२२ असोज २०८३, बिहीबार
पोर्चुगिज राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले मुख्य प्रशिक्षक जोर्जे जिससले ‘आफ्नो वाचा तोडेको’ आरोप लगाउँदै नेसन्स लिगको नर्वेविरुद्धको खेलमा ९० मिनेटसम्मै बेन्चमा सीमित हुनुपरेको र त्यसपछिको डेनमार्कविरुद्धको प्रतिस्पर्धामा पनि सुरुवाती ११ मा नपर्ने निश्चित भएपछि ४१ वर्षीय भेट्रान फरवार्डले सेप्टेम्बरको अन्तिम साता राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। करिब २,००० शब्द लामो विस्तृत वक्तव्य जारी गर्दै रोनाल्डोले क्याम्प छाड्ने आफ्नो कदमको सम्पूर्ण जिम्मेवारी आफैँले लिने र पोर्चुगिज फुटबल महासंघ (FPF) ले दिने जुनसुकै कारबाही वा निलम्बन भोग्न तयार रहेको बताएका छन्।
सञ्चारमाध्यम र सर्मथकमाझ व्यापक चर्चा पाएको यस विवादबारे बोल्दै रोनाल्डोले मुख्य प्रशिक्षक जिसससँग म्याच-व्यवस्थापन (खेल समय) बारे पूर्वसहमति भएको तर प्रशिक्षकले लगातार दुई पटक वाचा तोडेको दाबी गरेका छन्। नर्वेविरुद्ध कम्तीमा ३० मिनेट खेलाउने र खेलपछि पत्रकार सम्मेलनमा स्थिति स्पष्ट पार्ने ८ बुँदे सहमति भए पनि जिससले सार्वजनिक रूपमा अर्कै व्यवहार देखाएपछि आफू अपमानित महसुस गरेर टोली छाड्न बाध्य भएको उनले उल्लेख गरेका छन्। टोलीका सहकर्मी, प्रशिक्षक तथा पोर्चुगिज समर्थकहरूसँग माफी माग्दै रोनाल्डोले आफू कप्तान भएकाले थप अनुशासित हुनुपर्ने स्वीकारेका छन्, तर यस विवादका बाबजुद अन्तर्राष्ट्रिय फुटबलबाट भने संन्यास नलिने प्रस्ट पारेका छन्। FPF बाट तोकिने निलम्बनको अवधि सकिएपछि शारीरिक रूपमा तन्दुरुस्त भएसम्म पुन: राष्ट्रिय टोलीका लागि खेल्न तयार रहने उनले बताएका छन्।














Discussion about this post