काठमाडौँ, वैशाख १८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीहरुप्रति शुभकामना ब्यक्त गर्दै श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवर्दन गरिरहेको बताउनु भएको छ।
औपचारिक वा अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरिएको र अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरिएको र सबै श्रमिकहरुलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनरपरिभाषित गरेको उहाँले बताउनुभएको छ। श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको पनि उहाँले स्पष्ट पार्नुभएको छ। एक आर्थिक वर्षमा दुई लाख भन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा बेरोजगार भत्ता उपलब्ध गराएको बताउनुहुँदै उहाँले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको बताउनुभयो। स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७८/७९ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्दै मासिक १३ हजार ४५० बाट बढाएर १५ हजार पु-याइने बताउनुभएको छ। यसैगरी दैनिक पारिश्रमिक ५१७ रुपियाँबाट ५७७ रुपियाँ बनाइने छ। प्रतिघण्टा पारिश्रमिक ६९ रुपियाँबाट ७७ रुपियाँ हुनेछ।
‘‘सामाजिक सुरक्षा र औपचारिक तथा अनौपचारिक श्रम क्षेत्रका श्रमिकहरूलाई क्रमशः योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने छ,’’ उहाँले सन्देशमा भन्नुभएको छ, “यसको सुरुवात यसै आर्थिक वर्षबाट लागू हुने गरी दैनिक ज्यालादारी र करार सेवामा कार्यरत सरकारी सेवाका कामदार/ कर्मचारीहरूबाट गरिने छ।” उहाँले तत्काल विवरण प्राप्त नौ हजार ८४० सङ्घीय कार्यालयमा कार्यरत कर्मचारीबाट यसको सुरुवात गरिने बताउनुभएको छ।
Discussion about this post