असोज १८, २०८३ आइतबार
काठमाडौं: काठमाडौँ उपत्यका छाडेर दसैँ मनाउन घर जाने यात्रुहरूका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ अझै औपचारिक रूपमा खुला नहुँदा यात्रुहरू अन्योल र मारमा परेका छन्। घटस्थापना नजिकिँदै गर्दा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूबीच लगातार छलफल भइरहे पनि अग्रिम बुकिङ खुलाउने ठोस मिति तय हुन सकेको छैन। सुगम तथा सहज विकल्प भएका गन्तव्यका लागि केही निजी कम्पनीहरूले अनलाइनमार्फत टिकट बिक्री गरे पनि दुर्गम र लामो दूरीका गन्तव्यहरूका लागि औपचारिक बुकिङ सुरु नहुँदा घर फर्किने तयारीमा रहेका सर्वसाधारण मारमा परेका हुन्।
यस वर्षको दसैँमा काठमाडौँबाट करिब १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ। यता सडक यातायातको अग्रिम बुकिङ अन्योलमा रहँदा आन्तरिक उडानतर्फ भने हवाइ जहाजका टिकट शतप्रतिशतसम्म बिक्री भइसकेका छन्। विशेष गरी मुख्य चाप हुने घटस्थापनादेखि फूलपाती र विजयादशमीसम्मका दिनहरूका लागि बुद्ध एयर, यती एयरलाइन्स लगायतका प्रमुख हवाई सेवा प्रदायकका अधिकांश सिटहरू बुकिङ भइसकेका छन्। सडक खण्डको जिर्ण अवस्था र सवारी साधनको अन्योलका कारण यसपटक हवाई यात्रातर्फ यात्रुको आकर्षण उच्च देखिएको छ।














Discussion about this post