०३ मंसिर २०८३, बिहीबार
काठमाडौं । हलिउडका चर्चित बेलायती अभिनेता रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड बन्ने भएका छन्। अमेजन एमजीएम स्टुडियोले सोमबार प्याटिन्सनलाई विश्वचर्चित जासुस पात्र ‘एजेन्ट ००७’ को भूमिकामा छनोट गरिएको औपचारिक घोषणा गरेको हो। उनले यसअघि जेम्स बन्डको भूमिका निर्वाह गरेका ड्यानियल क्रेगको स्थान लिनेछन्।
नयाँ भूमिकाबारे प्रतिक्रिया दिँदै प्याटिन्सनले जेम्स बन्डको चरित्र आफूलाई सुम्पिनु जीवनकै सबैभन्दा ठूलो सम्मान भएको बताएका छन्। उनले यो भूमिका आफ्नो सपना पूरा भएजस्तै भएको उल्लेख गर्दै निर्देशक डेनिस भिलेन्युभ, निर्माता तथा अमेजन एमजीएम स्टुडियोप्रति आभार व्यक्त गरेका छन्।
‘जेम्स बन्ड सिनेमा इतिहासकै सबैभन्दा चर्चित पात्रमध्ये एक हुन्। मलाई ००७ को भूमिका सुम्पिनु जीवनकै सबैभन्दा ठूलो सम्मान हो,’ प्याटिन्सनले आफ्नो प्रतिक्रियामा भनेका छन्।
४० वर्षीय प्याटिन्सन जेम्स बन्डको भूमिका निर्वाह गर्ने सातौँ अभिनेता हुनेछन्। यसअघि सन् कोनेरी, जर्ज लेजेनबी, रोजर मुर, टिमोथी डाल्टन, पियर्स ब्रोसनन र ड्यानियल क्रेगले यो भूमिका निभाइसकेका छन्। क्रेगले सन् २००६ मा ‘क्यासिनो रोयाल’ बाट बन्डको भूमिका सुरु गरेका थिए। सन् २०२१ मा प्रदर्शन भएको ‘नो टाइम टु डाइ’ उनको पाँचौँ तथा अन्तिम बन्ड फिल्म थियो।
नयाँ बन्ड फिल्मको निर्देशन डेनिस भिलेन्युभले गर्नेछन्। ‘ड्युन’ शृंखलाका फिल्म तथा ‘अराइभल’ निर्देशन गरेका भिलेन्युभले प्याटिन्सनमा बन्ड पात्रको परम्परागत आकर्षणसँगै नयाँ ऊर्जा रहेको बताएका छन्। फिल्मको पटकथा बेलायती लेखक स्टिभन नाइटले लेखिरहेका छन्। उनी ‘पिकी ब्लाइन्डर्स’ शृंखलाका निर्माता तथा लेखकका रूपमा पनि परिचित छन्।
निर्माता एमी पास्कल र डेभिड हेम्यान रहने फिल्मको कार्यकारी निर्माण तान्या ल्यापोइन्टले गर्नेछिन्। यो जेम्स बन्ड शृंखलाको २६औँ फिल्म हुनेछ। फिल्मको आधिकारिक नाम र प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। निर्माण कार्य सन् २०२७ मा सुरु हुने अपेक्षा गरिएको छ।
प्याटिन्सनले सन् २००५ मा प्रदर्शन भएको ‘ह्यारी पोटर एन्ड द गोब्लेट अफ फायर’ बाट ठूलो पर्दामा पहिचान बनाएका थिए। त्यसमा उनले सेड्रिक डिगरीको भूमिका निर्वाह गरेका थिए। त्यसपछि ‘ट्वाइलाइट’ फिल्म शृंखलामा एडवर्ड कलनको भूमिका निभाएपछि उनी विश्वव्यापी रूपमा चर्चित बने।
उनले पछिल्लो समय फरक प्रकृतिका फिल्ममा अभिनय गर्दै आफ्नो कलाकारिता विस्तार गरेका छन्। ‘गुड टाइम’, ‘द लाइटहाउस’, ‘टेनेट’ र ‘मिक्की १७’ उनका चर्चित फिल्म हुन्। सन् २०२२ मा प्रदर्शन भएको ‘द ब्याटम्यान’ मा उनले ब्रुस वेन अर्थात् ब्याटम्यानको भूमिका निभाएका थिए। आगामी ‘द ब्याटम्यान पार्ट टु’ मा पनि उनी यही भूमिकामा देखिनेछन्।
प्याटिन्सनको छनोटसँगै लामो समयदेखि चल्दै आएको नयाँ जेम्स बन्डबारेको अड्कलबाजी पनि समाप्त भएको छ। यसअघि क्यालम टर्नर, जोस ओ’कोनर, ज्याक लोडेन र निकोलस होल्टको नाम सम्भावित कलाकारका रूपमा चर्चामा थियो। अन्तिम छनोटमा आफूलाई पाएको अवसरलाई प्याटिन्सनले आफ्नो अभिनय यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।
नयाँ जेम्स बन्ड फिल्म यस शृंखलाका लागि अर्को महत्त्वपूर्ण मोड पनि हो। सन् २०२५ मा लामो समयदेखि बन्ड फिल्मको सिर्जनात्मक नियन्त्रण सम्हाल्दै आएका बारबरा ब्रोकोली र माइकल जी विल्सनले आफ्नो अधिकार अमेजन एमजीएम स्टुडियोलाई हस्तान्तरण गरेका थिए। त्यसपछि नयाँ बन्ड छनोट गर्ने र आगामी फिल्मको सिर्जनात्मक दिशा तय गर्ने जिम्मेवारी अमेजनको नेतृत्वमा पुगेको हो।
सन् १९६२ मा ‘डाक्टर नो’ बाट सुरु भएको जेम्स बन्ड फिल्म शृंखला विश्व सिनेमाको सबैभन्दा लामो समयदेखि चलिरहेका र व्यावसायिक रूपमा सफल शृंखलामध्ये एक हो। बेलायती लेखक इयान फ्लेमिङका उपन्यासमा आधारित यस शृंखलाका फिल्मले विश्वभर सात अर्ब अमेरिकी डलरभन्दा बढीको व्यापार गरिसकेका छन्। प्याटिन्सनको प्रवेशले ६ दशकभन्दा लामो इतिहास बोकेको यो पात्रलाई नयाँ पुस्तामाझ कसरी प्रस्तुत गर्छ भन्ने चासो बढाएको छ।














Discussion about this post