३० कात्तिक २०८३, सोमबार
काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा प्रतिबन्धित अवामी लिगका समर्थकले आइतबार हिंसात्मक प्रदर्शन गरेका छन्। हसिनालाई भारतबाट स्वदेश फर्काउन माग गर्दै सडकमा उत्रिएका सयौँ कार्यकर्ताले प्रहरीका सवारीसाधन तथा सार्वजनिक संरचनामा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनकारीले प्रहरीको एउटा बख्तरबन्द गाडीमा आगो लगाउनुका साथै प्रहरी चौकीमा समेत क्षति पुर्याएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीमध्ये कतिपय लाठी, बञ्चरो, भाला, हँसिया र परम्परागत हतियारसहित सडकमा उत्रिएका थिए। उनीहरूले प्रहरीका अवरोध तोड्दै विभिन्न सडकमा आवागमन अवरुद्ध गरेका थिए। प्रदर्शनका क्रममा सन् २०२४ अगस्ट ५ मा हसिना सरकारको पतनसँग सम्बन्धित घटनाको स्मृतिमा निर्माण गरिएको स्मारकसमेत भत्काइएको छ। प्रदर्शनमा महिला कार्यकर्ताको पनि सहभागिता रहेको जनाइएको छ। अवामी लिगका गोपालगञ्ज जिल्ला नेता इलियास हकले हसिनालाई स्वदेश फर्काउन नसक्दासम्म सडक आन्दोलन जारी रहने बताएका छन्। हसिनाले आगामी डिसेम्बरमा भारतबाट बंगलादेश फर्कने र कानुनी प्रक्रियाको सामना गर्ने इच्छा व्यक्त गर्दै आएकी छन्। उनी सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले उनको सरकार ढालेपछि भारतमा बस्दै आएकी छन्।
हसिनाको प्रस्तावित स्वदेश फिर्तीले बंगलादेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ। सन् २०२५ नोभेम्बरमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२४ को आन्दोलन दमनका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले भने उक्त आरोप र न्यायिक प्रक्रियालाई अस्वीकार गर्दै आएकी छन्। बंगलादेश सरकारले भारतसँग सुपुर्दगी सन्धिअन्तर्गत उनलाई स्वदेश फर्काउन माग गरिरहेको छ। भारतले अनुरोध प्राप्त भएको स्वीकार गरे पनि यसबारे अन्तिम निर्णय सार्वजनिक गरेको छैन। यसैबीच, गोपालगञ्जको सुरक्षा अवस्था नियन्त्रणमा लिन सरकारले जिल्ला प्रशासन र प्रहरी नेतृत्वमा परिवर्तन गरेको छ। जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ भने अर्धसैनिक सीमा सुरक्षा बल (बीजीबी) लाई पनि तयारी अवस्थामा राखिएको छ। बंगलादेशका गृहमन्त्री सलाहुद्दिन अहमदले तोडफोड र हिंसात्मक गतिविधि रोक्न सुरक्षा निकाय प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तारिक रहमानको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकमा समेत गोपालगञ्जको अवस्थाबारे छलफल भएको जनाइएको छ।
हसिनाको गृहनगर गोपालगञ्ज अवामी लिगको बलियो प्रभाव रहेको क्षेत्र मानिन्छ। हसिना सरकारको पतनपछि पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो र गत फेब्रुअरीमा भएको आमनिर्वाचनमा अवामी लिग सहभागी हुन पाएको थिएन। लामो समयको राजनीतिक अस्थिरतापछि नयाँ सरकार बने पनि हसिनाको सम्भावित स्वदेश फिर्ती र उनको दलका समर्थकको सक्रियताले बंगलादेशमा पुनः राजनीतिक तनाव बढ्ने जोखिम देखिएको छ।














Discussion about this post