“सेवा गर्न अबेर नगरौं” भन्ने नाराका साथ् सुरु भएको ‘सेवा अहिले नेपाल’ नामक संस्थाले पुर्वी चितवनको जुटपानी ४ स्थित पृथ्वी उच्च मावि सालघारी शाखा लगायत देशका अन्य बिभिन्न ठाउँका बालबालिकाहरुलाई जाडोमा लगाउने कपडा वितरण गरेको छ । सो संस्थाले जम्माजम्मी २८३ जना बालबालिकाहरुलाई ज्याकेट, ट्राउजर र टोपी प्रदान गरेको हो ।
सेवा अहिले नेपालका राष्ट्रिय निर्देशक अर्जुन ढकालले शितलहरका कारण विपन्नवस्तीका बालबालिकाहरूलाई पर्न सक्ने असरलाई मध्यनजर गर्दै न्यानो कपडा प्रदान गरेको वताउनुभयो । ढकालका अनुसार यस संस्थाले जुटपानीस्थित पृथ्वी उच्च माबिका ११० जना, चितवनकै सिद्धीस्थित मझवाङ प्राविका १३ जना, नवलपरासीस्थित पिठौली प्राविका ९५ जना र धादिंग पिडा गाबिसका ६५ जना विद्यार्थीहरूलाई जाडोमा लगाउने कपडा सहयोग गरेको हो ।
शोषित पिडित महिला तथा बालबालिकाहरूको पक्षमा साथै समाजमा रहेका अन्य विविध समस्याहरूको निराकारण गर्ने उद्देश्यका साथ् स्थापित यस संस्थाले आउने दिनहरूमा पनि देशका अरु ठाउँहरूमा यस्तै प्रकारका सहायतामूलक काम गर्दै जाने निर्देशक ढकालले बताउनुभयो । यसै संस्था अन्तर्गत धादिंग जिल्लाको पिडा गाविसमा २६ जना महिलाहरूले सिलाइकटाई तालिम लिंदै गरेको बताइएको छ ।
जुटपानीको सहयोग कार्यक्रममा जुटपानी गाबिसका सचिव रामकुमार श्रेष्ठ, पृथ्वी उच्च माविका प्राचार्य गंगाराम गुरुङ, जेन्टल हार्ट फाउन्डेसनका स्थानीय संयोजक इश्वर श्रेष्ठ, पृथ्वी उच्च मावि सालघारी शाखा इन्चार्ज तारा खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए । यो कार्यक्रम सेवा अहिले नेपालका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post