कात्तिक २४, २०८३ मंगलबार
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ को उद्घाटन समारोहमा सहभागिता जनाएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेका मन्त्री तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्रमा आयोजित उद्घाटन समारोहमा सहभागिता जनाएका हुन्।
सम्मेलनका क्रममा मन्त्री तिमिल्सिनाले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिएका छन्। उनले मित्रराष्ट्रका समकक्षीहरूसँग दूरसञ्चार तथा सूचना प्रविधिसम्बन्धी साझा चासोका विषयमा अन्तरक्रिया गरेका छन्। यसै क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले मन्त्री तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन्। भेटमा नेपालको स्पेक्ट्रम व्यवस्थापन तथा भूउपग्रह कक्षको उपयोग र व्यवस्थापनसम्बन्धी विषयमा छलफल भएको थियो। फोर्नियरले उक्त पदका लागि आफ्नो दृष्टिकोण र योजनाबारे पनि मन्त्रीलाई जानकारी गराएका थिए।
त्यसैगरी, मन्त्री तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। ती भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको नेपाली दूतावास, दोहाले जनाएको छ। कतार भ्रमणका क्रममा मन्त्री तिमिल्सिनाले दोहास्थित नेपाली राजदूतावासको निरीक्षण गरी त्यहाँबाट नेपाली नागरिकलाई प्रदान गरिँदै आएका सेवाबारे जानकारी लिएका छन्। उनले सेवा प्रवाहलाई छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सूचना प्रविधिको प्रयोग बढाउन दूतावासका अधिकारीहरूलाई निर्देशन दिएका थिए। कतारमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग पनि उनले अन्तरक्रिया गरेका छन्।
हरेक चार वर्षमा आयोजना हुने आइटियूको प्लेनिपोटेन्सियरी सम्मेलन सङ्घको सर्वोच्च नीति निर्धारण गर्ने मञ्च हो। यसले अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रको नीति तथा रणनीतिक दिशा तय गर्नुका साथै संस्थाको नेतृत्व र विभिन्न निकायका सदस्य चयन गर्छ। यसपटकको सम्मेलनमा डिजिटल पहुँच विस्तार, सञ्चार पूर्वाधारको सुरक्षा, उदीयमान प्रविधिको उपयोग र अन्तर्राष्ट्रिय सहकार्यलगायत विषय प्रमुख कार्यसूचीमा छन्।
सम्मेलनमा नेपालको सहभागिताले विश्वव्यापी दूरसञ्चार नीति निर्माणमा नेपालको सरोकार प्रस्तुत गर्न तथा डिजिटल पूर्वाधार र सूचना प्रविधिको विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।














Discussion about this post