१२ कात्तिक २०८३, बिहीबार
काठमाडौं :नेपाल प्रिमियर लिग (एनपिएल) मा साविकको विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकाल्ने क्रममा काठमाण्डु गोर्खाजमाथि ८ विकेटको सहज जित हात पारेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाउँदै काठमाण्डूले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको सामान्य योगफल तयार पारेको थियो। काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन जोडे पनि १७ वर्षीय युवा तीव्र गतिका बलर राहुल यादवले धारिलो बलिङ गर्दै चार ओभरमा ३१ रन खर्चेर चार महत्वपूर्ण विकेट लिएपछि काठमाण्डुको ब्याटिङ लाइनअप धराशायी बन्न पुग्यो। राहुलले पहिलो बलमै विकेट लिने आफ्नो लयलाई निरन्तरता दिँदै कप्तान करण केसीलगायतका प्रमुख ब्याट्सम्यानहरूलाई पभेलियनको बाटो देखाएका थिए।
सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सका अनुभवी इङ्लिस अलराउन्डर मोइन अली र बंगलादेशका ब्याट्सम्यान सैफ हसनले उत्कृष्ट साझेदारी गर्दै टिमलाई सहज जित दिलाए। चोटका कारण प्रमुख विदेशी खेलाडी जिमी निसमविना मैदान उत्रिएको जनकपुरका लागि मोइनले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५८ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, सैफ हसनले पनि ३९ बलमा ४० रन बनाउँदै मोइनलाई गतिलो साथ दिए र दुवैबीच अविजित ७९ रनको साझेदारी भयो। यो जितसँगै पहिलो खेलमा पराजय बेहोरेको जनकपुरले यस संस्करणमा पुनरागमन गर्दै अंकतालिकामा आफ्नो बलियो उपस्थिति जनाएको छ।














Discussion about this post