बिहीवार, सेप्टेम्बर ८, भदौ २३
‘देओ र तिमीहरूलाई पनि दिइनेछ।’ —लूका ६:३८
उदारता रूपैयाँपैसासँग मात्र सम्बन्धित छैन। धेरै मानिसहरूले भन्छन्, ‘म धनी हुनेबित्तिकै उदार–चित्तको हुनेछु।’ तर सबैभन्दा धेरै दिनेहरू सबैभन्दा कम रूपैयाँपैसा हुने मानिसहरू हुन्छन्। थोरै निवृत्तिभरणका भरमा बाँचिरहेका हजूरआमाहरूले अनाथालयहरू बनाउन प्रत्येक महिना केही रकम पठाइरहेकाछन्। मुस्किलले हातमुख जोर्नसक्ने मानिसहरूले भोकाहरूलाई खुवाउन आर्थिक सहायता पठाइरहेकाछन्। अवकाशप्राप्त कर्मचारीहरूले नयाँ कर्मचारीहरूलाई मार्गदर्शन गरिरहेकाछन्। सीमित स्रोतसाधन भएका एकल व्यक्तिहरूले घरबारविहीन् वा खाँचोमा परेका परिवारहरूसँग आफ्नो साँझको समय बिताइरहेकाछन्। आर्थिक रूपमा तपाईं जहाँ हुनुभए तापनि, तपाईंले दिने जीवन शैली सुरुआत गर्न सक्नुहुन्छ। यदि तपाईं एक सुन्दर कारका लागि, घरबाहिर खाना खानका लागि, चलचित्र हेर्न जानका लागि, प्रेमी वा प्रेमिकासँग बाहिर घुम्न जानका लागि, र विदाका समयका अन्य गतिविधिहरूका लागि रूपैयाँपैसा प्रबन्ध गर्न सक्नुहुन्छ भने, तपाईंले साँच्चै चाहनुभयो भने तपाईंसँग दिनका लागि अवश्य केही थोक हुनेछ। येशूले भन्नुभयो, ‘देओ र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदी–खाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्’ (पद ३८)।
के तपाईं थप लाभ चाहनुहुन्छ ?
आशिष चाहनुहुन्छ ?
अरूलाई आफ्नो समय, सम्पत्ति र सीप दिन सुरु गर्नुहोस्। या त येशूले झूटो बोल्नुभयो या त सत्य, र तपाईंले त्यो कुरा पत्ता लगाउनुपर्छ। उहाँले सत्य कुरा बताउनुभयो भनी यदि तपाईं विश्वास गर्नुहुन्छ भने, अरूलाई दिनुको सट्टा आफैँसँग राखेर तपाईंले मूर्खतापूर्ण तरिकाले काम गरिरहनुभएको छ। उत्प्रेरक वक्ता नर्मन भिन्सेन्ट पिलले भनेकाछन्, ‘जब तपाईं मानसिक रूपमा आफैँबाट अलग रहेर अरू मानिसहरूका समस्या समाधान गर्न उनीहरूलाई सहायता गर्ने बारेमा केन्द्रित हुनुहुन्छ, तब तपाईंले आफ्नै समस्या पनि बढी प्रभावकारी रूपमा सामना सक्नुहुन्छ। आफैँलाई अरूको निम्ति दिँदा कसैगरिकन आफैँले शक्ति पाइन्छ।’ येशूले भन्नुभयो, ‘देओ र तिमीहरूलाई पनि दिइनेछ। जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।’ यसकारण, अरूलाई दिन सुरु गर्नुहोस् अनि के हुँदोरहेछ हेर्नुहोस्।
आत्मिक भोजनः कलस्सी १–२, मर्कूस १२:१३–२७, भजन ७८:९–१६, हितोपदेश २३:२२–२५
Discussion about this post