१० असोज,काठमाडौ । प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएपछि प्रधानमन्त्री पदको लागि लामो कसरतपछि व्यवस्थापिका संसदमा आइतबार आठौँ चरणको निर्वाचन हुँदैछ। यसअघि सात पटकसम्म भएको निर्वाचनमा सभासदहरूले नयाँ प्रधानमन्त्री चयन गर्न नसकेपछि आठौँ चरणको निर्वाचन हुन लागेको हो। यसअघि सातौपटकसम्म पराजित भएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पुन निर्वाचनमा भाग लिदै छन्।
नेकपा एमाले अहिलेसम्म तटस्थ बस्दै आएको छ भने अब नयाँ तरिकाले अगाडि बढ्नुपर्ने भन्दै एकीकृत नेकपा माओवादीले भने आइतबारको निर्वाचनमा भाग नलिने बताउँदै आएको छ। एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच भएको सहमतिअनुसार आइतबारको निर्वाचनमा दुवै दल सहभागि नहुने भनिए पनि अहिलेसम्म अध्यक्ष प्रचण्डको उम्मेद्वारी वैधानिकरुपमा फिर्ता भइसकेको छैन। आइतबारको निर्वाचनमा माओवादीले उम्मेद्वारी फिर्ता नलिए फेरि दुइ प्रत्यासीहरूबीच प्रतिस्पर्धा हुनेछ भने माओवादीको उम्मेद्वारी फिर्ता भएमा काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलका लागिमात्र निर्वाचन हुनेछ। माओवादीको उम्मेद्वारी फिर्ता भएपछि पनि नेपाली काङ्ग्रेस संसदीय दलका नेता पौडेललाई प्रधानमन्त्रीमा निर्वाचन हुनका लागि संसदमा बहाल सदस्यहरूको स्पष्ट बहुमत आवश्यक पर्छ। त्यसका लागि नेकपा एमाले, मधेसी मोर्चालगायत अन्य साना दलहरूको पनि मत आवश्यक पर्छ। एमालेले अहिले बहुमतीय प्रक्रिया अस्विकार गर्दैआएको र केहि अन्य साना दलहरूले पनि माओवादी र एमालेले ल्याएको प्रस्तावमा सहमति जनाइसकेकाले प्रत्यासी रामचन्द्र पौडेल प्रधानमन्त्रीमा निर्वाचित हुने सम्भावन क्षीण रहेको छ। संसद बैठक संविधानसभा भवन नयाँ वानेश्वरमा दिउसो ३:०० बजे बस्दैछ ।
Republished in new layout 7/9/2013
Discussion about this post