शनिवार, सेप्टेम्बर १७, असोज १
‘उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ।’ —फिलिप्पी २:१३
यी शब्दहरूमा चिनो लगाउनुहोस्ः
‘परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ।’ उहाँले तपाईंको हृदयमा पहिल्यै जो राखिदिनुभएको छ त्यो गर्न तपाईंले आफ्नो मन लगाउनुहुँदा, आफ्नो मुख खोल्नुहुँदा, र हात चलाउनुहुँदा उहाँले यसो गर्नुहुन्छ। तपाईंले उहाँको इच्छा पालन गर्न तयार हुनुभएको क्षण उहाँले तपाईंलाई त्यो काम गर्ने क्षमता दिनुहुन्छ।
ध्यान दिनुहोस्, परमेश्वरले पहिले उहाँको इच्छा तपाईंलाई प्रकट गर्नुभएर त्यसपछि तपाईंलाई बोलावट दिनुहुन्न। उहाँले तपाईंलाई बोलाउनुहुन्छ, अनि जब तपाईं विश्वासमा कदम बढाउनुहुन्छ र उहाँको आज्ञा पालन गर्नुहुन्छ, तब उहाँले कदम–कदममा आफ्नो इच्छा तपाईंलाई प्रकट गर्नुहुन्छ, र तपाईं अघि बढ्दै जानुहुँदा तपाईंलाई सामथ्र्य दिँदै जानुहुन्छ र सुसज्जित पार्दै जानुहुन्छ। प्रतिबद्धता जनाउनुभन्दा पहिले तपाईंलाई अझै थप विवरण चाहिन्छ भन्ने तपाईं सोच्दैहुनुहुन्छ भने, यो कुरामा ध्यान दिनुहोस्।
पहिलोः तपाईं हुनुभएको ठाउँमा परमेश्वरले तपाईंलाई असहज बनाउन सक्नुहुन्छ। ‘आफ्नो गुँडलाई हल्लाउने गरुडलेझैँ … परमप्रभुले … तिनलाई अगुवाइ गर्नुभयो’ (व्यवस्था ३२:११–१२)। आफ्ना चल्लाहरूलाई उड्न सिकाउन, माऊ गरुडले तिनीहरूलाई गुँडबाट साँच्चै ठेलेर निकाल्छे। नचिताएको कुरा सामना गर्ने र असहज महसुस गर्ने बारेमा विचार गर्नुहोस् त ! ती बच्चाहरूले के सोचिरहेकाहोलान्, कल्पना गर्न सक्नुहुन्छ ? ‘मेरी आमाले मलाई यसो गर्नुभएको ?’ तर बच्चा गरुडलाई उसको आरामको क्षेत्रबाट बाहिर धकेलेर नपठाएसम्म उसले आफू उड्न, पखेटा फैलाउन, शक्ति प्रकट गर्न, र आकाशमा आफ्नो स्थान जमाउन जन्मिएको हो भन्ने कुरा बुझ्दैन।
के आज परमेश्वरले तपाईंको आरामको क्षेत्रलाई हल्लाइरहनुभएको छ ?
दोस्रो कुराः उहाँको सहायताविना परमेश्वरको निर्देशन पालन गर्न असम्भव हुन्छ। उहाँले यस्तै योजना गर्नुहुन्छ। येशूले भन्नुभयो, ‘मबाट अलग रहेर तिमीहरूले केही पनि गर्न सक्दैनौ’ (यूहन्ना १५:५)।
तेस्रो कुराः उहाँको अगुवाइमा स्थिरता वा दिगोपन हुन्छ। मानवीय विचारहरू बितेर जान्छन्, तर परमेश्वरको अगुवाइ रहिरहन्छ। यसको अर्थ समय तपाईंको पक्षमा छ, यसकारण परमेश्वरसँगै कदम चाल्नुहोस् र उहाँभन्दा अघि नजानुहोस्।
आत्मिक भोजनः २ तिमोथी १–४, मर्कूस १४:४३–५२, भजन ३, हितोपदेश २४:२३–२५
Discussion about this post