शुक्रवार, जुलाई १५, असार ३१
‘तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले।’ —मर्कूस २:४
आफ्नो पक्षघाती मित्रलाई बोकेर येशूले प्रचार गरिरहनुभएको घरमा चार जना मानिस आइपुग्दा, त्यहाँको भिड यति ठूलो थियो कि तिनीहरू उहाँकहाँ पुग्न सकेनन्। त्यसकारण तिनीहरूले एउटा छनोट गर्नुपर्ने भयोः हार मान्नु, वा लागिरहनु र कुनै उपाय पत्ता लगाउनु। त्यस्तो अवस्थामा तिनीहरूले घरमाथि चढ्ने र ‘उहाँ हुनुभएको ठाउँको माथिको छाना खोल्ने’ निर्णय गरे। जब तिनीहरूले त्यो छाना खोलिसके र येशूले तिनीहरूको विश्वास देख्नुभयो, उहाँले त्यस मानिसलाई भन्नुभयो, ‘उठ, तिम्रो खाट उठाऊ, र घर जाऊ !’ (पद ११)। अनि त्यसपछि जे भयो, त्यो ध्यान दिन योग्य छः ‘त्यो उठ्यो, र तुरुन्तै खाट उठाएर सबैका सामुन्नेबाट गइहल्यो। यहाँसम्म कि सबै जना आश्चर्य–चकित भए, र “हामीले यस्तो त कहिल्यै देखेका छैनाँै !” भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे’ (पद १२)। तपाईंलाई वा तपाईंले प्रेम गर्नुभएको व्यक्तिलाई येशूबाट अलग राख्ने ‘छाना’ जेसुकै भए तापनि, त्यसलाई हटाउनु पर्छ। त्यसलाई च्यातिदिनुहोस् ! कुनै पनि कुराले तपाईंको बाटो छेक्न नपाओस् ! येशूले कसैलाई चंगाइ, नयाँ सुरुआत, राम्रो जागिर, बलियो वैवाहिक जीवन, स्वस्थ सन्तान, वा प्रभावकारी सेवकाइ दिन सक्नुहुन्छ— यदि तिनीहरू ती कुरामा लागिपर्न तयार छन् भने। ती मानिसहरू आफ्नो उद्देश्यमा लागि परेका थिए। तिनीहरूमा विश्वास मात्र थिएन, तिनीहरूकोे विश्वास त काममा पनि सक्रिय थियो ! तिनीहरू येशूलाई भेट्न आएका थिए, अनि उहाँलाई नभेटिफर्कन तिनीहरूले इन्कार गरे। त्यो माटोको छाना खोल्दै गर्दा, आफूहरू एउटा आश्चर्यकर्मबाट केही फिटको दूरीमा मात्रै छौँ भन्ने कुरा तिनीहरूलाई थाहा थियो, अनि तिनीहरू हार मान्ने पक्षमा थिएनन्। त्यो कुरा जानेका हुनाले तिनीहरू काममा लागिरहन सके। यसकारण, तपाईंले आज जेसुकै गर्नुपरे तापनि, येशूसम्म पुग्नबाट तपाईंलाई कुनै पनि कुराले रोक्न नपाओस्। तपाईंले महसुस गर्नुभएको भन्दा तपाईं आश्चर्यकर्मको नजिकै हुनुहुन्छ, यसकारण लागिरहनुहोस् अनि त्यहाँसम्म नपुग्नुभएसम्म नरोकिनुहोस् !
आत्मिक भोजनः २ शमूएल १४: २१–१७:१३, मत्ती २६: ५७–७५, भजन १२३, हितोपदेश १८: १३–१६
Discussion about this post