“आजको मण्डलीहरूमा संसार पसेको छ। हामी पस्नु पथ्र्यो संसारमा तर संसार मण्डलीमा पसेको छ।”
यो महान् वाणी सुदुरपूर्व खोलापारीका एक अद्भूत व्यक्तित्व साथै विलक्षण प्रतिभाका धनी डा. बि. डी राईको हो। उहाँ एक प्रचारक, शिक्षक, कवि, गीतकार, सङ्गीतकार, सरकारी कर्मचारी, पत्रकार, निबन्धकार, उपन्यासकार, अनुवादक, लेखक र कर्मठ व्यक्तित्व हुनुहुन्थ्यो, जसको पत्रै पत्रका बहुआयामीक पहिचानले लेपिएको परिचय नेपालका ख्यातिप्राप्त निबन्धकार शंकर लामिछानेको अमूर्त प्याज जस्तै थियो।
नेपाली इसाई साहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आउनुभएका डा. बि. डी राई बहुआत्मिक वरदानहरूले प्रज्वलित बाइबलीय शिक्षक हुनुहुन्थ्यो। उहाँ राम्रोसँग अ्ङग्रेजी बोल्न, लेख्न र अनुवाद गर्न पनि सक्नु हुन्थ्यो। आफ्नो मातृभाषा अलवा उहाँले मज्जाले हिन्दी र बङ्गाली बोल्न सक्नु हुन्थ्यो। तर मुख्य कुरा के भने उहाँसँग वचनको गहिरो ज्ञान र प्रकाश थियो। र त्यो नै उहाँको मूलभूत परिचय हो।
उहाँको जन्म ई.स. ९ अप्रील १९३४ कालेम्पुङ्गमा बुबा मोहनसिंह राई र आमा रनमायाको कोखबाट भयो। पाँच दाजु र एक दिदीका उहाँ कान्छा छोरा हुनुहुन्थ्यो। उहाँले एस.यु.एम.आईबाट आफ्नो प्रारम्भिक शिक्षा पुरा गरेर कृषी विभागमा सरकारी जागिर गर्नु भयो। पश्चिम बङ्गाल सरकारको सरकारी कृषी विभाग मै रहेर उहाँ कमिशन अफिसर हुँदै सब डिभिजन एग्रीकल्चर अफिसरबाट सेवानिवृत्त हुनु भयो। तथापि उहाँ सरकारी सेवामा संलग्न हुँदा पनि समयको पूरा सदुपयोग गर्दै प्रभुको सेवामा पूणर् रूपमा समर्पित हुनु हुन्थ्यो।
म्याकफार्लेन मेमोरियल चर्चको मुन्तीर मिसन कम्पाउण्डमा जन्मेर त्यही ईलाका वरीपरी हुर्केका बि.डी राईले ई.स १० फरवरी १९५६ मा प्रभुलाई निजी मुक्तिदाताको रूपमा ग्रहण गर्नु भएको थियो। र ई.स १९८० बाट औपचारिक रूपमा उहाँ पूणर्कालीन सेवकाइमा दत्तचित्तका साथ लाग्नु भयो। बाइबल पढ्ने उत्साह र उमङ्ग उर्लदो आँधी झैं मनबाट उर्लेपछि उहाँले ईश्वरशास्त्रको औपचारिक अध्ययन पुरा गर्नु भयो। एउटा अविस्मरणीय याद उहाँ यसरी सम्झनु हुन्छ, “एकपल्ट मैले १३ घन्टा सम्म बाइबल पढेको छु। तारिक पनि याद छ, ई.स २४ जुन १९८८। सुवास घिसिङ्गले आन्दोलन चलाएको समयमा।”
उहाँले ई.स १९८०-१९९३ सम्म स्थानीय मण्डली (प्रेस्विटेरीयन स्वतन्त्र) को एल्डरसिपमा रहेर सेवा गर्नु भयो। र १९९४ देखी चाहिँ पास्टर भएर उहाँ अन्तिम सास फेरूञ्जेल पास्टरीय सेवकाइमा सक्रिय हुनुहुन्थ्यो।
शैशवावस्थादेखी नै भजन रच्न र सङ्गीत भर्नमा होमिएका गीतकार तथा सङ्गीतकार बि.डी राईले हिन्दी र नेपाली भाषामा गरेर ७३ वटा भन्दा बढी भजनहरूको रचना र तिनीहरूमा सङ्गीत भर्नु भएको छ। विश्वभर छरिएर बसेका नेपाली भाषी मण्डलीहरूमा उहाँले रच्नुभएका केही भजन गीतहरू यस्ता छन्, जसका धुनहरू सबै विश्वासीको मुखमा आजपर्यान्त पनि कण्ठस्थ भइ झुन्डिएका छन्।
१. सुन हे जगका लोक
२. प्रभु जी अर्जी मेरो सुनी लेउ
३. अङ्ग प्रत्यङ्गका मालिक
४. मेरा व्यक्तिगत ईच्छाहरू
५. कति अच्चमको प्यार
६. आवाज दिइ नीरवतामा बोलाउने को हो ?
७. म मग्न रहन चाहन्छु
८. हेरन आकाशमा ताराको उज्यालो
९. हिँड्दा हिँड्दै बितीगए दिन साल महिना
उहाँले ख्रीष्टको निम्ती भजन रच्नुलाई लोकप्रियता र कला प्रदर्शनको लागि नभई भित्री हृदयको भक्तिभावले पूर्ण रूपमा ईश्वरप्रति समर्पित भइ केवल परमेश्वरको महिमाको लागि हुनुपर्ने कुरामा जोड दिनु हुन्थ्यो। अहिलेको पुस्ताले संसारको ढाँचामा आफैलाई बदल्न थालेपछि ख्रीष्टको निम्ती गीत गाउनु सस्तो लोकप्रियता भएको छ। अझ अहिलेको प्रतिस्पर्धात्मक बजारी भाषामा भन्ने हो भने को भाईरल हुने ? कस्को कति भिउज ? कति लाईक्स ? कती सेयर र सब्सक्राईब ? आदि कुराहरूको चर्चा परिचर्चा हुने गर्छ। यसरी विश्वासीहरू त्यो सामाजीक सञ्जाल हो की जञ्जालमा बेरिएर त्यसैको दास हुन पुगेका छन्।
भौतिक विलास र क्षणिक रमाइलोमा बढी आकर्षित हुने युवा पुस्ताले प्रभुको महिमाको लागि गरिरहेका दाबी केवल उत्तेजना र भावनाको अभिव्यक्ति मात्र हो। साँचो ख्रीष्टमा समर्पित सङ्गीतकारले नियतवस लोकप्रियताको लागि गीत भजन रच्दै रच्दैन र रच्नै हुँदैन भन्ने कडा मान्यता उहाँको थियो।
नयाँ पुस्ताले पश्चिमा सङ्गीतको रक विधालाई स्थानीय मण्डली हुँदै विभिन्न सभा सेमिनार र इसाई उत्सवका कार्यक्रममा अभ्यास गर्दै आएका छन्। तर ध्वनीको डिफेक्ट अर्थात आवश्यकता भन्दा अधिक बढी भोलुममा वाधवादन ठटाएपछि त्यो विधंशकारी भैदिन्छ। फलस्वरूप त्यो अव्यवस्थित ध्वनीलाई कानको सुक्ष्मताले ग्रहण गर्न सक्दैन, हृदय छुने त परै जाओस्। त्यो फगत चर्को हल्ला मात्र हुन्छ। त्यसैले ध्वनीले कहिल्यै पनि मूलस्वरलाई दबाउन दिनु हुँदैन। सकेसम्म कमभन्दा कम वाधवादनको प्रयोग गर्ने र गरिहाले पनि ध्वनीको मात्रा घटाउने अन्यथा मण्डलीमा हुने आरधना र स्तुति प्रशंसा केवल हल्लाहरूको ध्वनी मात्र हुन्छ, जसले शरीरलाई एकछिन त तताउला र जोशमा पनि ल्याउला तर आत्माको दियो निभेको छ भने ती बाहिरी क्षणीक जोश, उत्तेजना र हल्लाले भरिएको आवाजमा जीवन परिवर्तन र हृदय स्पर्शको कुनै सुगन्ध भेटिदैन। कृतीमता कतिञ्जेलसम्म टिक्छ ?
गीत रचनाको सन्दर्भमा उहाँ अझ भन्नु हुन्थ्यो कि तथाकथित शब्द मात्र थुपरेर गीत बन्दैन। शब्दले धुनसँग पनि तादम्यता राख्नु पर्दछ। त्यतिले मात्र पनि पुग्दैन। भक्तिभाव र समर्पणताले भरिएको जीवन हुनु पर्दछ। बोली वचन आचरण देखी शरीरमा पहिरने वस्त्र र प्रस्तुतीकरणमा एक उदाहरण र प्रभुको असल गवाही बनेको हुनु पर्दछ।
आजकल हाम्रा पुराना मौलिक पहिचानका भजनहरू मण्डलीमा त्यति गाइदैन। गाइहाले पनि लय, शब्द, घुन र उच्चारणमा स्पष्टता छैन। नेपाली भाषा बिगारेर विदेशी भाषाको नक्कल गरी जिब्रो बटारेर गाइन्छ। (छ) लाई (च), (र) लाई (रअ्) बोलिन्छ। उसो त गैरइसाईहरू अझै पनि हाम्रो विश्वासलाई विदेशी धर्म ठान्छन्। त्योमाथि विदेशी लवचको नक्कल गरेर हामीले हाम्रो मौलिकपना गुमाएका छौं, जुन ज्यादै दुःखको कुरा कुरा हो।
सङ्गीतप्रति गहिरो अभिरूची भएको कारण उहाँले आधारभूत स्टाफ नोटेशनको ज्ञान र शिक्षा विदेशी मिसनरी मिस मेगनाफ अनि मिस स्क्रिमजरबाट सिक्नु भयो। सुरूमा उहाँले पियानो र अरगेनमा स्टाफ नोटेशन लेख्न सिक्नु भयो। त्यसपछी चर्चमा सोल्फा नोटेशन पनि सिक्नु भयो। यसरी सङ्गीतको सैद्धान्तिक ज्ञान पनि उहाँमा थियो। तर उहाँले मौलिकता छाड्नुभएन। कता-कता उहाँका सङ्गीतमा रविन्द्रनाथ टेगोरका भक्ति सङ्गीतका साथै भारतीय प्रख्यात सङ्गीतकारद्धय शंकर जयकिस, क्लासिकल सङ्गीतकार एस.डी वर्मन र नौसातका प्रभाव पनि देखिन्छ। नेपाली महाकवी देवकोटाको र मास्टर मित्रसेनको लोक लय र झ्याउरे छन्दका प्रभाव त झनै स्पष्ट देखिन्छ। शब्द चयनमा झर्रो भाषाको प्रयोग पनि कता-कता भेटिन्छ। यसरी उहाँ सङ्गीतको लय, भाका र तालसँग प्रतिदिन साधना र अध्ययनमा आफूलाई समर्पित गर्नु भयो। विभिन्न विदेशी सङ्गीत पुस्तकहरूबाट सिक्दै आफैलाई दिनानुदिन तिखार्नु भयो। तर उहाँले नेपाली जरा यानी नेपाली मौलिकतालाई छाड्नुभएन, र त्यही मौलीक पहिचान नै उहाँको सङ्गीतको मुख्य आधार बनियो।
जीवनको प्रथम भजन रचना र सङ्गीत उहाँले ई.स १९५० मा १६ वर्षको हुँदा रच्नु भयो। सुसमचारको पुस्तक मत्ती १३ः १-९ मा यसुले बताउनु भएको बिउ रोप्ने किसानको दृष्टान्तबाट प्रभावित भएर रच्नुभएको त्यही भजनको टुप्पा (स्थायी पंक्ति) यस्तो छः
“सुन हे जगका लोक यस्तो मसिह प्रभुको उखान
हातमा बिउ लिइ छर्न भनी निस्के एउटा किसान
मसिह प्रभुको उखान”
ई.स १९६२ सालमा रचेको अङ्ग प्रत्यङ्गको मालिक भन्ने भजनको इतिहास सम्झदै उहाँ भन्नु हुन्थ्यो, “एकपटक मेरो ओठमा घाउ आयो र हातमा पनि चोट लागेको थियो। मैले भात हातले मुछ्न सकिन र मुख पनि आँ….गरी खोलेर खान सकिन। त्यतिबेला चम्चाले खाँदा स्वाद चाल पाइनँ। तर यो थाहा पाएँ कि प्रभुले दिनुभको हात खुट्टा अर्थात् अङ्ग प्रत्यङ्गको अवहेलना गर्दो रछु। अलि काम नलाग्ने हुँदा, हात पाउमा चोटपटक लाग्दा, ओठमा घाउ आउदा मात्र बल्ल पो शरीरका अङ्ग प्रत्यङ्गको महत्त्व सम्झिदो रैछु। यसैबाट प्रभावित हुँदै कृतज्ञता स्वरूप यो भजन रचिएको हो।” तर बिडम्बना अहिलाका पुस्ताले यो भजन अलि छिटो-छिटो गाइदिन्छ। यसलाई हतार नगरी ठीक ताल र लयमा गाउन पर्दछ।
अङ्ग प्रत्यङ्गका मालिक म गर्छु प्रणाम
धन्य-धन्य सृष्टिकर्ता अमर छ तिम्रो नाम
लगतै ई.स १९६२ तिर उहाँ एक रातको चकमन्नतामा निकै छटपटाएर बस्नुभएको रहेछ। सुत्न खोज्दा निद्रा परेन। मनमा धेरै कुराहरू खेलिबसेको बेला उहाँको ध्यान १ शमूएल ३ अध्यायमा अडियो। त्यहाँ शमूएललाई परमेश्वरको बोलावट भएको छ। एली पुजाहारी थिए, जसलाई परमेश्वरले रद्ध गरेर शमूएललाई चुन्न लाग्दै हुनुहुन्थ्यो, र उहाँले रातको त्यो चकमन्नतामा आवाज दिनु भयो। शमूएल ए ! अनि यही घटनाबाट प्रभावित भएर उहाँले रच्नु भएको यो कालजयी भजन को स्थायी पंक्ति यस्तो छ।
“आवाज दिइ नीरवतामा मलाई बोलाउने को हो
हरघडी हरक्षण बोलाइरहने मेरो प्यारो प्रभु हो
आवाज दिइ मलाई ..”
उहाँका हरेक रचनाहरू प्रार्थनाबाट अगुवाइ खोजेर बाइबलको वचनबाट अभिप्रेरित भएर सङ्गीत भरेको कुरा सुन्दा अहिलेका पुस्तालाई चुनौती छ। भजन रचना गर्नु भनेको ईन्सटान्ट नुडल्स उत्त्पादन गरे जस्तो होइन। यसको लागि ठुलो समर्पणता, साधना, अध्ययन र अभिरुचि चाहिन्छ। सङ्गीतको बारे धेरै कुरा भन्न सकिन्छ, तर एउटा महत्त्वपूर्ण कुरा यो छ कि सङ्गीत भौतिकताको निम्ती होइन आत्माको निम्ती हो। नेपाली पुराना मौलिक भजनहरूमध्यको प्रभुजी अर्जी मेरो सुनिलेउ भजनको अन्तरामा समेटिएका यी हरफहरू सरल विम्बमा छन्, तर गीतको सम्पूणर्तामा दार्शिनक पक्ष नियाल्दा अन्नत रहस्यमय गहिराइमा उनिएका छन्।
“संसाररूपी समुन्द्र चौडा छ
जीवनरूपी नाउँ पुरानो छ
लौन मेरो नाउँलाई पार लगाइ देउ”
संसाररूपी समुन्द्र जस्तै चौडा छ हाम्रो जीवन यात्रा पनि निकै कठिन छ त्यसैले जीवनरूपी नाउ पार तारिदिन यशू मसिहलाई विन्ती चढाएको यो प्रार्थनाको भजनभित्र जीवनको महत्त्व, जीवनको क्षण भङ्गुरता र अन्नत जीवनको गहिरो दर्शन र त्यसको मार्गचित्र स्पष्ट छ।
ई.स १९७६ मा “उहाँले एउटा विशेष परिस्थितिमा रच्नुभएको भजनको कथा यस्तो छ कि जब उहाँले मनपरेका केही कुराहरू परमेश्वरले खोस्नु भयो। उहाँले चाहेका कुराहरू पुरा नहुँदा चोट पाएर रचेको भजन थियो। “मेरा व्यक्तिगत ईच्छाहरू” उहाँ भन्नु हुन्छ, “तपाईंले मेरा ईच्छाहरू खोस्नु भयो, तर पनि म तपाईंको प्रेमको महसुस गर्छु। तपार्इंले दाऊद राजाबाट अब्शालोम खोस्नु भयो, त्यो पनि प्रेम थियो। पावलको प्रार्थना सुनुवाई भएन, त्यो पनि प्रेम थियो। प्रार्थना सुनुवाई हुँदा पनि नहुँदा पनि परमेश्वरको प्रेम रहन्छ, जसको विरूद्धमा कुनै व्यवस्था बनेको छैन। मैले प्रभुको प्रेम महसुस गरेँ। उहाँले दिएर मात्र प्रेम गर्नु हुन्न, खोसेर पनि प्रेम गर्नु हुन्छ भन्ने गहिरो शिक्षा पाएँ।” र १ थेसलोनिकी ५:१८ अनुसार “सब थोकमा धन्य मान” भन्ने आज्ञालाई शिरोधर गर्दै यो गीत रचना गरेको उहाँ सम्झनु हुन्छ।
मेरा व्यक्तिगत ईच्छाहरू पुरा नहुँदा हे प्रभु
धन्यवाद र प्रशंसाहरू हृदयबाट चढाउन सकु
हल्लेलुयाह हल्लेलुयाह हल्लेलुयाह
ईच्छाहरूको अन्त कहाँ ?
आकाक्षाहरूको शेष कहाँ ?
छैन सिमाना तृष्णाको
थाकेको जीवन छ यहाँ
लूका १७:१० मा एउटा यस्तो दृष्टान्त छः मालिकले अह्राएको सबै काम गरेपछि नोकरले यसो भन्नु रे, मैले खुब काम गरे नभन्नु अरे ! अह्राएको काम मात्रै गरे है प्रभु भन्नु। मैले धेरै त गरिनँ। तपाईंले जती अह्राउनु भएको त्यति मात्र गरे । म त काम नलाग्ने बिकम्मा निकम्मा हुँ भन्ने विचार मनमा आएपछि अर्को गीत यसरी बन्योः
“म हुँ एउटा निकम्मा दास
राख्छु म प्रभुमा आस
गरिसक्दामा काम यो भन्छु
म हुँ एउटा निकम्मा दास”
माथिका यी सबै उहाँका भनाइहरू हामी युटुबको अन्तरवार्तामा हेर्न र सुन्न सक्छौं। तर म अझै अन्तिम भजनको चर्चा गर्न चाहन्छु। यो ख्रीष्टमस भजन हो, जुन अत्याधिक लोकप्रिय छ। र तीन पुस्ताले पनि यसलाई अहिलेसम्म प्रत्येक ख्रीष्टमस महोत्सवमा आफ्ना मण्डलीहरूमा यथावत् गाइराखेको छ। यो गीतका सबै शब्द चारवटै सुसमचारका पुस्तकबाट क्रोनोलोजिकल अडरमा उहाँले लेख्नुभएको छ। यो उत्सवको गीत त हुँदै हो तर यसभित्र सुसमचार पनि छ।
“हेरन आकाशमा ताराको उज्यालो
नवजात प्रभुको दर्शन गर्न नगर बियाँलो
ईश्वरको वचन पूरो गर्नलाई आए प्रभु जगमा
मानवको सबै दुःख बुझ्नलाई पस्रिए डूँडैमा,
गोठालाहरू छक्क परे जब (२) देखे श्वर्गदूतलाई
ढाडस पाई रमाई गए खबर दिनलाई।
तारालाई आफ्नो लक्ष्य बनाई बढे ज्योतिषीगण
भेटी चढ़ाए दर्शन पाई गराए आनन्दित मन
पापी जनको तारणहार (२) मानिसको रूपमा
ख्याल नराखी डाँड़ा-काँड़ा बड़ौं सबै प्रभुमा ”
उहाँले ई.स. १ जनवरी १९८२ स्थापित “राजदूत” द्धैमासिक पत्रिकामा स्थापनाकालदेखी जीवीतकालसम्म सम्पादक रहेर विभिन्न लेखहरू लेख्दै आउनु भयो, जुन लेखहरूका “पुष्पाहार” भन्ने उहाँकै पुस्तकमा सङ्कलीत छ।
ई.स १८८५ स्विडिस भजनकार काल बोबर्कले रच्नुभएको भजन ओ स्टोर गुड (ओ ग्रेट गड) को अङ्ग्रेजी भावनुवाद हो “हाउ ग्रेट दाउ आर्ट” पछी बिली ग्रहाम क्रुसेडले यसलाई विश्वभरी नै लोकप्रिय बनायो। यो गीतलाई विभिन्न भाषाहरूमा अनुवाद गरियो। यसै क्रममा भारतको सिक्कम, दार्जेलिङ्ग हुँदै नेपालका विभिन्न मण्डलीहरूमा पनि यो गीत नेपालीमा अनुवाद गरेर गाउन थालियो। नेपाली भजनमा समेटिएको अनुवादभन्दा पृथक अनुवाद र पृथक स्वाद हामी उहाँको गाउने शैली र अनुवादमा चाल पाउछौं।
“Thus sing my soul my saviour
how great thou art”
“गर्छ प्रशंसा प्राणले ईश्वरको
कति महान कति महान्”
इसाई साहित्यकार बि.डी राई ई.स. २० फरवरी २०२४ का दिन संसारको प्रवासी जीवन यात्रा सकेर विश्राम स्थलसम्म पुग्नो भयो, र अहिले अनन्त जीवनको नविन प्रारब्धमा उहाँ प्रवेश पनि गरी सक्नुभएको छ। जुन् अर्कै शहर हो। हामी त्यहा भेटनेछौं। भेट्दा अङ्कल म तपाईंलाई मुट्ठी कसेर सलुट ठोक्नेछु। केही कामहरू अधुरा छन्, त्यो काम गर्नेछु। हो हामीले कर्म गर्नै पर्छ, उदाहरण र गवाही हुनै पर्छ। हो मेरो पुस्ता सुधार्नु जरूरी छ।
उहाँले नयाँ पुस्तालाई केही गुनासो र प्रश्न गर्नुभएको छ। साथमा सुझाव हौसल्ला र उत्साह पनि दिनुभएको छ। धेरै नै दिनुभएको छ। उहाँको ख्रीष्टमा समर्पित जीवन र कर्मले इसाई क्षेत्रको साहित्यिक विरासतलाई शिर ठाडो पार्ने काम भएको छ। व्यावहारीक र सैद्धान्तिक त्यो पनि सरल र सन्तुलित कृतीहरू उहाँले यो पुस्ता र भावी पुस्ताको लागि तयार पारेर जानुभएको छ।
यो आलेख तयार पारेपछि झन् मलाई बलियो महसुस भएको छ। उहाँ इसाई साहित्य र सेवकार्य क्षेत्रको विश्वविद्यालय नै हुनुहुन्छ। मैले राखेका अभिलेख त केवल अपुरा प्रसङ्ग मात्र हुन्। उहाँको योगदान र सेवकाइको खोज, उत्खनन र अनुसन्धान वृहत्तर रूपमा विस्तारित हुनु जरूरी छ। त्यतिमात्र होइन त्यसको संरक्षण र प्रवर्धन पनि हुन अझ जरूरी र अत्यावश्यक छ।
यत्रतत्र जती जती यन्त्रहरू बढ्दै गइरहेका छन्। त्यति नै हामी यान्त्रीक भइरहेका छौं। दैहिक र भौतिक कुराहरू हामीलाई आवश्यकता पर्छ तर हामीलाई आवश्यक पर्ने कुराहरू अरू पनि छन्ः मनको लागि मानसिक आवश्यकता र आत्माको लागि आत्मिक आवश्यकता।
आजको भागदौडमा हामी यती तनावग्रस्त र प्रतिस्पर्धी भरइहछौं कि हामीले एकअर्कासँग इसाई मूल्यमान्यता र त्यसको भावना विपरीत समाजको सद्भावना बिथोल्ने किसिमको अवस्था आफैमाझ सृजना गरिरहेका छौं। हामीलाई वास्तवमा अइसाईबाट खासै खतरा छैन। हिन्दू दाजुभाइहरूबाट खतरा छैन। राज्य र राज्य प्रणाली अन्तर्गत कानून व्यवस्थामाथि हामीलाई विश्वास छ। सरकारमाथि पनि विश्वास छ। किनभने संविधान त राज्य धर्मनिरपेक्ष छ। त्यसैले सबैले सबैको धर्मलाई समान सम्मान दिनु जरूरी छ। तर हामी आफैभित्र फुट छ। हामीले प्रेमको परिभाषा र करूणाको व्यवहार बिर्सेका छौं। हामी इसाई भएर इसाईसँग नै लडिरहेका छौं। खराबीलाई भलाइले जित्नबाट चुकेका छौं। हामी विभाजीत छौं; विभिन्न स्वार्थ र महत्त्वकांक्षाहरूमा। मिडियाबाजी र चरित्र हत्या गर्नुमा। हामी सम्प्रादायीक सिद्धान्तका दास हौं। हामीलार्ई सिद्धान्तको साङ्ग्लाले बाँधेको छ। हामी साँचो अर्थमा स्वतन्त्र छैनौं। हामी आफ्नो-आफ्नो सीमित ज्ञानमा भर पर्छौं, गर्व गर्छौं र झुठो बौद्धिकता प्रदर्शन गर्छौं, किनभने त्यो चाँडो बिक्छ। हामी एक अर्कासँग ससंकित भइरहन्छौं। हामी अटेन्सन सिकरहरू हौं। पपलुर हुन जुन हदसम्म पनि जान्छौं। कहिले सेन्टर टु फार राईट कहिले फार लेफ्ट। को नक्कली को सक्कली चिन्नै गारो छ यहाँ। किन गारो छ ? किनभने हामी जो हौं त्यो होइनौं र जो हुन चाहन्छौं त्यो भको छैनौं। यहाँ जसलाई जे पनि हुने स्वतन्त्रता छ तर हामी जो हुन बोलाइएका हौं त्यो हुन सकिरहेका छैनौं। हामी असल पनि छैनो हामी सफल पनि छैनौ। हारपूणर् जीवन बाँचेका छौं। जगतलाई हसाएका छौं। तर हामीले यो कुरा बुझ्नु पर्छ कि ज्ञानको महासागरमा हाम्रा ज्ञानहरू सीमित छन्। हामीले अर्जेका ज्ञान थोपा मात्र हो। हामीले सिकेका सिद्धान्तहरू अपुरा छन्। हामीले जानेका सत्यहरू सबै नै ध्रुवसत्यहरू होइनन्। त्यसैले मेरा प्यारा भाइबहिनीहरू, मेरा प्यारा बौद्धिक मित्रहरू म फेरि पनि भन्दै छु हामी पाखण्डी पुस्ता हुनबाट आफैलाई जोगाउनु आवश्यक छ।
अन्तमा म यही भन्न चाहन्छु कि हामीमा सुधार आउनु आवश्यक छ। म त्यसको लागि तयार छु। र म त्यसको लागि लडने छु र यो पुस्तालाई बचाउनेछु, किनभने मलाई थाहा छ कि जो मसँग हुनुहुन्छ उहाँ संसारमा हुनुभएको भन्दा महान् हुनुहुन्छ। “तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसार कै कुरा गर्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ। हामी त परमेश्वरका हौं। जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, र जो परमेश्वरको होइन, त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौं।”
(१ यूहन्ना ४:५-६)
बि. डी राईका प्रकाशित कृतिहरू
१. जीवन र ज्योती (उपन्यास)
२. अर्को आँखा (उपन्यास)
३. रक्तदान (उपन्यास)
४. झुटो शिक्षाको जाल
५. वेदीको आगो
६. शैतानको छाप ६६६ (अत्याधिक बिक्री भएको)
७. स्वर्ग यात्रा (च्बउतगचभ बारे)
८. ख्रीष्टको राज्य
९. विश्वासको प्रतिरक्षा
१०. खतराको घण्टी
११. पुष्पहार (लेखहरूको सङ्कलन)
१२. प्रकाशको पुस्तकको सरल व्याख्या
१३. जीवन विमा
१४. वर्ड कप २०१४
१५. मोक्ष प्राप्ती र दर्शन
१६. स्वर्ग र नरकको दर्शन
नोटः यो आलेख मैले युटुबमा उपलब्ध भएका उहाँका अन्तरवार्तामा आधारित भएर तयार पारेको हुँ, जसको लागि सबै सङ्लग्न इसाई पत्रकार साथीहरूप्रति कृतज्ञता पनि प्रकट गर्दछु।
आत्माको आगोले खारिएको इसाई साहित्य क्षेत्रका दुर्लभ पात्र डा. बि. डी राईको संक्षिप्त जीवनचरित्र तयार पार्ने क्रममा मेरा सीमित ज्ञान र स्रोतका साथै खोज र अनुसन्धानले जे-जति सुचना र जानकारी प्राप्त गरेँ, त्यसलाई जस्ताको त्यस्तै पाठक समक्ष राख्ने यत्न गरेको छु। यदपी निजी विचारको निम्ती म जवाफदेही हुनेछु। धन्यवाद।
२७ फरवरी २०२४
साउथ हारोबाट
खुपेन
Discussion about this post