आइतवार, सेप्टेम्बर ४, भदौ १९
‘यसैकारण एउटाले अर्कालाई यी वचनहरूले सान्त्वना देओ।’ —१ थेसलोनिकी ४:१८
प्रोफेसर टोनी क्याम्पोलो एक पटक आफ्ना एक परिचितको अन्त्येष्टिमा सहभागी हुन गए, तर झुक्किएर अर्कै अन्त्येष्टिमा पुगे। एक वृद्ध मानिसको शरीर दफनको लागि तयार पारिएको थियो, अनि उनकी पत्नी मात्र त्यहाँ शोक गर्दै बसिरहेकी थिइन्। तिनी धेरै एकलै देखिन्थिन्, यसकारण क्याम्पोलो अन्त्येष्टिभरि त्यहीँ रहे, र कब्रिस्तानसम्म तिनलाई साथ दिए। मृत शरीरको दफन सेवापछि, त्यहाँबाट गाडीमा फर्कंदैगर्दा क्याम्पोलोले ती महिलाका पतिलाई चिनेका थिएनन् भनी स्वीकार गरे। ती महिलाले जवाफ दिइन्, ‘मलाई त्यस्तै लाग्यो। मैले पनि तपाईंलाई चिनिनँ। तर केही छैन। तपाईंको उपस्थिति मेरो लागि कति महत्वपूर्ण भएको छ भन्ने कुरा तपाईंले कहिल्यै पनि बुझ्नुहुनेछैन।’
ख्रीष्टियन लेखक फिलिप यान्सी लेख्छन्ः ‘उपलब्ध हुनु नै हामीले योगदान गर्न सक्ने सबैभन्दा बलियो शक्ति हो … अय्यूबको कष्टप्रति उनीहरूको असंवेदनशील प्रतिकृयाको लागि हामीले तिनका तीन जना मित्रहरूको आलोचना गर्नु उचितै हो।
तर यो वर्णन फेरि पढ्नुहोस्ः “तिनीहरू सात दिन सात रात भूइँमा अय्यूबको छेउमा बसे। अनि तिनीहरूमध्ये कसैको मुखबाट एक शब्द पनि निस्केन” … तिनीसँग उनीहरूले बिताएका सबैभन्दा उत्तम अभिव्यक्तिका क्षणहरू तिनै थिए। म पीडामा रहेका मानिसहरूबाट स्वतस्फूर्त रूपमै तर्कन्छु।
उनीहरूले आफ्नो हालतको बारेमा कुरा गर्न चाहन्छन् वा चाहँदैनन् भन्ने कुरा कसलाई थाहा हुन्छ र ?
के उनीहरूलाई सान्त्वना दिएको वा उत्साह दिएको मन पर्छ ?
मेरो उपस्थितिले के नै असल प्रभाव पार्ला र ?
मेरो मनले यस्ता तर्कवितर्कहरू गर्छ, फलस्वरूप मैले अन्त्यमा सबैभन्दा खराब काम गर्नपुग्छु—
म उनीहरूबाट परै बस्छु … “तपाईंलाई कसले सबैभन्दा बढी सहायता गर्यो ?” भनी मैले सोध्दा कसैले पनि कुनै दार्शनिकको नाम लिँदैन। धेरैजसो उनीहरूले कुनै शान्त, नम्र व्यक्ति उल्लेख गर्छन् … जो उनीहरूको दुःखको क्षणमा साथमा थियो … जसले बोल्नुभन्दा बढी उनीहरूको कुरा सुन्थ्यो, जसले बारम्बार घडी हेरिरहँदैनथ्यो, जसले उनीहरूलाई छोयो र अंगालो मार्यो र रोयो … जो उपलब्ध थियो र कष्टमा परेको व्यक्तिकै स्तरमा आयो, उसको आफ्नै कुरा लिएर होइन।’ यसरी नै तपाईंले अरूको सेवा गर्नुहुन्छ। आत्मक भोजनः बचाइएको दानिएल ६–१–२४, प्रेरित १२:१–१९
Discussion about this post