बहुआयमिक साधक पादरी गंगाप्रसाद प्रधानको पत्रकारिता र प्रकाशन
सोच्नेले जे सोचे पनि हुन्छ। सोच र खोजले सत्य बदलिदैन। सत्यले सोच बदलिन्छ। सत्यता नै एक दिन बलियो इतिहास बन्दछ। एउटै व्यक्ति धेरैको विद्यार्थी र धेरैको शिक्षक हुन सक्छ। जीवनको यस यात्रामा थुप्रै संस्करण र अध्यायहरू पनि थपिदो रहेछ। त्यसैले उसको जीवन भोगाइसँगै साथ दिर्दै हिडने छाँयाहरू बलियो साक्षी भएर वकालत गरीरहन्छन्। फैसल्लाको लागि विविध पक्षहरूको प्रमाण र गवाहीका हस्ताक्षर अभिलेख बन्दै जान्छन्।
अनि उसको पक्षमा इतिहासकारहरू न्यायधिश बनि उसको साधनाले स्रष्टा वा साधक घोषणा गर्दछन्। बहुआयामिक भन्नाले धेरै आयामहरूको प्रतिनिधित्व भन्ने बुझिन्छ। विभिन्न पक्षहरूको प्रतिविम्वित गर्ने प्रतिक नै बहुआयामिकको अर्थ हो। जस्तै: बहुरुपी, बहुपक्षीय र बहुमुखी नै बहुआयामिक को परिभाषासँग मिल्दाजुल्दा हुन्छन्। त्यसैगरी साधक चाहिँ निरन्तर तपस्या र साधना गर्ने सर्जक वा स्रष्टा हुन्। जसले लामो समय सम्म एकाग्र र एकचित्त भई गरिने खुरन्धार प्रार्थना,अभ्यास,अनुसन्धान र ध्यानयोग नै साधना हो। साधनामा जीवन र्समर्पण गर्ने कुशल व्यक्ति वा स्रष्टा नै सच्चा साधक हुन्। बहुआयामिक दृष्टिकोण, प्रतिभा र व्यक्तित्वले सिद्ध भएर त्यसै बहुपक्षीय क्षेत्रमा निरन्तर झुकाव, लगाव र साधना गर्ने तपस्वी वा अग्रज स्रष्टाहरू नै बहुआयामिक साधकहरू हुन्। उनै बहुमुखी क्षेत्रका अग्रेणी साधक पादरी गंगाप्रसाद प्रधान नेपाली इतिहासका ओजेल परेका सुन्दर फूल हुन्। उज्यालोमा ल्याइदै गरेका साधक सधैभरी अमर छन्। उनको जीवनले संगालेका थुप्रै मिठा अनुभवका अध्यायहरू आज पनि जिवित छन्। त्यस समयमा उनी एक बहुमुखी प्रतिभाका धनी थिए। बहुभाषिक,बहुचर्चित र बहुमूल्यका मात्र भएनन् तर सधैभरीका लागि प्रेरणाका पात्र बनिरहे। पहिलो नेपाली पाष्टर, प्रचारक, शिक्षक, समाजसेवी, सम्पादक, प्रकाशक, अनुवादक, साहित्यकार र संगित प्रेमी समेत थिए। त्यसैको उपज उनी बहुआयामिक क्षेत्रका साधक र आदर्श हुन्। उनले नेपाली समाजमा पुर्याएको विविध पक्षको योगदान मध्ये पत्रकारिता – प्रकाशन क्षेत्र एक बलियो र सशक्त पक्ष हो। उनी पहिलो पत्रिका प्रकाशन गर्ने प्रकाशक र कुशल सम्पादक र व्यवसायिक पत्रकार हुन्। (पत्रिका सम्वन्धि सम्पूर्ण कार्य गर्ने व्यक्तिलाई पत्रकार भनिन्छ। त्यसैगरी प्रकाशनकालागि उपयुक्त बनाउने वा सम्पादन गर्ने व्यक्ति सम्पादक हो। समाचार र विभिन्न लेखरचनाहरूको समसामयिक संगालो भएको पत्र वा पुस्तिका नै पत्रिका हुन्। प्रकाशमा ल्याउने, प्रकट गर्ने र लुकेको कुरा खुलस्त गरी सार्वजनिक बनाउने मुद्रण वा छपाई नै प्रकाशन हो।) गंगाप्रसाद पत्रकारिता र प्रकाशन विषयमा भने ज्ञाता नै थिए। उनीसँग यस विषयमा लामो अनुभव र साधना थियो। जीवनको अन्तिम एक अध्याय नै यस मिसनमा विताएकाछन्। यसैलाई जीवनको उत्तर्रार्धमा साधना, परिचय र सेवकाइ बनाइरहे। उही बहुआयामिक साधक नेपाली पत्रकारिता-प्रकाशनमा सुनौलो इतिहास कोरीरहे।
गंगाप्रसादको जन्म काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाइ १८५१ अर्थात वि.स.१९०८ अषाढ २२ गते भएको थियो। बुबा रूपनारायण र माता राजमती प्रधानका कान्छो छोरा थिए। – सबैका प्यारा थिए। उनका जेठा दाजु प्रभुनारायण र दुइ दिदिहरू सँगै थिए। त्यसवेलाको देशका राणाकालिन राज्यले जनताहरूलाई देश निकाला गर्ने अनेकौ वहानामा डर र धम्की दिन्थ्य। वाध्यता वश विदेशीनु पर्ने परिवन्धमा उनका दाजु नेपालको पूर्वहुदै दार्जिलिङ पुगे। जेठो छोरो विदेशीएको केहि बर्षपछि नै राजमति प्रधानको देहान्त भयो। परिवारमा ठूलो चोट परेकाले जीवन साह्रै अध्यारो भयो। प्रभुनारायणले आफ्नो परिवारलाई पनि दार्जिलिङ मै आउनु भनी समाचार पठाएकाले। गंगाप्रसाद नौ वर्षआठ महिनाको उमेरमा आफ्नो परिवारसँगै पहाडको रानी दार्जिलिङ २९ मे, १८६१का दिन आइपुगे। नेपाल देशको राजनैतिक वातावरण सारा जनताको लागि स्वतन्त्र र सरल थिएन। एकतन्त्रे राज्य शासन चलाईरहेका राणा शासनको निरङकुश र अत्याचार पचाउन नसकी रूपनारायण हनुमानढोकामा द्वारेको जागिरबाट अवकाश दिएर सपरिवार मुग्लान हानिएका थिए। आमाको छिटै निधनले गंगाप्रसाद टुहुरो भए। फलस्वरुप धेरै वर्षधोको पुग्नेगरी आमाको माया संगाल्न पाएनन्। दुइ दिदिहरू पछि जन्मेको मूल्याहा साथै उनको जन्मपछि आमाको मृत्यु भएका हुनाले अलच्छिन छोरोको उपनाम गंगाले कमाएका थिए। साथीभाइको हेपाइ र तिक्तवाणरुपी भनाईलाई आमाको प्यारो मायासँग सम्झौता गरी मनलाई बहलाउँने गंगाप्रसादको जीवन सानीआमाको आगमनसँगै थप कष्टकर र दुःखदायी बन्न पुग्यो। त्यही गींग कमानमा १९ बर्षो उमेर सम्म चियाका बोटहरूसित कसिलो मायाप्रीति गाँसे झै पत्ती टीपीरहे, मुना केलाई रहे। चियाका बोटसँग आफ्नो बानी बसाले। चियाका रङ्गसँग आफ्नो जीवनलाई रङ्गाए र स्वादिष्ट पारीरहे। गंगाको परिवारलाई आर्थिक अभावले नराम्रोसँग खेदेको कारण उनको लागि अध्ययन भन्ने कुरा ‘मनको लड्डु घिउसँग खाए’ सरी थियो। उनले कहिलेपनि पढाइबारे सोच्न समेत भ्याएनन्। काम गर्ने ठाउँमा भएको असमानताको विरोध गर्दै स्कूलतिर हानिएँ। उन्नाइस वर्षीय लाठे जवान सरासर पादरी मेकफर्लेनको शरणमा पुगी आफ्नो अध्ययन गर्ने तीव्र चाहानालाई उनको सामु विन्ती विसाए। गंगाप्रसादको जीवनले नयाँ मोड लियो। “जहाँ इच्छा त्यहाँ उपाय” भने झैं साउँ अक्षर टपक्क टिप्न र खुट्याउन उमेरले छेक्न सकेन। मेकफर्लेनको स्कूलमा भर्ना भए। जुन दिन ४ जुलाई, १८७० अर्थात उनको १९ औं जन्मदिन थियो। सानीआमाले थाहा नपाउने गरी सुटुक्क किताव किन्न भाउजुले मद्दत गरकी थिइन्। निरन्तर घरको सम्पूर्ण काम सकेर अध्ययनमा समय दिएको कुरा सानीआमाले थाह पाएर गाउँले समेत उठाइन र पढ्न नदिने षड्यन्त्र रचीन। दिनरातका कचकच र टोकसोलाई सहन नसकी एक महिनामै उनले स्कूल छोडे। पुस्तकलाई एकातिर पन्छाएर उनी फेरी चिया बगानमा चियाको पत्ती टिप्न विवश भए। तीन महिनापछि घरैमा मेकफर्लेन खोज्दै खोज्दै आईपुगे। पादरीले भने यदी स्कूल पठाएमा पढाउने र खाना खुवाउने जिम्मा लिने वाचा बाँधे। त्यपछि पढाइप्रतिको उत्प्रेरणा पुनः जाग्यो। बलपूर्वक दबाइएको उनको चाहनामा फेरि आशा पलायो। उनी पुनःउत्साहीत हुदै भोलिपल्ट देखि स्कूल जाने कुरा बुवालाई अनुरोध गरे। मंगलबारदेखि स्कूल जानको लागि स्वीकृति पाए। उनी पुनः स्कूलमा पढ्न पुगे। यो २ अक्टोबर १८७० को दिन थियो। नौ महिना स्कूल पढेपछि एक दिन कक्षा एकका शिक्षक अनुपस्थित भएकाले म्याकफार्लेनले सो कक्षा पढाउने जिम्मा गंगाप्रसादलाई दिए। कक्षाका शिक्षक भोलिपल्ट, पर्सिपल्ट गरी एकमहिना सम्म अनुपस्थित भएकाले नयाँ महिना देखि उनी नै शिक्षक भए। उनको शैक्षिक योग्यता कक्षा एक भएता पनि उमेर र अनुभवीका कारण शिक्षकको गरिमामय पदमा आसिन भए। चारबर्षसम्म शिक्षकको जागिर खाएका थिए। यसैबीचमा एकदिन गंगाप्रसादले इर्साई शिक्षकबाट परमेश्वरको जिउँदो वचन सुन्ने सुअवसर प्राप्त गरे। हुन त उनी सानै देखि धार्मिक प्रवृतिका व्यक्ति थिए। सत्यको गुदी चाख्नेव खालका थिए। जिउँदो परमेश्वरको नौलो खबर र येशूखीष्टको दुःख र क्रूशिकरणको अर्थ थाह पाउदा तीन छक परे। येशू नै पुनरुत्थान र जीवन हुनुहुन्छ भन्ने कुराले उनको हृदय उथलपुथल भयो। “मानिसले सारा संसार हात पारेर आफ्नो आत्मा गुमायो भने त्यसलाई के फाइदा -“बाइबलमा उल्लेखित यो पदले उनलाई येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्न लगायो । तर त्यस समयमा ख्रीष्टयन हुनु ‘फलामको चिउरा चपाउनु ‘ सरह थियो। वप्तिस्मा लिन र दिन मुस्किल थियो। त्यसपछि भागेर अलाहाबाद पुगी २४ जनवरी १८७५ मा पादरी बिनकूपबाट बप्तिस्मा लिए। त्यसबेला सम्म कुनै पनि नेपालीले इर्साई धर्म ग्रहण गरेका थिएनन्। कारण ग्रहण गर्नेहरूलाई किरिया गरिन्थ्यो, मरेकै बराबर गरिन्थ्यो, पानी वाहेक, घर निकाला र समाजबाट बहिस्कार गरिन्थ्यो। तर उनले येशूख्रीष्टको दुःखलाई नै रोजे। ग्रहण, बप्तिस्मा र सेवकाइमा लागि परे। त्यसको करिब एक वर्षछि उनको विवाह एलिजाबेथ राईसँग भयो र उनीहरूको २ छोरा र ६ छोरीहरू जन्मिए।)
आफूले पाएको सत्य ख्रीष्टबारे अरुलाई पनि बताउन, सुसमाचारको दर्शन झन झन वृद्धिहुदै गयो। सन् १८७५ देखि एक सक्रिय अनुवादकका रुपमा र खासगरी बाइबल सम्वन्धि पत्रपत्रिका तथा पुस्तकहरूको अनुवादकार्यमा व्यस्त भए। यस समय देखि १८९० का वीचसम्म उनी बाइबलका शिक्षक, मण्डलीका पहिलो पङ्क्तिका अगुवा र प्रवक्ता भएर रहे। १ अप्रिल १८९४मा सम्पूर्ण बाइबललाई नेपालीमा भाषाअनुवाद गर्नका निम्ति उनको नाउँ ‘द ब्रिटिस एण्ड फरेन बाइबल सोसाइटी’ ले आधिकारीक रुपमा सिफारिस गरेबाट यस तथ्यको पुष्टि हुन्छ। गंगा प्रसादको अथक परिश्रम र समर्पण नेपाली बाइबल सन् १९१२ मा तयार भयो। अनुवादको काममा मिसनेरी पादरी र्टनबुल र किल्गोर जस्ता ग्रीक र हिब्रु भाषाविदहरूबाट पनि सहयोग पाए। यसरी किङ्ग जेम्स भर्सनको विलकुल हुबहु अनुवाद १९१४मा कलकत्ताबाट प्रकाशित भएर आइपुग्यो। यी नै नेपाली बाइबलबाट लाखौ नेपालीले जीवनको पानी पिए। जीवनको पुस्तकमा लाखौलाख मानिसहरूले आ-आफ्नो नाम लेखाउन सफल भए। नेपाली भाषामा गंगाप्रसादको शीर्ष योगदान बाइबल जस्तो महान् ग्रन्थलाई नेपाली भाषामा तर्जुमा गर्नु जस्तो अर्को योगदान अरु हुन सक्दैन। सन् १९०१ अर्थात ५० बर्षे उमेरमा गंगाप्रसादलाई पादरीको पदभारमा अभिषेक गरियो। नेपाली भाषामा पवित्र धर्मशास्त्र बाइबल अनुवाद गरी प्रकाशन हुनुले आज पनि पादरी गंगाप्रसाद हामी विचमा बोलीरहे झै लाग्छ। १८ बर्षे साधना र अथक परिश्रमले उनलाई नेपाली बाइबल अनुवादका साधक र महारथि बनाएको छ। यो ग्रन्थ बाहेक पनि २० वटा भन्दा बढी पुस्तकहरू एकल वा संयुक्त रुपमा अनुवाद गरेकाछन्। अनुवाद र प्रकाशनमा उनको योगदान विशिष्ट र प्रथम पंक्ति मै पर्दछ।
पादरी गंगाप्रसाद प्रधानको दोस्रो ठूलो योगदान ‘गोर्खे खबर् कागत्’ मासिकको प्रकाशनलाई लिन सकिन्छ। प्रधानले स्कटीस मिशन ओर्फेज प्रेसलाई सन् १९०१ मा खरिद गरेर यो प्रेसलाई ‘द गोर्खा प्रेस’ भनेर नामाकरण गरे। उनले यो परिवर्तन आफ्नो जातीय पहिचानको दायरालाई फराकिलो र नेपाली अस्तित्वलाई चम्काउने हेतुले गरेको भन्न सकिन्छ। उनको यो कदम प्रशंसनीय थियो। प्रेस खरीद गर्नु नै प्रधानको दुरदर्शिताको पहल थियो। एउटा महत्वपूर्ण बुद्धिमानी साथै साहसिक कदम उनले उठाएँ। यसले व्यवसायिक रुप पनि लियो। आयस्रोतको साधन र केही व्यक्तिहरूको रोजगारीको थलो पनि भयो। जे होस् नेपाली भाषा साहित्य र पत्रकारिता प्रकाशनमा यो प्रेस र गंगाप्रसाद महत्वपूर्ण कोशेढुङ्गा बनेँ। यो १ जनवरी, १९०१ मा ‘गोर्खे खबर कागत्’ प्रकाशन शुरु भएको समाचारप्रधान मासिक पत्रिका जीवन पर्यन्त सम्म प्रकाशनमा आएको बुझिन्छ। यो पत्रिका नियमित रुपमा उनको आफ्नै स्वामित्वमा रहेको छापाखाना ‘द गोर्खा प्रेस’ बाट प्रकाशित हुन्थ्यो। आठ पृष्ठमा प्रकाशित ‘गोर्खे खबर कागत्’ को आधा भाग अथवा चार पृष्ठमा निम्न शीर्षक अर्न्तगत खबरहरू छापिन्थे – स्थाने, दिहाते देशान्तरे। यी समाचारहरू स्थानीय दार्जीलिङ जिल्ला, पूर्वी र पश्चिमी हिमाली क्षेत्र, भारत र भारतबाहिरबाट संकलन गरिएका हुन्थे। समाचार पत्रको मुखपृष्ठ र भित्री मुखपृष्ठमा सो महिनाको पात्रो, मण्डली सम्वन्धि सूचना र लेख छापिन्थे। बाँकी अन्तिम दुइ पृष्ठहरूमा विभिन्न आकर्ष विज्ञापनका सामग्रीहरू हुन्थे। यस बाहेक पत्रिकामा कविता, जीवनी,संस्मरण, यात्रावर्णन शिक्षामूलक लेखप्रविधि रचना पनि प्रकाशित हुनेगरेको थियो। गंगाप्रसाद आफैले पनि विभिन्न कथा, गीत, लेखहरू लेखी छाप्थे। हाल सत्र ओटा अंक मदन पुस्तकालय, ललितपुर नेपालमा कमलमणि दिक्षितले दर्ता गरी राख्नुभएको छ। यो पत्रिका नेपाली भाषामा प्रकाशित भएता पनि यसको उद्देश्य चाहीँ इसाई धर्म र आस्थालाई प्रचार गर्नु पनि थियो। यो पत्रिका इसाई सिद्धान्त, आस्था र केहि मौलिक भाषाकै कारण ओजेल पारिनुहुदैन भन्ने मेरो व्यक्तिगत चिन्तन छ। अनि खरो आक्रोश छ।
अब कुरा गरौ गोरखापत्रको। नेपालको जेठो प्रकाशन नभएर एसियाकै जेठो प्रकाशन संस्था बनेको छ। अखवारी इतिहासको गौरव बनेको गोरखापत्र नेपालको पुरातात्विक सम्पदाको रुपमा राष्ट्रकै सम्पति बनिसकेको दावि गरीरहेको छ। तर पादरी गंगाप्रसाद प्रधानले सम्पादन तथा प्रकाशन गरेका ‘गोर्खे खबर कागत्’ पत्रिका नेपालको ‘गोरखापत्र’ भन्दा ४/५ महिनाले जेठो छ। एकै बर्ष शुरुभएका पत्रिका भए पनि वर्तमान समयमा अस्तित्व विहिन भएर वस्नुपरेको छ। यो विषयमा खण्डन गर्ने, विश्लेषण र शंश्लेषण गर्नु अपरिहार्य छ। वि.सं. १९५८ जेठ ३ गते सोमबार देखि गोर्खापत्र साप्ताहिकको प्रकाशन शुरु भएको थियो। -जसमा हाते प्रेसबाट जम्मा १००० प्रति मात्र छापिन्थ्यो। पछि वि.सं.१९६८ देखि इलेक्टि्रक प्रेसबाट छापिएको थियो। गोर्खापत्र २००० साल असोज २९ गतेदेखि हप्तामा दुइ पटक, २००३ साल पौष ८ गतेदेखि हप्तामा तीन पटक र २०१७ साल फागुन ७ गतेबाट दैनिकरुपमा प्रकाशन हुन थालेको हो। वि.स. २०१९ साल चैत्र ३० गते गोरखापत्र कर्पेशन ऐन २०१९ जारी गरी २०२० साल अषाढ २५ गते गोरखापत्र कर्पोरशनको विधिवत स्थापना गरिएको थियो। त्यस पश्चात शनिबारीय परिशिष्टाङ्क, प्रकाशन भयो। २०२२ पौष १ गते देखि ‘दि राइजिङ्ग नेपाल’ अंगे्रजी दैनिकको प्रकाशन शुरु गर्यो। त्यसैगरी २०२५ सालदेखि मधुपर्क साहित्यिक मासिक हालै (मात्र ५०५ अंक प्रकाशन गरिसकेको छ), २०४५ सालदेखि युवामञ्च मासिक, २०४७ साल बैशाख देखि अंग्रेजी साप्ताहिक सण्डे डिस्प्याच र सोहि साल पुषदेखि मुना बालमासिक एवं २०५५ साल बैशाखदेखि मनोरम अप्सरा प्रकाशन गर्न थालिएको छ।)
हाल गोरखापत्र प्रकाशन, संस्थान र पब्लिसिङ हाउसका रुपमा अगाडि बढेको छ। समय सापेक्ष यसको विकास र प्रगति भैरहेको देख्दा उता गंगाप्रसाद प्रधान र उनको पत्रकारितालाई इतिहासको गर्भमै तुइयाउन खोजेको भान हुन्छ। पादरी गंगाप्रसादको पत्रकारिता -प्रकाशनको यात्रा वर्तमानको जस्तो सेवासुविधा युक्त उपकरणहरू थिएन। प्रशस्त विश्वासी र मण्डलीहरू थिएनन्। तर पनि निरन्तर प्रकाशन गरीरहे। यसको साथसाथै त्यसताका दार्जिलिङमा हिन्दी भाषाको माध्यमबाट पढई हुन्थ्यो। उनले नेपाली भाषामा स्कूलका निम्ति प्राथमिक र केही सहयोगी पुस्तकहरू तयार गरे उनको भाषा र अनुवाद कार्यमा उसबेलाको दार्जीलिङे चलनचल्तीको भाषा र शब्दहरूको प्रयोग गरी झण्डै २८ वटा पुस्तकहरू लेखे अनि आफ्नै प्रेसबाट छापे। -उनका केहीकृतिहरू ‘पुरुष्हरू र अस्त्रीहरूका बप्तिस्माको रीत्’, ‘बाईबल्को हाड्’, ‘प्रभुभोज्’, ‘स्कूल सोध्नुत्तर’, ‘उखानको पोस्तक’, ‘सैद् भन्न्ये मान्छेको रेशमी बुनाईको काम्को विषयमा’, ‘बांस्को कथाहा’, ‘एक बटौरे साथी’, ‘आलिबेन ओमेर नाउँ भएको मान्छेको ऋणको विषयमा’, ‘नैटिंगेल अर्थात् मीठो गीत गाउने चराको विषयमा’ र ‘हाँसको नराम्रो चल्लाको कथा’ उनका अरु प्रमुख रचनाहरू हुन्।) यसैगरी उनले आत्मकथा, लेख र अरु कथाहरू पनि लेखेका छन्। नेपालीमा पाठ्यपुस्तक लेख्ने, बाइबल अनुवाद गर्ने,पहिलो नेपाली पादरी (पाष्टर) , पत्रिका सम्पादक तथा प्रकाशक उनी नै भए। त्यसैले पादरी गंगाप्रसाद प्रधानलाई बहुआयामिक क्षेत्रका साधक भनी सम्वोधन र उहाँको जन्मजयन्ती मनाउन किन हिचकिचाउने?
उनले मण्डलीको जिम्मेवारी र प्रतिष्ठित पदभारबाट बीस बर्षसेवारत रहेर १९२१ मा अवकाश ग्रहण गरे। ७० बर्षो उमेरमा अनवरत रुपमा छापाखानाका उद्यमी,मालिक-कामदारका साथै ‘गोर्खे खबर् कागत्’को लगनशील, समर्पित प्रकाशक,सम्पादक र संरक्षकको भूमिकामा कमिला र मौरी जस्तै कर्मयोगी भई शेष जीवनकाललाई उपयोगी बनाए। उनको परिवार संयुक्तरुपमा वस्थ्य। त्यसको पारिवारीक आर्थिक भार बढी उनकै काँधमा थियो। उनको आफ्नो निजी घर र जमिन केहि थिएन। उनको सन्ध्याकालीन जीवनमा धेरै उतारचढाव रहेको थियो। साहेद उनको अन्तिम सम्पादकीय कति हारगोहार मिश्रति सुस्केराहरू थिए होलान। उनका शुभचिन्तक पाठकहरूका चिठीहरू कसले पल्टाए होलान? पत्रिकाले जन्माएका नयाँ लेखकहरू विचल्लीमा परे होलान्। आफ्नो मृत्यु पछि आफ्नी धर्मपत्नीलाई के हुने हो सोबारे प्रधानलाई निकै ठूलो पीर थियो। उनले भन्ने गर्थे “म त प्रभुकहाँ जाँदैछु, तर धमालाई के हुने हो थाहा छैन। तिमीहरू सबैले उनको याद गर्नु …” भन्नुहुन्थ्यो रे। पारिवारिक आर्थिक स्थिति सन्तोषजनक थिएन। आफ्नै घर समेत थिएन। उनको स्वार्थ भनेको गोर्खालीहरूको निःस्वार्थ सेवा थियो। अन्ततः पादरी गंगाप्रसाद प्रधानको स्वर्गे २८ मार्च, १९३२ का दिन दार्जीलिङमा ८१ बर्षो उमेरमा भयो। त्यो समयमा गाडिएका उनी गाडिएको गाडिकैं भए। आदिकवि भानुभक्त आचार्यको झै पादरी गंगाप्रसादको मोतीराम भट्टको ठीक समयमा उदय भएन। यसैकारण उनको मृत्युभएको ४३ बर्षसम्म केही खोजखबर भएन। किन भएन यो एक तितोसत्य इतिहास केलाउनै पर्नेहुन्छ। जे भएतापनि हामीले तिर्न नसकिने ऋण अनि बाडुली लागिरहने सम्झना छाडी उनी स्वर्गे भए। उनको मृत्यु भएको चार दशक पछि ४ जुलाई १९७५ मा पादरी गंगाप्रसाद प्रधानको १२४ औं जन्मजयन्ती पहिलो पटक मनाइयो। त्यसपछि यदाकदा मनाइदै आएको देखिन्छ।
पत्रकारिता राज्यको चौथो अङ्ग मानिन्छ। जसले देशविकास र निमार्णमा सशक्त भूमिका खेल्न सक्छ। समाज रुपान्तरणका सन्देशवाहक क्षेत्र पत्रकारिता बनेको छ। अनि पत्रकारहरू समाज र देशको अग्रदूतहरू हुन् भन्ने प्रमाण हामीले गंगा प्रसाद प्रधानको प्रत्रकारितामा दिनुभएको योगदानलाई सजिलै मनन गर्न सक्छौं। उहाँका योगदान हाम्रो निम्ति एउटा गाडधन झैं भएको छ। उहाँको सम्मानस्वरुप उहाँको जन्मजयन्ति मनाउन पाउनु हाम्रो निम्ति गर्वको कुरो हो। उहाँको त्यो विविध पक्षको निरन्तर साधना र उपासना प्रति कृतज्ञ छौं। उहाँको नाउँमा लेखिएका पुस्तक, विशेषाङ्क, सोधपत्र,स्मृतिग्रन्थ र मनोग्राफले वर्तमानमा उहाँलाई उज्यालोमा ल्याउँने र भविश्यको लागि इतिहास बनाइरहने छ। उहाँको नाउँमा स्थापना भएका पादरी गंगाप्रसाद प्रतिष्ठान, जन्मजयन्ति समारोह, जन्मजयन्ति पुरस्कार गुठी, लोचनगर पथलाई पादरी ‘गंगाप्रसाद पथ’ नामाकरण, कबरस्थानको पुननिर्माण, स्मारक र गींग मण्डली भवनलाई ‘गंगाप्रसाद प्रधान स्मारक मण्डली’ को नामाकरण गराई आदि कुराले हामी श्रधा गरिरहेकाछौ। त्यसैगरी अब उहाँको नाउँमा स्कूल, मिसन, प्रकाशन,गीति एल्वम, वृत्तचित्र र चलचित्र निमार्णकारी उनको परिचय नेपाली संसारमा प्रकाशमा ल्याउनु हाम्रो दायित्व हो। उनले हामीलाई लगाएको गुण त तिरी सक्दैनौ तर उहाँलाई दिनको उज्यालोमा ल्याउने विभिन्न कार्यक्रमहरू गर्न त अवश्य नै सक्छौ नि होइन र नेपाली भाषामा रामायण उल्था गरेको कारण आज हामी भानुभक्त आचार्यलाई नेपाली भाषाको आदिकवि भनेर चिन्छौं र प्रत्येक बर्षभानु जयन्ती मनाउछौ। तर गंगाप्रसाद जसले सिंगो बाइबल नै उल्था गरे। नेपाली वाङ्मय-साहित्य, पत्रकारिता-प्रकाशन, अनुवाद, शिक्षा र परमेश्वरको विश्वमिसन दर्शनमा पुर्याएको योगदान छ। जसको बारेमा सम्झना समेत गरीदैन र उनका रचनाहरूलाई किन छायामा पारियो र उनलाई इसाई समुदाय र राष्ट्रले अझै पनि गहनाको रूपमा स्वीकार गर्न नसक्नुको पछाडि के कारण छ भनी खोज्नु जरुरी भएको छ। त्यसैले आजसम्म जति नेपाली इसाई पत्रपत्रिका र पुस्तकहरू लेखेर प्रकाशन भए प्रत्यक्ष वा अप्रत्यक्षरुपमा उनै पादरी गंगाप्रसादको देन र प्रेरणा हो। नेपाली इसाई जगतमा रहेका अग्रज स्रष्टा, लेखक,पत्रकार, सम्पादक, प्रकाशक, समाजसेवी, मिशनेरीहरूको योगदान र कृतिहरूको जर्गेना गरौं। ताकी भोलीको सुनौलौ इतिहास बनाऔं। आजको संकलन गरिएका अभिलेखहरू नै एक दिन इतिहास बन्दछन्। पादरी गंगाप्रसाद प्रधानको ३२ बर्ष पत्रकारिता-प्रकाशनको महान् यात्रामा हिमश्रृंखलाका कञ्चन हिमनदीहरू अविरल बगाइरहे। जीवनको अन्तिम स्वास सम्मै पवित्र कलम घोटिरहे। जीवनको पानी पिलाइरहे। बहुआयामिक व्यक्तित्व र प्रतिभाका साधक बनिरहे। चम्किलो तारा झै चम्किरहे। तर हामीले भने उही बहुआयामिक व्यक्तित्व र साधक पादरी गंगाप्रसाद प्रधानलाई विभिन्न वहानामा लुकाइराख्यौं, छिपाइराख्यौं लाजै नमानि।
समाप्त
सर्न्दर्भ सामग्री
• अधिकारी हेमाङ्गराज (प्र.सं.) र भट्टराई वद्रीविशाल(सं), प्रयोगात्मक नेपाली शब्दकोश-२०६८
• कार्थक शलोन, पादरी गंगाप्रसाद प्रधानका उपलब्ध रचनावली
• कार्थक शलोन, पादरी गंगाप्रसाद प्रधानको जीवन बखान
• देवकोटा केशबराज, सञ्चारमाध्यको संगठन र व्यवस्थापन सिद्धान्तहरू
• राई राजु (सं) भेटघाट रजत जयन्ती विशेषाङ्क २००८ बर्ष२५ पूर्णाङ्क ७४
• राई राजु, पाद्री गङ्गाप्रसाद प्रधान र अस्पष्ट कुराहरू
• श्रेष्ठ श्रीओम (नि.सं.) मधुपर्क मासिक बर्ष४३ अङ्क ९: पूर्णाङ्क ५०० २०६७ माघ
लेखक परिचय
नाम :समय कुमार रम्तेल
मण्डली : सियोन रोफेका ए.जी. मण्डली नाला – ४, काभ्रे
ठेगाना : उग्रचण्डी नाला -४, काभ्रे
मोवाईल नं. :९८४१४२९८१६
कार्यालय :सहयोग र सरोकार धुलिखेल – ५, काभ्रे
हुलाक :पो.ब.न. २००५५, काठमाडौं
नोट: ४ जुलाई २०११ मा स्व. पादरी गंगाप्रसाद प्रधानको १६० औ जन्मजयन्तिको उपलक्ष्यमा क्यानद्धारा आयोजित निवन्ध प्रतियोगितामा प्रथम हुन सफल लेख ।
Republished in new layout on 8/7/2013
Discussion about this post