
काठमाडौं, असार ३, चरिकोटमा पक्राउ परेका ८ जना आज रिहा भएका छन्। नेपाल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठका अनुसार, चरिकोट अदालतमा विहिबार र सुक्रबार वयान दिएपछि सबै ८ जना ख्रीष्टप्रेमीहरू अहिले ५ बजे बल्ल छुट्नु भएकोछ। आज काठमाडौंबाट गएको टोलिमा पास्टर सागर परियारका अनुसार ५ जना साधारण धरौटीमा छुट्नु भएको छ भने तीन जना सामान्य तारिखमा छुटेको कुरा जानकारी गराउनु भएको छ।
पास्टर सागर परियारका अनुसार कठमाडौंबाट आज चरिकोट पुगेको समूहमा पास्टर बर्णवास श्रेष्ठ, पास्टर गजेन्द्र राई, पास्टर सागर परियार र बनिता डंगोलकी दिदी गरी चार जनाको समूह आजै काठमाडौंबाट गएको थियो। ख्रीष्टिय महासंघका महासचिव सिबि गहतराज सहित ११ जनाको समूह पनि चरिकोट पुगेको कुरा पास्टर सागर परियारले बताउनु भएको छ।
बरामद भएका सामान सबै दुइदिन पछि फिर्ता पाउने कुराको पनि जानकारी गराउनुभएको छ। एक घण्टापछि रिहा भएका सबै आजै काठमाडौं फर्कदै हुनुहुन्छ।
गत जेठ २७ गते विहिबारको दिन दोलखा जिल्लाको चरिकोटबाट काठमाडौं फर्कने क्रममा टिच नेपालका ५ जना कर्मचारीहरू र २ जना प्रिन्सीपल विद्यालयमा धर्म प्रचार गरेको आरोपमा पक्राउ परेका थिए। पक्राउ पर्नेमाहरूमा टिच नेपालका स्टाफहरूमा बनिता डंगोल, मकवानपुरका बालकृष्ण राई, गोर्खाका फिलिप तामाङ, ललितपुरका किरण दाहाल र रामेछापका भीमबहादुर तामाङ र चरिकोटस्थित माउण्टभ्याली बोडिङ स्कुलका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही पक्राउ परेका थिए। जेठ ३१ गते सोमबारका दिन पास्टर शक्ति पाख्रीन पक्रा परेका थिए।
प्रार्थना निरन्तर गरीराखौं। रिहाको लागि प्रार्थना गर्ने व्यक्तिहरू, चर्चहरु र एनसिएस, एनसिएफएन र एफएनसिएनका सम्बन्धित व्यक्तिहरू र भेट गर्न जाने पास्टर अगुवाहरूलाई धन्यवाद।
Discussion about this post