१२ कात्तिक २०८३, बिहीबार
भारतको पूर्वी तटीय क्षेत्रमा आएको शक्तिशाली चक्रवात अर्नब का कारण आन्ध्र प्रदेशमा ठूलो जनधनको क्षति भएको छ। अधिकारीहरूका अनुसार चक्रवातसँग सम्बन्धित रुख ढल्ने, करेन्ट लाग्ने र पर्खाल भत्किने जस्ता विभिन्न घटनामा परी कम्तीमा सातजनाको ज्यान गएको छ। भारी वर्षा र तीव्र हावाहुरीका कारण जनजीवन अस्तव्यस्त बनेपछि सुरक्षा सतर्कता अपनाउँदै आन्ध्र प्रदेश र ओडिसाबाट एक लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रका तल्लो भूभागमा २०० मिलिमटरसम्म वर्षा मापन गरिएको छ भने हजारौं नागरिकहरू विस्थापित भएका छन्।
यस प्राकृतिक विपद्ले यातायात सेवामा समेत ठूलो असर पारेको छ। चक्रवातको प्रभावका कारण आन्ध्र प्रदेशका प्रमुख विमानस्थलहरूमा हवाई सेवा स्थगित गरिनुका साथै विभिन्न रेल सेवाहरू पनि प्रभावित भएका छन्। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले जनजीवन प्रभावित बनेको क्षेत्रमा राहत तथा उद्धार कार्य तिब्र पार्दै क्षतिको यथार्थ मूल्याङ्कनका लागि केन्द्रीय टोली पठाउन केन्द्रीय गृहमन्त्री अमित शाहसँग अनुरोध गरेका छन्। उता, ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले पूर्वतयारी र समयमै गरिएको उद्धारका कारण ठूलो मानवीय क्षति टारेको बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले यसको प्रभाव अझै केही दिन रहन सक्ने चेतावनी दिएको छ।
बङ्गालको खाडीमा विकसित भई भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको शक्तिशाली चक्रवात ‘अर्नब’ (Cyclone Arnab) को प्रभाव नेपालमा सुरु भइसकेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार यस चक्रवातको बाहिरी घेराका कारण नेपालको वायुमण्डलमा उच्च आकाशमा बादल देखिन थालेको छ भने आज (बिहीबार, कात्तिक १२ गते) देखि यसको प्रत्यक्ष प्रभाव देशैभर फैलिन थालेको छ।
यो प्रणाली उत्तर तथा उत्तर-पश्चिम तर्फ सर्दै जाने क्रममा नेपालमा पश्चिमी वायुसँग मिल्ने भएकाले आज बिहीबार रातीबाट यसको असर झन् तिब्र बन्ने र आगामी केही दिनसम्म (विशेष गरी शनिबारसम्म) देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, भारी वर्षा तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमआँधीको जोखिम रहेको मौसमविद्हरूले बताएका छन्।














Discussion about this post