सङ्कटको समयमा उच्च निर्णयको क्षमता भएका कुशल र निष्टावान नेतृत्वको आवश्यकता पर्दछ, अहिले देशको खाँचो यही हो ।
नेपालले आफ्नो नक्सा पारित गरी चलन चल्तिमा ल्याएपछि पाकिस्तान र सिमाकै शन्दर्भमा चीनसँग हालै बढ्दै गएको तनाव र पाकिस्तानसँगको विद्यमान सिमासंघर्षसँगै जोडेर भारतले नेपाललाई मित्र होइन तर सिमाका ३ शत्रुमा गनेको छ । आफूले दशकौसम्म निर्बादरुपमा नेपालको जमिनमा आधिपत्य जमाएको विश्वमै मैहुँ भन्ने भारले बाँसको बार सारेको जस्तो सजिलै सिमा सार्छ भन्ठान्नु भ्रम सावित हुनेछ । हालै सत्ताधारी नेपाली कम्युनिष्टहरूले चिनिया कम्युनिष्टहरूसँग गरेको भिडियो कन्फरेन्सले सिमा विवाद्ले भारतसँग बढेको मनमुटावमा अवश्यनै घ्यु थप्ने देखिन्छ र चीनले नेपाललाई भारत विरुद्ध उक्साएको आरोपको प्रमाणका रुपमा भरतले यसलाई लिनेछ । बहु चर्चित एमसिसि नेपालमा आएपनि उत्तर र दक्षिणतर्फ यसले उब्जाउने शंकाउपशंका र प्रतिस्प्रधाको टकराव जन्माउने हुनाले सम्बन्धमा यसले विशेष महत्व राख्नेछ । यसै परिवेशमा अब भारतले नेपालप्रति अवलम्बन गर्ने रणनीति फरक हुने देखिन्छ र यसप्रति गम्भिर नबनेर नजर अन्दाज गरेर कुनै कदम नचाल्नु ठूलो भुल हुनेछ । २०७२ को विनाशकारी भूकम्पको चपेटामा देश र जनता छटपटाईरहेको बेला भारतले गरेको अघोषित नाकाबन्दीलाई हेक्का राख्दै आउने दिनहरू कस्तोसम्म हुनसक्ला, अनुमान गर्नु आवश्यक छ ।
कोरोनाको कहरमा जनतालाई प्रदान गरिएको राहत सन्तोषजनक रहेको छैन । कोरिन्टानइनको अवस्था अत्यन्त नाजुक र हेलचक्राइपूर्ण छ । स्थानीय निकायमा कोरोना परिक्षण किटको पनि अभाव छ । राहत वितरणमा सरकारले दिने श्रोत अपुग हुन गएकोले आफैले तोकेको राहतको मापदण्डमा १ डाडु तेल र ५ किलो चामलमा स्थानीय निकायले व्यवस्थापन गर्नुपरेको छ । कोरिन्टाइनमा बस्नेलाई खाजा खुवाउने पैसा छैन । दैनिक जीवनको आवश्यकतालाई जोडेर खुकुलो पारिएको बन्दाबन्दिका बीच जनचहलपहल अत्यन्त जोखिमपूर्ण रहेको तथ्य ४०० देखि एकै दिनमा ७०० नाघेको हालैको तथ्याङ्कले पुष्टि गरेको छ । केही महिनामै ४० औं हजार कोरना संक्रमितहरूको संख्या हुनसक्ने विज्ञहरूको अनुमानप्रति देशको बागडोर समातेकाहरूको ध्यानकार्षण भएको देखिदैन । बन्दाबन्दीको अवधिमा मानसिक तथा समाजिक विकृति र विचलन बढिरहेको छ । आत्माहत्या गर्नेको संख्या यस बन्दाबन्दीको अवधिमा असामान्य रुपले बढेको प्रहरीको अभिलेख एउटा उदाहरण मात्र हो । अग्रपङ्तीमा कोरानासँग भिड्नेहरू हतियार विनाका सिपाही बनेका छन् ।
नीजामति कोरना संकटमा सुतेको बाघ बन्यो । स्वास्थ्य सामाग्री खरिद गर्न सेनालाई जिम्मेवारी दिनुपर्ने अवस्थाले नीजामतिको कार्यक्षमतालाई उजागर गरेको छ । जनताको स्वास्थ्य जोखिममा परेका बेला स्वास्थ्य सामाग्रीको खरिदमा सरकारमा हुनेहरूलाई घुसखोरीको आरोप लाग्यो । सेनापनि यस्तो अरोपबाट अछुतो रहन सकेन । बोर्डरमा जनतालाई सेकाएर, तिनैले पठाएको रेमिट्यान्स र तिनैले तिरेका करमाथि भ्रष्टाचार गर्नेलाई, जो भएपनि यसको पुष्टि हुने वित्तिकै सरकारले कारवाही नगरे, सरकार प्रति जानताको वितृष्णा बढ्ने देखिन्छ ।
रोजगार सृजना गर्ने उद्योगधन्दा उठ्नै नसक्ने गरि थला परेकाछन् । बन्दबन्दीको १ महिना भित्रै भाडा र आफ्ना मजदुरलाई ज्यालासम्म भुक्तान गर्न सरकारसँग राहतको माग गर्ने व्यापर व्यवसायहरूसँग कति अपेक्षा गर्न सकिन्छ सोचनीय छ । कोरनाले पारेको ग्लोबल प्रभावले गर्दा नेपालमा आउने अनुदान र सहयोगमा हुने नकरात्मक प्रभाव अड्कल गर्नुपर्ने हुन्छ । आन्तरिक तथा बाहिरबाट फर्कने युवाशक्ति बेरोजगारीको चपेटामा ग्रस्त भई समस्या धानी नसक्ने हुने निश्चय छ । कृषिको उत्थान समाधानको उपाय देखिएपनि मौसमी निर्भरता र प्राकृतिक जोखिमका कारणले हाम्रो कृषि नाजुक अवस्थामा छ । सुन फल्ने फाँटहरू घरैघर र सडकहरूले छोपिएका छन् । गाउँघरमा फालिएका दौराबाट कति अपेक्षा गर्न सकिन्छ र? कृषिमा नाफा भनेको अनुदान मात्रै हो भन्ने धेरै छन् । सरकारको दह्रो योजना बिना नेपालको कृषि भरपर्दो अवस्थामा देखिदैन ।
थिङ्क ट्याङ्क हुनुपर्ने केन्द्रिय तथा प्रदेश सांसद्भवनहरू दोहोरीे गाउने चौतारो, टुक्का, उखान र कविता वाचन गर्ने थलो बनिरहेका छन् । सभासद्हरूको चासोलाई गम्भिरकासाथ लिनुको साटो ओठे जवाफ दिएर थन्को लाउने प्रधानमन्त्रीज्यूको शैलि यतिबेला शान्दर्भिक मानिएको छैन । समसामायिक चुनौतिहरूप्रति गम्भिर नदेखिंदा भविष्यप्रति चिन्ता उब्जीएको छ । ज्ञान, अनुभव र विज्ञताको बेवास्ता भएको महशुस गरिएको छ । देश थप सङ्कट र जटिलता तर्फ धकेलिइरहेको यस अवस्थामा सुझबुझकासाथ दूरगामी परिणामलाई बिचार गर्दै रणनैतिक कार्ययोजनाको तय गर्न देश र जनमैत्री, जनहितकारी निर्णयहरूका लागि राजनेताहरू एकै ठाउँमा उभिएर उच्च इच्छाशक्तिकासाथ ढिलो नगरी लाग्नुपर्ने देखिएको छ । राज्यका सबै तहतप्का, संघसंगठन र जनमानसले यसलाई साथ दिएर आआफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता देखिएको छ र अहिले देशको खाँचो यही नै हो ।
राजु अधिकारी, ५ असार २०७७
Discussion about this post