
२० असोज २०८३, मङ्गलबार
काठमाडौं : नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। केन्द्रीय निर्वाचन समितिले मतदाताको अन्तिम नामावली प्रकाशन गरेसँगै महाधिवेशनमा भाग लिने प्रतिनिधिको कूल सङ्ख्या सात हजार ११४ पुगेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदाता नामावलीमा दाबीविरोध, जाँचबुझ तथा अन्तिम नामावली प्रकाशनका प्रक्रिया पूरा गरी आजै उम्मेदवार मनोनयन फारम वितरण र दर्ताको कार्यक्रम तय गरिएको छ।
यसैबिच, सोमबार सम्पन्न बन्दसत्रले पार्टीको विधान संशोधन गर्दै २९७ सदस्यीय नयाँ कार्यसमितिको व्यवस्था पारित गरेको छ। नयाँ विधान अनुसार नै महाधिवेशन प्रतिनिधिहरूले भावी नेतृत्व चयन गर्नेछन्। बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले आ-आफ्ना प्रतिवेदन पेस गर्नुभएको छ भने महाधिवेशनलाई मर्यादित र व्यवस्थित बनाउन बन्दसत्र तथा निर्वाचनस्थलमा दुई सयभन्दा बढी स्वयंसेवकहरू परिचालन गरिएको छ। देश तथा विदेशबाट काठमाडौँ आइपुगेका करिब साढे सात हजार प्रतिनिधिहरूको उत्साहजनक सहभागिताका बिच असोज २१ र २२ गते मतदान सम्पन्न हुने कार्यतालिका छ।
Discussion about this post