काठमाडौं- सारा संसारका मुक्तिदाता प्रभु येशू ख्रीष्ट जन्मेको दिनको सम्झनामा पौष १० गते (डिसेम्बर २५) तारिखका दिन ख्रीष्टियन समुदायले ख्रीष्टमस भव्यताका साथ मनाएका छन् ।
आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। ख्रीष्टमस भित्रि हृदयबाट मनाइने एउटा उत्सव हो । अन्धकारमा भएका मानिसलाई ज्योतिमा ल्याउने र अशान्तिमय जीवन जिइराखेकाहरूलाई प्रेम र शान्तिको सन्देश छरेर शान्तिदाता येशू ख्रीष्टसँग मिलाप गराउने माध्यमलाई ख्रीष्टमस भनिन्छ ।
बाइबलको यूहन्ना ३ः १६ मा यसरी लेखिएको छ,– “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुुभयो, कि उहाँले आफनो एकमात्र पुत्रलाई दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोहि पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।”
ख्रीष्टमसको मुख्य प्रतिक भनेको सारा पापी मानिसहरुको लागि स्वयंम येशू ख्रीष्टले दिनुभएको प्रेमको उपहारलाई बुझ्नु पर्दछ ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको फेमिली अफ गड चर्च तथा चर्च एलान्सका संस्थापक पास्टर टंक सुबेदीले जानकारी दिए। उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा ख्रीष्टियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन्।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए।
विश्वका धेरै मानिसले मनाउने ख्रीष्टमसको अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने ख्रीष्टियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ।
पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा ख्रीष्टमस ट्रि सजाउने गरेको देखिन्छ। विशेषगरी ख्रीष्टियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ।
गत बर्ष कोरोना महामारीका कारण ख्रीष्टमसमा चहलपहल कम भएको थियो। यस वर्ष भने पर्यटक आउने क्रम शुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा ख्रीष्टमसको रमझम बढी देखिएको छ।
Discussion about this post