०९ कात्तिक २०८३, सोमबार
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुने उद्घाटन खेलमा प्रधानमन्त्री बालेन्द्र शाहको विशेष उपस्थिति रहने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार उद्घाटन समारोहका दौरान प्रधानमन्त्री शाहले औपचारिक रूपमा बल हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।
एनपीएलको यस बहुप्रतिक्षित संस्करणको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ। घरेलु क्रिकेटमा देखिएको अभूतपूर्व क्रेज र स्टार खेलाडीहरूको सहभागिताले माहोल तातिरहेका बेला प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति र सहभागिताले नेपाली खेलकुद क्षेत्रलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ। यसअघि नै प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत प्रतियोगिताको भव्य सफलताका लागि शुभकामना व्यक्त गरिसकेका छन्। राष्ट्रिय खेलकुदको प्रवर्द्धन र क्रिकेट विकासको यो महाकुम्भले सिङ्गो देशलाई फेरि एकपटक खेलमय बनाउने निश्चित छ।
सुरक्षाका लागि १ हजार १ सय २५ जनाभन्दा बढी प्रहरी परिचालन गरिएको छ। मैदान क्षेत्र र बाहिर २४ प्रकारका ड्युटी तोकिएर सुरक्षा व्यवस्था कडा पारिएको छ भने काठमाडौँ र ललितपुरका विभिन्न होटलमा बसेका स्वदेशी तथा विदेशी खेलाडीहरूलाई सुरक्षाकर्मी र समन्वयकर्मी अफिसरहरूको टोलीमार्फत स्कर्टिङको व्यवस्था मिलाइएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सन् २०२४ (वि.सं. २०८१) मा स्थापित नेपाल प्रिमियर लिग (NPL) नेपालको सबैभन्दा ठूलो र व्यावसायिक फ्रेन्चाइज ट्वान्टी-२० क्रिकेट प्रतियोगिता हो। यसमा विभिन्न सहर तथा प्रदेशहरूको प्रतिनिधित्व गर्ने आठवटा फ्रेन्चाइज टोलीहरूको सहभागिता रहेको छ भने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो। पहिलो संस्करणदेखि नै दर्शकहरूको अभूतपूर्व साथ पाएको यस लिगमा देश-विदेशका चर्चित अन्तर्राष्ट्रिय स्टार खेलाडीहरूको सहभागिता रहने गरेको छ, जसले नेपाली घरेलु क्रिकेटलाई व्यावसायिकतातर्फ लैजान र विश्वव्यापी रूपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

















Discussion about this post