किन लेख्दैछु ? किन भन्दैछु ? कुन त्यस्तो टिचर हुँ ? यो क्षेत्रमा मेरो वरदानै छ, छैन ? तर बाइबलका पदहरू देख्छु । पदहरूले बोलेको, झकझकाएको, कराएको जस्तो लाग्छ । तर्सिन्छु अनि चर्चडटकममा केही कोरेर पठाउँछु । म आफै लुगलुग काँप्नु पर्ने हो जस्तो लाग्छ । तर कस्तो मान्छे म ? यतिका भयानक चिन्हहरूको अघि लाचार, यथावत, यथास्थिति, निर्लज्ज, निष्प्राण, निद्रामा, सायद घोर निद्रामा आफैलाई पाउँछु कतिपल्ट । बाइबलका पुरानै पदहरूलाई सरसरी हेरौं । यहाँ केही पायौं, देख्यौं भने सचेत बनौं । जागौ । हामी सबै जाग्नैपर्छ । एकअर्कालाई सिकाऔं । चनाखा बनौं । पवित्र आत्माले सत्यतातिर डो¥याउनुहुन्छ, अर्थ खोलिदिनुहुन्छ ।
मृत्युपछि अझ उत्तम जीवन प्राप्त गर्नलाई छुटकारा इन्कार गरेर बरू शास्ति भोगे । अरूहरूले गिल्ला, कोर्राबाजी, बन्धन र कैद पनि भोग्नु प¥यो । (हिब्रू ११ः३५,३६)
ख्रीष्टविश्वासीहरूको खेदो हुनु नौलो कुरो होइन । भारतका चर्चमाथि अमानवीय, असभ्य आक्रमण भइरहेका छन् अनि यो देशमा पनि चर्चसँग आतंकित बनेर आक्रमणको तयारी भइरहेको । विचारको आक्रमण मात्र होइन, भौतिक । चर्चका सत्रुहरू समय कुरेर बसिरहेका छन् ।
हाम्रो विवरण, चित्र र पहिचान नयाँ करारका पानाहरूबाट चकिलो गरी आउनुपर्छ । पहिलो कुरो त्यो हो । मान्छेले फाल्ने र लेख्ने, सुधार्ने, उधार्ने, टेर्ने, नटेर्ने कानुन र संविधानप्रति भन्दा पनि नयाँ करारप्रति हामी बढी आकर्षित बन्नुपर्छ । र आबद्ध । त्यहाँ “अझ उत्तम जीवन” भनिएको छ । त्यहाँ “अनन्त जीवन”भनेको छ । संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्ने थियो । तर तिमीहरू यस संसारका होइनौ । संसारबाट तिमीहरूलाई मैले चुनें (यूहन्ना १५ः१९) ।)
मसिहा येशूले चुन्नुभएको मान्छेले उहाँलाई चिन्नैपर्छ । देशका नेताहरूको मनमा क्रिस्चियनप्रति चिसो पसिसकेको छ । मनमनै दारा किट्दै छन् । पोलिटिकल स्वार्थमा उनीहरू हामीसँग कतिपल्ट नजिक पनि आउँछन् । यी इसाईहरू यसरी नबढ्नु नि, न फैलिनु नि भनेर उनीहरू पिरोलिएका छन् । चर्च अगुवाहरूले बाइबल अध्ययनलाई नयाँ उचाइमा पुराउने तम्तयार गर्नुपर्छ । नत्र हमला भएको दिन बगालहरू तितर वितर हुनेछन् । पर्खिबसेका ब्वाँसाहरूलाई असहाय विश्वासीमाथि झम्टनु त्यो दिन सजिलो हुन्छ ।
उत्तम, – कता हो कता उत्तम जीवन दिन राजा येशूले हामीलाई चुन्नुभयो, बोलाउनु भयो र भन्नुभयो, सानो बगाल, नडराओ तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ (लूका १२ः३३) ।) अस्ति भरखर अप्रिल २५ अनि मई १२ मा दुई भुकम्प आए । त्यो हाम्रो जीवनकै हेडलाइन बन्यो । भवनहरू पल्टिए, भवनमालिकहरू बेघर भए । तर एकराश इटा, ढुङ्गा, बालुवाभित्रको साँचो रहस्य खनेर निकाल्नुपर्छ । प्रभु येशू फर्कि आउन तयार हुनुहुन्छ । हामी उहाँसँग जान तयार बन्नुपर्छ । यो कुनै आदर्शवादी, उच्च कल्पना, भावना, भक्ति, उक्ति, उपासनाहरूले भरेको कुरो होइन । येशू राजाले भन्नुभो, मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन् । गएर तिमीहरूको निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई मकहाँ लैजानेछु, जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ । (यूहन्ना १४ः२,३ ।)
प्यारो मित्र, अब बाइबलले भनेको, बताएको समय नजीक आइसकेको छ । समय र सोचहरूमा ठूला परिवर्तन आइसके । काठमाडौ खाल्डोको सन्दौर्य र आकर्षण लगभग खत्तम भयो । यसको तुजुक जमिनमा ढल्यो । भत्केका भवनहरू हाम्रा आँखाअघि वर्षौ रोइरहेको दृश्य अब हामी देख्नेछौं । बाहिर जिल्लामा कतै अर्को एयरपोर्ट बनेको भालिपल्टदेखि यसका तारे होटलहरू सुक्नेछन् । अर्को अन्तराष्ट्रिय एयरपोर्ट नभएर मात्र बाँचेको सहरको सौन्दर्य कस्तो होला ? टुरिस्टहरू यहाँ आउन चाहन्नन् । एयरपोर्टको बाध्यताले यताबाट आएका हुन् । होटल मालिकहरूले अर्कै विकास क्षेत्रको अर्कै जिल्लामा अर्को ठूलो अन्तर्राष्ट्रिय एयरपोर्टको फाइल आलटाल गरिदिन चलखेल सुरु गरिसके । जब्बरजस्ती आफैलाई ठूलो महाराजा बनाउन सुर कसेको खोक्रो काठामाडौको दिन गन्ती भइसकेको छ । अर्को विमानस्थल बनेपछि ठमेलमा हामी सस्तो कोठाहरू पाउनेछौं । नक्कली सिँगारमा लपेटिएको थोक, वस्तु, मान्छे, व्यवहार र स्वाँग, सहर हामीले खुट्याउनुपर्छ । बाइबल वचन स्थिर छ । युगौंदेखि पक्का छ ।
वरिपरि हेरौं र येशूको आवाज फेरि सुनौं, तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता भोग विलास, मतवालीपन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला र तिमीहरूमाथि एक्कासि त्यो दिन पासोझैं आइपर्ला । मसिहा हामीलाई अन्तिम दिनको भयानक, डरलाग्दो दुर्घटनादेखि बचाउन चाहनुहुन्छ । आइपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खडा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो (लूका २१:३४,३६ ।) राजा मसिहा परमप्रभु हामीलाई उपाय खुलाउनुहुन्छ, भुकम्पहरू, बाढीहरू, आतंकहरूका अनुभव र परिदृश्य प्रयोग गरी हाम्रो नजीक आउनुभई पवित्र आत्मा भन्नुहुन्छ, प्रार्थना गर्दै जागा रहो ।
नेपालमा अनि पृथ्वीभरिका ख्रीष्टविश्वासीलाई सम्झेर उहाँले आफ्नो रहर यसरी प्रकट गर्नुभयो । “पिताले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ ।”(यूहन्ना ६:३९ ।)
Discussion about this post