डिल्लीबहादुर चौधरी सामाजिक क्षेत्रमा काम गर्दागर्दै राजनीतिमा स्थापित भएका नेपाली कांग्रेस नेता लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा विहीबार दिउँसो कांग्रेस संसदीय दलका नेता चौधरीले नयाँ सरकार गठनका लागि आठ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित दावी पेश गर्नुभएको थियो ।
नवनियुक्त मुख्यमन्त्री चौधरीले शुक्रवार दिउँसो साढे ११ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित चौधरीलाई कांग्रेससहित माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीसहितको समर्थन रहेको छ ।
गत पुस २७ मा नेकपा (एमाले) बाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएका लीला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत गुमाउनु भएपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन भएको हो ।
Discussion about this post