनिन्छ। दिदी अनिता श्रेष्ठले बप्तिसमा कार्यक्रमलाई सञ्चालन गर्नु भयो। मैंले लघु रुपमा बप्तिसमाको गुरुतामय अर्थहरु रोमी ६:३-६ बाट पढदै नयाँ भाइ-बहिनीहरुलाई उत्साहको वचन दिएको थिए। पा. एम. बि. राईले बप्तिसमा लिनु हुनेहरुको लागि प्रार्थना गरी दिनु भयो। सम्पूर्ण विश्वासीहरुले सेताम्मे पोशाकमा यर्देनित बप्तिसमल किनारामा उभिएर, “येशूको पछि म हिड्न लागे, दुनियालाई त्यागी क्रुसै नै बोकी, येशूको पछि म हिड्न लागे, फर्कदीन२” प्रोत्साहनको मसिही भजन गाउँदै हुनुहुन्थ्यो।
एक२ गर्दै बहिनी सकुन्तला, बहिनी पेम्बा, भाइ लाम्लुन(थाइल्याड नागरीक), र सोनी बहिनीलाई द्धय पाष्टरहरु मैंले र एम. बि. मिलेर बप्तिसमा दिएका थियौं। भम्रणमा सहभागीहरु निस्तब्ध उभिएर यो दृश्यलाई अवाक् हेरि रहनु भएको थियो। उहाँले दिनु भएको मिलापमा सेवाकार्य गर्नु कति मनोहर हुदो रहेछ।
मैंले यर्दन नदीलाई स्पर्श गर्न पुग्दा फरक२ अनुभवहरु गरेको छु। पहिले सन् २००७ सालको पहिलो मेरो यर्दन नदी र बप्तिसमा कार्यक्रममा मैंले बप्तिसमा दिई सकेपछि यर्दन नदीको बिचमा पौंडदै गएर डुबुल्की मार्दै यर्दन नदी सतहमा पुगेर एउटा कालो ढुंगा टिपेर ल्याएको छु। जुन आजसम्म मसँगै सुरक्षित राखेकोछु । नेपाल रिर्टन हुदाँ आफूसँगै लानेछु। दोस्रो पटक सन् २००९ अक्टुबर १० मा बप्तिसमा कार्यक्रमको अन्त्यपछि मैंले यर्दन नदीको बिचमा पौंड्दै गएर सात पल्ट डुब्दै निस्कदै गरेकोछु। अनि आज बप्तिसमा कार्य सकेपछि पौड्दै यर्दन नदीको अर्को किनारा पुगेकोछु। वारपार गरेकोछु। म पारि पुग्दा भिजेर लुछ्रुप्पै भएको थियो। तर यहोशुको अगुवाईमा सारा इस्राइलीहरु नभिजी यर्दन नदी तरेका थिए रे। पुरानो करार बाइबलले यसरी भन्दछ, “सारा इस्राइलीहरु ओबानो जमीनमाथिबाट तरेर त्यस जातिका सबै मानिसहरु यर्दन पार नगरुञ्जेलसम्म परमप्रभुका करारको सन्दूक बोक्ने पूजाहारीहरु यर्दनको बीचमा ओबानो जमीनमा स्थिर भई खडा रहे।” (यहोशू ३:१७) मलाई पछ्याउदै पा. एम. बि. राई पनि यर्दन नदी पारि आईपुग्नु भएकोछ। यी लोभ लाग्दा पलहरु भिडीयोलाइजेशन गर्नुहुने मित्र कृष्ण रायमाझीले पक्कै यी दृश्यहरुलाई छुटाउनु भएको छैन् होला?
मलाई किन२ यर्दन नदी किनारामा आइ पुगेपछि सबै नैराश्यता हरण भई दिएको आभास हुन्छ। यर्दन नदीमा खेलु रहुँ जस्तो लाग्छ। यहिको मौनता वातावरणमा आफैलाई हराई दिन मन लाग्दछ। यर्दन नदीको पानीमा खेली रहेको रंगी बिरंगी माछाहरुसँगै पानीमा लुकामारी खेल्न मन लाग्दछ। तर समयको डोरीको पावन्दीले बाँधी दिएको छ। मित्र कृष्ण रामयमाझीले भन्न लाग्नुभयो, “दौलतजी ! एकदम बिलम्ब भइ सकेकोछ। चाडै जाऊ।” म मनले नमानी२ यर्दन नदीबाट बाहिर निस्किन्छु। यर्देनित बप्तिसमल किनाराको शोपमा हाम्रो बप्तिसमाको ६ वटा भिसिडी प्रिन्ट गर्नु अर्डर गरेर हामीहरु सबै पून: गालिल तालको डुंगा यात्राको लालयित मनहरु बोकेर गाडीमा फेरि यात्रा शुरु गर्दछौं। प्रायः धेरै साथीहरु गालिल तालको वक्षस्थलमाथि डुंगा क्रिडा गर्नको लागि डुंगामा प्रवेश गर्दछौं। पा. एम. बि. राई, दिदी दिलु राई र थोरै मित्रहरु डुंगामा नचढेर गाडीमा नै बस्नुभयो। शायद यो उहाँहरुको आफ्नै वाध्यता वा रहर थियो होला कि ?
पूर्वी किनाराबाट चढेर पश्चिम कफर्नुहोम पारिपट्टिको करिब एक घण्टाको गालिल तालको यात्रामा नचाच्ने मनहरु शायदै थिएनन् होला। अंग्रेजी हिन्दी संमिश्रित गीतहरु बजी रहेको थियो सबै नेपाली यात्रा भम्रण समूह रंगिन रंगहरुमा रमी रहनु भएको थियो। एक जना मेघा थुलुड० बहिनीले त यहुदी बलाबाइतलाई नै पो ल्याउनु भएको थियो। मैंले उनको बलाबइतसँग जिस्कदै कुरा गरे, “स्लिखा गिभेरेत, “हाउ डु यु फिल इन आवर टुर? ” उहाँले, “याफ्फे मेओवत” भनेकी थिइन। मैंले, “तपाईको उमेर कति भयो होला ?” भनी प्रश्न सोध्दा हाँस्दै, “सठीक उमेर यति नै भयो भनेर नभनुँ होला तर मैंले राम्रोसँग धेरै उमेर गुजारी सकेकोछु” भन्नुभएको थियो। त्यसपछि मैंले धेरै बोल्न चाहिन।
निलाम्मे गालिल तालको छातिमा सुस्तरी गुडी रहेको डुंगाभरि२ मस्ति नाची रहने दिदी-बहिनी र दाजु-भाइहरु, देव थुलुड०, कमला राई, गोपी राई, निर्मल गुरुड०, सलु लामा, कर्म लामा, पदमा रुम्बा, दुर्गा जोशी, निमा निमा शेर्पा, धर्म भण्डारी, जसु पुन, मेघा राई, भेषकला लिम्बु, चन्द्र खड्का, रमा घले, मिरा लामा, सोनी लामा, सकुन्तला प्रहरी, भाषा गुरुड०, कृष्ण रायमाझी, भाषा गुरुड०, अशोक महर्जन, लक्ष्मि लामा, सिर्जना राई धेरै हुनुहुन्थ्यो। यहाँ मैंले यात्रा स्मृतिमा सबैको नामहरु याद गर्नु सकिन्। भोकले होला सबै रन्थनिदै थियौ। पारि कफर्नुहोम पुगेर चारैतिर छरिएर खानेकुराहरु खान व्यस्त भयौं। मैंले देव थुलुड० भाइको मिनी समूहले पकाएर ल्याएको खानेकुराहरु र अन्य ग्रुपहरुले ल्याउनु भएको खानेकुराहरु खाई दिनु हेल्प गरेको थिए।
दिउसोको १ बजी सकेको थियो हामीहरु कफर्नुहोम गाउँलाई छोड्दा। हाम्रो गाडी सुस्तरी उकालै उकालो नासरत सहरतिर गुड्दै रहयो। मैंले अल्प२ वाटोहरु र नासरत सहरको भिडीयो क्याप्चर गरेकोछु। नासरत सहरको मुटु चौरास्तामा एक ग्रीक अर्थोडक्स चर्च रहेकोछ। यही चर्च हेर्न भनी गयौं। जुन चर्चमा प्रथम शताब्दितिर येशूख्रीष्ट र उहाँका आमाबाबुर समय बिताउनु भएको थियो रे। तर यो चर्च १७ औं शताब्दितिर निर्माण भएको हो।
चर्च भवन अगाडि रोड सामिप्यमा एक दुई जना शायद यो चर्चको बारेमा भिडियो खिच्दै थिए। मैंले उनीहरु दुबैको करिब २ मिनेटको क्रिया खिचेकोछु। चर्च पुग्न अघि वाटो भरि२ अरबी-क्रिश्चियन मिश्रित संस्कृति झल्कीने पसलहरुमा रंगीचंगी सामग्रीहरु बेच्न राखीएका पाइन्छन्। त्यहाको कर्मचारीहरुले हामीहरु जब चर्चको गेटमा पुग्यौं थारै दिदी-बहिनीहरुलाई चर्चभित्र पस्न दिएनन्। कारण महिलाहरुलाई पहिरनमाथि केहि निषेध गरिएको रहेछ। जस्तै घुडाभन्दा माथिको अंगहरु र कुइनाभन्दामाथिको शरीरको अंगहरु ढाक्नु पर्नु रहेछ। तर सुविधाको लागि उनीहरुले तयार गरि दिएको कालो सल र तलसम्म आउने मेडी लगाएर प्रवेश गर्नु दिदा रहेछन् र फर्कदा सो कपडा फिर्ता गर्नु पर्ने रहेछ। एकछिन् त हामीहरु रन्भुलमा पर्यौं। चर्चभित्र विशाल प्रथम शताब्दिको कला, भेषभुषा आदिको ख्याल गर्दै यो चर्चको आन्तरिक कक्षहरु निर्माण गरिएकोछ। चर्चभित्र विभिन्न देशका को क्रिश्चियन को गैरक्रिश्चयन सबै जनाको उपस्थिति देखिन्थ्यो। चर्चको भित्री वातावरण मौंनता राख्नु अनुरोध गर्दै त्यहाकाँ कर्मचारीहरुले तिर्थालुहरुलाई धेरै आवाज निकालेर गफहरु गर्नु दिदैनन्। “सुससस” भनेर होशीयार गराइ रहेका हुन्छन्। करिब एक घण्टा जति यो बिशाल चर्च भवनलाई हेरेर मन लागेको फोटोहरु खिचेर फकियौं।
३ बजी सकेको थियो। तीन वटै गाडीहरु लस्करै दायाँबायाँ, घुम्तिहरु पार गर्दै खुल्ला रोडमा गुडन थाल्यो। मैंले धेरै साथीहरुलाई आजको भ्रमण तपाईहरुलाई कस्तो लाग्यो। अहिले घुमेको सहरको नाम के थियो आदि प्रश्नहरु सोधेको थिए। भम्रणमा सहभागी धेरै साथीहरुले नयाँ ठाउँहरु र धार्मिक क्षेत्रहरुको ज्ञान र शिक्षाहरु जान्ने मौका पाएकाछौं। यसमा दौलत जीलाई धेरै२ धन्यवाद भन्दै उल्टै मलाई पो दुविद्धात्मक अवस्थामा राख्नुभयो। म खुशी भए। सबै नै खुशी हुन पुगे भन्नुचाहि सक्दिन। यात्रा क्रममा केहि न केहि अवस्य अपुग हुन सक्छन्। लघु मनोरोञ्जन र धार्मिक ज्ञानहरु दिलाउन यो भम्रणबाट सकेको छु। यहि नै मेरो आजको भम्रणको सफलता हो।
जीवन यात्रामा धेरै२ भम्रणहरु गरिनेछ। कुनै भम्रणहरुमा खुशीहका रमाइला पलहरु कुनै भम्रणहरुचाहि बेखुशीहरु र तीतोपनको शेषांश यादगारहरु जीवनमा रहन पुग्लान। तीतामीठा अनुभवहरुकै परिधीभित्र रहेर गुज्रनु पनि जीवन हो, होइन र? दिदी-बहिनी र दाजु-भाईहरु सबै मिलेर नागलाई टिप्स संकलन गरेर दिनु भएछ। दिनु नै खुशीहरुको आरम्भ हो। मैंले एउटा नागलाई मात्र भम्रण समुहबाट टिप्स् दिनु पाए। ५ बजे साँझ तेल अभिभको चिल्ड्रेन पार्कमा आएर हाम्रो गाडी रोकियो। यथार्थमा हाम्रो गाडी रोकिएको थिएन । हाम्रो भम्रण, भेटघाट र खुशीहरु रोकिन पुगेका थिए। मिलापका द्धय हातहरु एक अर्कामा स्पर्श गर्दै थिए। एकल हातहरु केही माथि उठेर हल्लिदै रहे, “फेरि भेटुला…”
परिचयः
१. यदर्न नदीः
हिब्रुमा नेहार हा यर्देन, अरबिकमा नाहर अल उर्दुमल, अंग्रेजीमा रिभर जोर्डन भनिन्छ। यर्देन शब्द हिब्रुको क्रिया यारोदबाट आएको हो जसको अर्थ हुन्छ “तल आउनु”। यो इस्राइलको पूर्वी सिमानामा रहेकोछ र उत्तर-दक्षिण बग्दै मृत सागरमा खस्दछ। यो संसारकै एक पवित्र नदी मानिन्छ। यर्दन नदीमा फेब्रुवरी-मे महिनासम्म भलबाढी बग्दछ। यो नदी त्रय राष्ट्र्हरु जोर्डन, पेलिस्ताइन र इस्राइलको लागि अति नै महत्वपूर्ण छ। ३२० किमी लामो यर्दन नदी लेबनानको हासबानी नदी र सिरियाको बनीयस नदीबाट उदभव भएर गालिल तालमा परिवर्तन हुन पुगी अर्को नदीको आरम्भ हुन्छ त्यो हो : यर्दन नदी।
यर्दन नदीमा साथ दिने सिरियाको अर्को यारमुक नदीलाई प्रमुख मानिन्छ। गालिल ताल र मृत सागरको बीचको दूरि २५० किमी छ। सन् १९९५ मा जोर्डन र इस्राइलले शान्नि सम्झौतामा सन्धि गरेपछि घावर उपत्यकामा कृर्षिको लागि यर्दन नदीको पानी सिंचाइको लागि प्रयोग गरिएको कारण विगत वर्षहरुदेखि यता यर्दन नदीको पानीको स्रोत र सतह घट्दै गएको अनुमान गरिन्छ। आर्थिक वृद्धि र जनसंख्या वृद्धि बढ्दै जाँदा गालिल तालको पानीको आवश्यकता खटकिदै जादैछ। भविष्यमा यर्दन नदीले यो भन्दा थोरै पानीको स्रोत मात्र प्रवाह गर्नेछ र मृत सागरको पीडा यसले पनि भोग्नेछ।
बाइबल, बप्तिसमा र यर्दन नदी :
“यरुशलेम र सारा यहुदीया यर्दन वरिपरिका इलाकाका सबै मानिसहरु तिनीकहाँ गए र आफ्ना पाप स्वीकार गर्र्दै यर्दन नदीमा तिनीबाट बप्तिसमा लिन लागे। ” (मति ३:५-६) “यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए। जहाँ यूहन्नाले बप्तिसमा दिइरहेका थिए ।” (यूहन्ना १:२८) आज तिर्थालुहरु पवित्र भूमिको यर्देनित बप्तिसमल साइट भम्रण गर्दछन्। जुन विन्दुमा गालिल तालको पानी यर्दन नदी नामले बग्दछ।
२. गालिल ताल:
गालिल सागर वा गनेसरेत झील (लुका ५:१), किन्नेरेत ताल, तिबेरिअसको सागर अनि हिब्रुमा यम किन्नेरेत भनिन्छ। गालिल ताल २१ किमी लम्बाई र १३ किम चौडाइ र औषत २५.६ मिटर गहिरो छ। यो २०९ मि. समुन्द्र सतह होचोमा रहेकोछ र संसारकै दोस्रो होचो स्थानमा रहेको ताल हो। किन्नेरेत वा गालिल ताल यर्दनको ठूलो चट्टानी उपत्याकामा रहेकोछ। गालिल तालको मूख्य पानीको स्रोत सिरिया र लेबनानबाट बग्ने स-साना खोलाहरु र माउण्ट हर्मोन नै हुन। गालिलको वरिपरिको क्षेत्रलाई भूकम्प क्षेत्र मानिन्छ जुन विगतमा ज्वालामूखि गएको थियो।
(क) शब्द ब्युत्पत्तिः
नयाँ करारको बाइबलमा यो विशेष गरेर गालिलको सागर वा तिबेरियस सागर, किन्नेरेत ताल (यूहन्ना ६:१, गन्ति ३४:११ र यहोशू १३:२७) भनि वर्णन गरिएको पाइन्छ। हिब्रु शब्द किन्नोर को अर्थ “वीणा” हुन्छ। यो किन्नेरेत तालको आकृतिलाई एउटा संगीतकार भएर मनन गर्ने हो भने एउटा वीणाको रुपमा देखा पर्नेछ। नयाँ करारको बाइबलमा गनेसरेत झील (लुका ५:१) उल्लेख गरिएकोछ।
(ख) प्राचिन कालिन समय र मानव बसोबास(Antiquity):
सन् १८९०-१९०० सम्म यो तालमा माछा मार्ने काम गरिन्थ्यो। ग्रीक , हसमोनिअन र रोमन समयमा यसको वरिपरि मावन बसोबासको सहरहरु धेरै उन्नत अवस्थामा थियो। पहिलो शताब्दिको इतिहासकार फ्लेभियूस जोसेफस गालिल तालबाट मख्ख भएर यस्तो लेखेका छन्, “यो एउटा प्रकृतिको महत्वाकांक्षी भूमि हो (“One may call this place the ambition of Nature.”) जोसेफलसले त्यो समयमा २३० वटा ढुंगाहरु गालिलमा थिए भनी उल्लेख गरेका छन् । येशू ख्रीष्टको करिब तीन वर्षको सेवाकार्य यही गालिल तालको वरिपरिको गाउँहरुमा भएको देखिन्छ । त्यो समयमा गालिल तालमा डुंगा नै प्रमुख यातायतको साधन थियो। नयाँ करारको सुसमाचारको पुस्तकहरु मति ४:१८-२२, मर्कुस १:१२_२० र लुका ५:१-११) मा येशू ख्रीष्टले यही गालिल तालमा माछा मार्ने जालहारीहरु शिमोन, उसको भाइ अन्द्रियस , यूहन्ना र याकुबलाई चेलाहरु बनाउनु भएको थियो। येशू ख्रीष्टले धेरै आश्चर्यको कामहरु यहि गालिल ताल र नजिकै गर्नुभएको थियो जस्तै गालिल तालमामाथि२ हिड्नु भएको (मत्ति १४:२५, मर्कुस ६:४८, यूहन्ना ६:१९), आँधी-हुरीलाई शान्त गर्नुभएको (मत्ति ८:२६, लूका ८:२४, मर्कूस ४:३९) पाँच हजार भोका मानिसहरुलाई खुवाउनु भएको (१४:१८-२२, मर्कूस ६:३९-४४, लुका ९:१०-१७, यूहन्ना ६:७-१७) आदि उल्लेख गरिएकोछ ।
सन् १३५ मा दोस्रो रोमन बिरुद्ध यहुदी विद्रोह हुँदा यसलाई दबाउन सक्यो र यरुशलेमदेखि किन्नेरेत यहुदीइहरुको आउजाऊ निषेध गरियो। बेजाइन्ताइन सासक समयबाट गालिल ताल येशु ख्रीष्टको जीवनमा आधारित मानेर विश्वबाट धेरै क्रिश्चियन तिर्थालुहरुको आगमन हुन थाल्यो।
नासारेथ सहरः
नासारेथ सहरः हिब्रु भाषामा नात्शारेथ र अरबिक भाषामा अन नासेरिइये हुन्छ। गालिल सागरबाट नासरत सहर २५ किमी टाढामा पर्दछ। नासरत इस्राइलको उत्तर जिल्लाको सबैभन्दा बढी जनघनत्व भएको अरबी क्रिश्चियन सहर मानिन्छ। अरबी भाषा बोल्ने ग्रीक अर्थोडोक्स क्रिश्चियन बहुसंख्यक र मुस्लिम अल्पसख्यक नासरत सहरमा बसोबास गर्दछन्। नासरत सहरमा ३० वटाभन्दा बढी चर्चहरु र मोनास्टेरिज छन्।
नयाँ करारको बाइबलमा येशु ख्रीष्टको बल्यकाल यहि सहरमा बितेको उल्लेख गरिएकोछ। यसैले यो नासरेथ सहर क्रिश्चियन आस्थालम्बीहरुको लागि एक श्रद्धाको सहर मानिन्छ।
शब्द ब्युत्पत्ति:
नासरेथ, नाशारा, नाशारेत, नाशारेथ, नासरत आदि। धेरै बाइबल विद्धानहरुले के प्रश्न गरेका छन् भने, नासरत, नासारेली, नासारीअयन शब्दबाट नासरेथ हुन पुगेका हो।
नयाँ करार बाइबलमाः येशू र नासरत उल्लेख गरिएको पाइन्छ :
“नासरत छोडेर कफर्नहुममा गई त्यहाँ वास गर्न लाग्नुभयो..” मत्ती ४:१३ “उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो।…” लुका ४:१६, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्।” मत्ती २१:११, “अब ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो र यूहन्नाबाट यर्दन नदीमा बप्तिसमा लिनुभयो।” मर्कूस १:९
नासारतमा घुम्नु पर्ने बाइबलिय महत्वपूर्ण स्थलहरु :
१. मेरीको कुवा (Mary’s Well):
जसलाई कन्या मरियमको पधेरा पनि भनिन्छ। जुन स्थलमा स्वर्गदूत गाब्रिएल देखा परेर, “अब हेर, तिमीले गर्भधारण गर्नेछौं र एउटा छोरो जन्माउनेछौं र तिमीले उहाँको नाउँ येशू राख्नेछौं।” लूका १:३१ भनेर घोषणा गर्नुभएको थियो। यो कुवा वर्तमान नासरेथ सहरमा अवस्थित ग्रीक अर्थोडोक्स चर्चको जग मूनि रहेको मानिन्छ। केही शताब्दि अघिसम्म अरबी गाउका मानिसहरुले यहि पधेराको पानी पिउने गर्दैथे।
२. घोषणा गरिएको चर्च (Anniciation’s Church or Greek Arthodox Chrch):
घोषणा गरिएको ग्रीक अर्थोडोक्स चर्चलाई सन्त गाब्रिएलको चर्च वा सन्त गाब्रिएल ग्रीक अर्थोडोक्स चर्च भनेर चिनिन्छ। यो चर्च पूर्विय अर्थोडोक्स चर्चसँग सम्बन्धित रहेकोछ। १७औं शताब्दिमा निर्माण गरिएको यो चर्च बासिलिकाबाट करिब ६५० मि. दूरी र मेरीको कुवाबाट १३० मि. मात्र टाढा दूरीमा रहेकोछ। यो चर्चको सतहमूनि कुवा रहेको विश्वास गरिन्छ र पूर्विय अर्थोडोक्स चर्चको मत अनुसार आमा मेरी र बालक येशूले यहि कुवाबाट पानी भरेर घरमा लाने गर्थे रे।
सारांशमाः यर्दन नदीको माथा सामिप्यमा रहेको यर्देनित बप्तिसमल किनारा विश्वका क्रिश्चियनहरुको धार्मिक स्थल हो। पहिलो शताब्दितिर येशू ख्रीष्ट र उहाँका चेलाहरुले गालिल ताल वरिपरिको गाउँहरुमा सेवाकार्य गर्नु भएको थियो। नासरत सहर कन्या मरियमको गाउँ हो भने येशू ख्रीष्ट यहि नासरत सहरमा हुर्कनु भएको थियो। तपाई र म कति भाग्यमानी प्राचिन र आधुनिक विज्ञानको सुविधाभित्र रहेर यात्रा गर्नु, देख्नु र अनुभव गर्नु पाएका छौं। तर कसलाई के थाहा भविष्यका पिढीहरुले यी स्थलहरुको प्राचीन आकृति देख्न नपाउने हुन कि? कारण हरेक वर्ष गालिल ताल र यर्दन नदीको सतह घट्दै गइ रहेको मानिन्छ।
*समापन*
पा. दौलत साकार
मोबाइल नं. ००९७२-५४-९२६९-४७२
Republished in new layout on 8/2013
Discussion about this post