कात्तिक २७, २०८३ शुक्रबार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको यात्रा लिग चरणमै समाप्त भएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आफ्नो अन्तिम लिग खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएपछि जनकपुर प्लेअफ दौडबाट बाहिरिएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८८ रन मात्रै बनाउन सक्यो। टोलीका कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। उनले २५ बलमा दुई चौका र एक छक्का प्रहार गरे। विशाल शुस्लिङले १३ बलमा १५ तथा राहुल यादवले १० बलमा १० रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्कको स्कोर बनाउन नसक्दा जनकपुर सामान्य योगफलमा समेटियो। जनकपुरको ब्याटिङ धराशायी बनाउने क्रममा चितवनका रञ्जितकुमारले उत्कृष्ट बलिङ गरे। उनले तीन ओभरमा दुई रन खर्चेर तीन विकेट लिए। सिकन्दर राजाले चार ओभरमा १० रन दिँदै दुई विकेट हात पारे भने कामिल मिश्राले पनि दुई विकेट लिए। चितवनका बलरले सुरुदेखि नै दबाब कायम राख्दा जनकपुरले ठूलो साझेदारी गर्न सकेन।
८९ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर ९२ रन बनाउँदै जित निकाल्यो। चितवनका लागि डेविड मलानले ३९ बलमा ३५ रन बनाए। कप्तान कुशल मल्लले २५ बलमा १५ तथा रवि बोपाराले १६ बलमा १३ रनको योगदान दिए। जनकपुरका राहुल यादवले तीन विकेट लिए भने ललित राजवंशीले दुई विकेट हात पारे। यद्यपि, चितवनलाई लक्ष्यसम्म पुग्नबाट रोक्न जनकपुरका बलर सफल भएनन्। यो हारसँगै जनकपुरको यस संस्करणको एनपीएल यात्रा दुई जित र पाँच हारसहित चार अङ्कमा टुङ्गिएको छ। प्रतियोगिताको सुरुआतमा काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गर्दै राम्रो संकेत गरेको जनकपुरले त्यसपछि भने निरन्तरता दिन सकेन। पोखरा एभेन्जर्सलाई हराए पनि विराटनगर किङ्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग पराजित भयो।
अर्कोतर्फ, चितवनले यो जितसँगै आफ्नो प्लेअफ सम्भावना बलियो बनाएको छ। पाँच खेलबाट पाँच अङ्क जोडेको चितवनले जनकपुरमाथिको जितपछि सात अङ्क पुर्याएको छ। चितवनले लिग चरणको आफ्नो अन्तिम खेलमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल चितवनका लागि प्लेअफ यात्रा सुनिश्चित गर्ने महत्त्वपूर्ण अवसर हुनेछ।













Discussion about this post