सङ्कटको घडीमा आर्थिक चाप न्यूनीकरणका केही उपायहरू

[ 0 ] July 11, 2020 |
Raju Adhikari, Pokhara

Raju Adhikari, Pokhara

सङ्कटको घडीमा आर्थिक चाप न्यूनीकरणका केही उपायहरूमान्छेको जीवनमा सङ्कटहरू विभिन्‍न प्रकारले आउँछन्। होसियारीसाथ तिनको व्यवस्थापन नगरे धेरै ठूलो नकारात्मक असर पर्न सक्छ। अचानक कुनै घटना हाम्रो जीवनमा घट्न जान्छ र त्यस घटनाले हाम्रो नियमित जीवनशैली धरापमा पर्छ अनि हामीलाई बाध्यकारी परिवर्तनतर्फ उन्मुख गराउँछ। सामान्य रूपमा यो नै सङ्कटको परिभाषा हो। अचानक स्वास्थ्य बिग्रनु, दुर्घटनामा पर्नु, परिवारमा कसैको असामयिक निधन हुनु, सम्बन्ध विच्छेद हुनु, व्यवसाय डुब्नु, धन हराउनु, गरिराखेको काम गुम्नु, आर्थिक मन्दी हुनु, भूकम्प, बाढीपैरो, आँधीतुफान जस्ता प्राकृतिक विपद्हरूले हाम्रो सामान्य जीवनमा असामान्य परिस्थितिको सिर्जना गर्दछन् भने हामी यस्तो अवस्थालाई सङ्कट भन्दछौं। सङ्कट व्यक्तिगत, पारिवारिक, समुदाय, राष्ट्रिय तथा विश्वव्यापी तहमा असर पार्ने हुन्छन्। कुनै व्यक्ति परीक्षामा असफल हुनु वा परिवारमा कसैको दुर्घटना हुनु जस्ता व्यक्ति तथा परिवारको तहका सङ्कटका उदाहरण हुन् भने, विभिन्‍न खालका प्राकृतिक प्रकोप, महामारी, आर्थिक मन्दीहरू समुदाय, देशव्यापी र विश्वव्यापी सङ्कटका उदाहरण हुन्। यस्ता घटनाले मानिसको आर्थिक, स्रोतसाधन तथा क्षमता सीमित तुल्याउँछन् साथै पहुँचको पनि अभाव भई नाजुक अवस्थाको सिर्जना गर्ने हुनाले सङ्कटको घडी आइपर्छ।

बाइबल धर्मशास्त्रमा सङ्कटका धेरै उदाहरणहरू छन्। परमेश्वरले आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको आदम र हवाले परमेश्वरको आज्ञा उल्लङ्घन गरे र उनीहरूको जीवनमा सङ्कट आइपर्‍यो। आफ्नै भाइ हविललाई कयिनले मार्‍यो र त्यहाँ एउटा सङ्कट आइपर्‍यो। नूहको समयमा ठूलो जलप्रलय भयो र त्यसले नराम्रो सङ्कट निम्त्यायो। योसेफ त्यागिए अनि बेचिए, त्यसले परिवार र उनको आफ्नै जीवनमा सङ्कटको सामना गर्नुपर्‍यो। तिनै योसेफको समयमा मिश्रदेशमा भएको अनिकाल पर्नु एउटा सङ्कट थियो। बाइबलमा अब्राहामको समयदेखि अनिकाल बारम्बार देहोरिएको विपद्का रूपमा भेटिन्छ। पहिलो राजा १७:१–१७ पानी नपरेकोले इस्राएल देशभरि अनिकाल पर्‍यो र यसले गर्दा भोकमरीको सङ्कट आइपर्‍यो। यस्तो सङ्कटसँग जुध्न सारपतकी विधवाले कसरी आफू र आफ्ना बालबालिकाका लागि उपलब्ध सीमित स्रोतको व्यवस्थापन गरिरहेकी थिइन्। यसबाट धेरै कुरा सिक्न सकिन्छ। मानिस आफैं धेरै पटक सङ्कटको कारण बनेको छ। प्रकृतिमाथिको अतिक्रमण र प्रदूषण बढाउने हेलचेक्य्राइँपूर्ण चालचलन र व्यवहारका कारण महामारी र विपद्हरूले निम्त्याउने सङ्कटको सामना गर्नु परेको छ।

सङ्कट प्रत्याशित र अप्रत्याशित हुन्छन्। कुनै घटना घट्ने थाहा हुन्छ, सङ्कटको अनुमान लागाउन सकिन्छ भने यसलाई  प्रत्याशित सङ्कट भनिन्छ। यस्तो अवस्थामा सङ्कटको सामना कसरी गर्ने, कसरी जोखिम र त्यसको असर कम गर्ने भनेर योजना बनाउन सकिन्छ। तर जब अप्रत्याशित रूपमा नसोचेका घटना घट्छन्, तब त्यसबाट उत्पन्‍न हुने सङ्कटको प्रभावको न्यूनीकरण गर्नु सजिलो हुँदैन। यस्ता सङ्कटहरूको उचित व्यवस्थापन गर्न नसके मानिसको सर्वाङ्गीण क्षेत्रमा बडो नराम्रो असर पर्न जान्छ र जीवन नै तहसनहस हुन पुग्छ। हामीले अहिले भोगिरहेको कोभिड १९ ले बडो जटिल सङ्कटको घडीको सिर्जना गरेको छ। यसले व्यक्तिका समग्र पक्ष, परिवार, समाज, देश र विश्वलाई नै सङ्कटमा पारेको छ। नेपालमा कोभिड १९ का कारणले लागू गरिएको बन्दाबन्दीको पहिलो ८० दिनभित्र मात्र आत्महत्या गर्नेको सङ्ख्या १,६०० नाघेको थियो। यो असामान्य अवस्था हो। आत्महत्या गर्नु एउटा परिणाम हो तर आर्थिक तनाव, पारिवारिक कलह, सामाजिक सामिप्यताको अभाव आदि यसका कारकहरू हुन्। कोभिड १९ ले ल्याएका सङ्कटहरूमा आर्थिक सङ्कट एउटा हो। सलहको माहामारी, पैरो र बाढीले थप पीडा पारेको यस्तो सङ्कटको घडीमा हामीले व्यक्तिगत तथा पारिवारिक तहमा सामान्य कुरा ख्याल गर्‍यौं भने, यस सङ्कटले उब्जाउने समस्या धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ भन्‍ने उद्देश्यका साथ तलका केही उपायहरू सुझाउने प्रयास गरिएको छ।

  1. खर्चको कटौती गर्ने : सङ्कटको समयमा सामान्य अवस्थामा जस्तो खर्च गर्नु हुँदैन। बाँकी दिनहरू कस्ता हुन्छन् भन्‍न सकिन्‍न तसर्थ खर्च पुर्‍याएर गर्नुपर्ने हुन्छ। अहिले कोरनाको सङ्क्रमण बढ्दो अवस्थामा छ र यसको चौतर्फी असर परिरहेको छ। भोलि आयात–निर्यात नै बन्द हुन सक्छ। अत्यावश्यक उपभोग्य सामग्रीको मूल्य अनायासै बढ्न सक्छ। पैसा साथमा भए पनि आवश्यकताको वस्तु नपाउने अवस्था हुन सक्छ, झन् नगद नै नभए बढी कठिनाइ हुनेछ। तसर्थ खर्च कटौती गरेर नगद जगेडा राख्नुपर्छ। हिजो प्रशस्त फास्ट फुड खाइन्थ्यो भने त्यसको कटौती गर्ने, छोटो बाटोमा सवारी साधनको प्रयोग गरिन्थ्यो भने तर यसको सट्टा अब पैदल यात्रा गर्ने। खानेकुरामा के कटौती गर्न सकिन्छ, लागाउने कुरामा, मनोरञ्जनमा के कटौती गर्न सकिन्छ, सौन्दर्यका सामग्रीमा के कटौती गर्न सकिन्छ, नियालेर सकेसम्म खर्च कटौती गर्नुपर्छ। यी दिनहरूमा असाध्यै लापर्वाहीपूर्ण खर्च फोनमा भएको देखिन्छ। अनावश्यक फोन गर्ने र फोन उठाउने बानी बसेको छ। फोनमा लामो–लामो बेलिविस्तार गर्दा ५ मिनट खर्च हुन्छ। फोन गरेपछि रु. ५ चार्ज भयो भन्‍ने सूचना देखिन्छ। ‘एनसेल’ का कम्तीमा पनि २ करोड प्रयोगकर्ता छन्। सबैले यसरी १ कल बढी गर्दा ५ मिनटमा ५ करोडको कमाइ हुन्छ। दिनमा सालाखाला १० वटा यस्तो फोन गरियो भने दिनको रु. ५० र महिनामा रु. १,५०० खर्च भयो। यसरी वर्षमा रु. १८,००० खर्च हुने भयो। अझ डाटा म्याकको त कुरै छोडौं। विचार गर्नोस्, यो रकमले एउटा बच्चा सरकारी स्कूलमा १ वर्ष ढुक्क पढ्न सक्छ। रु. १,५०० मा २५ के.जी. को १ बोरा राम्रो चामल खरिद गर्न सकिन्छ जसले सामान्य परिवारलाई १ महिना ढुक्क हुन्छ। खर्चमा कटौती गर्दा बचतमा बृद्धि हुन्छ, त्यसले अनिश्चित भविष्यबाट धेरै हदसम्म सुरक्षित हुन सकिन्छ।

 

  1. सम्भव भए खर्चलाई पछि सार्ने : खर्च गर्नुपर्दा त्यो खर्च अहिले नै गर्नुपर्ने हो वा होइन भनेर विश्लेषण गर्नुपर्छ। घरमा भएको फ्रिजले काम चलेको छ भने डबल डेक भएको फ्रिज अहिले नै किन्‍न नपर्ला, पछि सङ्कटको अवस्था गुज्रेपछि किन्‍न सकिन्छ। स्टोभ अहिले नै किन्‍न नपर्ला, दराज अहिले नै फेर्न नपर्ला, आई फोन अहिले नै किन्‍न नपर्ला, घरको मर्मत अहिले नै गर्न नपर्ला। अहिले नै स्कूटी किन्‍न नपर्ला। यी केही उदाहरण हुन्। अहिले नै आवश्यक नपर्ने खर्च पछि सार्नुपर्छ।

 

  1. विकल्पको खोजी गर्ने : एउटा कोठाभित्र मुसो र बिरालोको जम्काभेट हुन्छ। मुसो मृत्यु र जीवनको सङ्कटमा पर्छ। अब उसका अगाडि मुख्य २ वटा विकल्प छन्, एउटा आत्मसमर्पण गर्ने र अर्को विकल्प भनेको सकेसम्म दुलो खोज्दै कुद्ने। तर मुसो दुलो खोज्दै दुगुर्छ, दुलो भेटेन भने बिरालोको आहार। तर भेट्यो भने ज्यान बच्यो। यसरी नै सङ्कटकालमा खर्चको विकल्प खोज्नुपर्छ। आवश्यकता उही हो, तर त्यो पूरा गर्ने फरक उपाय। नेपालमा अहिले ग्यास प्रयोग गर्नुभन्दा बिजुली प्रयोग गर्नु किफायती पर्छ। फेरि बिजुली आफ्नै देशको उत्पादन पनि त हो नि ! भोक लाग्दा खानेकुराको विकल्प के हुन सक्छन्, यात्रा गर्दाका विकल्प के हुन सक्छन्। सञ्चारका विकल्प के हुन सक्छन्। किफायती विकल्पको खोजी गर्नुपर्छ।

 

  1. चुहावट रोक्ने : आफ्नो घरभित्र र बाहिर धेरै कुरा चुहिएको अवस्था हुन सक्छ। पैसा हराए खोजी तलासी गरिन्छ तर यसरी चुहिएका बस्तु पैसा नै हो भन्‍ने कुरामा सचेत नभइएको हुुन सक्छ। भान्छा तथा बाथरुम जस्ता ठाउँमा पानी चुहिएको हुन सक्छ, बिजुली चुहावट भएको हुन सक्छ। बिजुलीका प्लगका स्वीचहरू मात्रै, अनावश्यक पर्दा अफ गरियो भने १० प्रतिशत बिजुलीको खर्च बचाउन सकिन्छ। यसो हो भने मासिक रु. १,५०० सामान्य बिजुलीको महसुल तिरिन्छ भने रु. १५० बच्ने भयो, र वर्षमा रु. १,८०० को बचत हुने भयो। यसरी नै भान्साको अभिन्‍न अङ्ग बनेको ग्यासको चुहावट सामान्य हो जुन नोक्सानी मात्र होइन तर कतिपटक यस्ता चुहावटहरू ज्यानैसम्म लिनसक्नेसम्मका खतरनाक हुन सक्छन्। विद्युत तथा पानीको जडान गर्ने जनशक्ति सिकारु र उनीहरूको हेलचेक्य्राइँ चुहावटको मुख्य कारणहरू हुन्। सक्षम प्राविधिकको प्रयोग, नियमित जाँच, समयमै गरिने मर्मतसम्भारले यस्ता चुहावटबाट हुने अतिरिक्त खर्च बचत गर्न सकिन्छ र थप खातराबाट पनि मुक्त हुन सकिन्छ।

 

  1. स्रोत–साधनको अधिकतम प्रयोग गर्ने : एउटा किसानले पालेका गोरुले १ दिन जोतेनन् भने त्यस दिन तिनले कमाउने ज्याला सधैंको निम्ति खेर जान्छ। हाम्रा घरभित्र वा बाहिर अधिकतम् प्रयोग नभएका थुप्रै कुराहरू हुन सक्छन्। घरका कोठाहरू खाली हुन सक्छन्, करेसाको खाली जग्गामा त्यत्तिकै झार उम्रेको हुन सक्छ, मान्छेको समय पनि पत्तै नपाई खेर गइरहेको हुन सक्छ। आजभोलि प्रायः सबैसँग कम्प्युटर, स्मार्ट फोन जस्ता साधनहरू छन्, तर तिनको प्रयोग पूर्णरूपमा भए, सञ्चार र प्रवर्धनका क्षेत्रमा धेरै फाइदा लिन सकिन्छ। प्लास्टिकका झोला, फालिएका भाँडा आदि प्रयोग गरेर घरका छेउछाउ, कुनकाप्चा, छानातिर पनि तरकारी उत्पादन गरेका धेरै उदाहरण पाइन्छन्। आजभोलि कौशी खेतीको अवधारणा धेरै प्रचलित छ। यी महत्वपूर्ण स्रोत–साधन हुन् जसको उपयोग गर्दा उत्पादन बढ्छ, यसरी सानोरूपमै भए पनि आफ्नो खाँचो टार्न सकिन्छ। के खेर गइरहेको छ र कसरी त्यसको उपयोग गर्न सकिन्छ त्यसको ख्याल गर्नुपर्छ।

 

  1. सिर्जनशील बन्‍ने, नवीनतम उपायको खोजी गर्ने : सङ्कटले चुनौती मात्र ल्याउँदैन, अवसर पनि ल्याउँछ। पहिले–पहिले बर्सातको समयमा काठमाडौं जाँदा कृष्णभीरको पैरोले बाटो थुनेर घण्टौं कुर्नुपर्ने हुन्थ्यो। यात्रीहरू भोक र तिर्खाले छटपटाउँथे, वरपर केही पाइन्‍नथ्यो। एकपटक यस्तै अवस्थामा यात्रीहरूमध्ये एकजनाले आफ्नो पसलका लागि सामानहरू किनेर ल्याएका रहेछन्। उनले पाल बिछ्छ्याए र आफ्नो पसल सुरु गरे। अलिकति बढी नाफा राखेर खाने सरसामान बेच्न थाले। एकैछिनमा सरसामान बिक्री भयो। ग्राहकको आवश्यकता पूरा भयो, उनको व्यापार पनि भयो, अवसर हो अलिकति बढी नाफा पनि भयो। कोरनाका कारण बन्दाबन्दी भएको बेला धेरैले समय खेर फाले, तर कतिले भने बुद्धिमानीसाथ तालिम, पढाइ, परिवारसँगको समय, नयाँ–नयाँ खाना बनाउने आदि तालिम लिने जस्ता क्षेत्रमा आफ्नो समयको सदुपयोग गरे।

 

  1. अत्यावश्यक कुरामा मात्र खर्च गर्ने : मान्छेले खर्च आवश्यक कुरामा मात्र गर्दैनन्। छ्यालब्याल खर्च गर्ने बानी र लत र परीक्षा पनि हो। सपिङ सेन्टर पुगेपछि देखेको वस्तु किन्नैपर्ने, अरूले ठेलाभरि सरसामान होलेको देख्दा आफूलाई पनि त्यस्तै गर्न मन लाग्ने परीक्षा हो। कहाँबाट पैसा आएको छ, त्यसको ख्याल नगरी खर्च गर्दा त्यसले ल्याउने परिणाम ऋणको भार हुन्छ, अर्को सङ्कट आइपर्छ गरिबी। त्यसैले खर्च गर्दा के कुरा अति आवश्यक हो, स्वास्थ्यको लागि कुन खानेकुरा बढी महत्वपूर्ण हो भन्‍ने जस्ता कुरालाई याद गरे असल हुन्छ। विदेशतिर क्रेडिट कार्डको प्रयोग गर्ने चलन छ, जसले गर्दा पैसा नभए पनि सामान किन्‍न सकिन्छ र त्यो बैंकले ऋणको रूपमा हिसाब राख्छ। यसैकारणले फजुल खर्च गर्ने धेरै ऋणको दलदलमा डुबेका हुन्छन्। आजभोलि हामीकहाँ डेविट कार्ड, क्रेडिट कार्ड चलाउनलाई प्रोत्साहन गरिएको छ। यस्ता कार्डको सट्टा र उधारोमा किन्नुको सट्टामा नगदै भुक्तानी गरेर सरसामान किन्‍ने गरियो भने धेरै सचेत होइन्छ।

 

  1. स्वादमा भन्दा स्वास्थ्यमा बढी ध्यान दिने : हामीले खाने पिउने धेरै कुरा मीठा र स्वादिला छन्, तर स्वास्थ्यवद्र्धक छैनन् र असाध्यै महङ्गा पनि छन्। दूध बेचेर कोकको बोत्तल घरमा लिएर आउने चलन बढेको छ। घरको रोटी भन्दा पिजा र बर्गर मन पर्छ। फलफूलभन्दा आइसक्रिम छनोटमा पर्छन्। यस्ता थुप्रै फास्टफूड आधुनिक पुस्ताको रोजाइ बनेका छन्। यस्ता चिज खानै नहुने भनेको होइन तर, खर्चको आधारमा स्वास्थ्यलाई कतिको ध्यान दिइएको छ भन्‍ने हो। एकछिनको स्वादले दीर्घकालीन असर कस्तो परिरहेको छ, र कसरी आर्थिक स्रोतको प्रयोग गरिएको छ भन्‍ने सवाल हो। कोरानाले ल्याएको सङ्कटमा यसरी विचार गर्नु अझ सान्दर्भिक बनेको छ।

 

  1. खाँचोमा परेकाहरूलाई उचित प्रकारले सहयोग गर्ने : समाजमा अत्यन्त अभावमा भएका मानिसहरू पनि हुन्छन्। सङ्कटको बेलामा यस्ता व्यक्ति र परिवारहरूको अवस्था ज्यादै नाजुक अवस्थामा गुज्रेको हुन्छ। कोरनाका कारण भएको सङ्कट, बाढीपैरोको विपद् जस्ता परिस्थितिमा दैनिकी अत्यन्तै नाजुक बनेको हुन्छ। यस्तो खाँचोमा परेकालाई सहयोग गर्न हृदय र हातहरू खुला हुनुपर्छ। अति खाँचोमा परेकाहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सोच्नुपर्छ अनि सहयोग गर्नुपर्छ। आफूलाई पनि कुनै दिन कसैले खाँचोमा परेको बेला सहयोग गरेको कुरा स्मरण गर्नुपर्छ। आफ्नै समस्या ठूलो छ, भनेर भन्‍नेहरूको समस्या कहिल्यै समाधान हुँदैन तर दिनेले दिइराखेकै हुन्छन्। तसर्थ सोचमा परिवर्तन आउनुपर्छ। खाँचोमा पाएको सहयोगको सधैं “ठूलो गुण” को रूपमा सम्झना हुन्छ। दिने कुरामा परमेश्वरको आवाज सुन्‍ने धेरै कानहरू बैरो भएका छन्, यसलाई खोल्नुपर्छ। दिनु कर होइन यो रहर हुनुपर्छ। गरिबहरूलाई दिनु परमेश्वरलाई पैंचो दिनु हो।

 

  1. साहुलाई आफ्नो अवस्था बारेमा बताउने : केही गरिखान्छु भन्‍ने प्रायः सबैको ऋण हुन्छ नै। बैंकसँग लिएको कर्जा, आफन्तसँग लिएको सापट आदि ऋण नै हुन्। सङ्कटको बेलामा आयस्रोतहरू खुम्चिएको अवस्था हुन्छ, आफ्नै हर्ज टार्न मुश्किल परेको हुन्छ अर्कोतर्फ साहुले कर्जा भुक्तानी गर्न दबाब दिएका हुन्छन्। अहिले कोरनाको सङ्कटमा त्यस्तै भएको छ। ऋण तिर्न सक्ने आफ्नो क्षमता छैन भने बैंक वा साहुसँग आफ्ना कुरा राख्नुपर्छ, सकेसम्म छिटो तिर्ने आफ्नो प्रयास रहने बारेमा बताउनुपर्छ। अहिले विद्यमान कोरना सङ्कटको अवस्थामा आत्महत्या बढ्नुको कारण धेरैलाई ऋणको दबाब नै भएको छ। कहिलेकाहीँ आफूलाई सापट दिनेको अवस्था पनि आफ्नै जस्तो हुन सक्छ, यस्तो अवस्थामा सकेसम्म थोरै भए पनि काम फुकाइदिनुपर्छ। ऋणको चाप पर्‍यो भनेर पासो लाउने डोरी खोज्नु हुन्‍न, तर उपाय खोज्नुपर्छ, सल्लाह र सहयोग खोज्नुपर्छ।

 

  1. कामदारहरूलाई मार्नुहुन्‍न : कोरोनाका कारणले भएको बन्दाबन्दीको ३ महिना पनि नबित्दै धेरै व्यापारी, व्यबसायीहरूले आफ्ना कामदारहरूलाई कसैले एक महिनाको, कसैले आधा महिनाको ज्याला तलब काट्ने निर्णय गरे। व्यापार व्यवसाय ठप्प भएको १ महिना नबित्दै कामदारहरूाई कामबाट निकालिदिए । निजी विद्यालय बन्द भए र त्यहाँका श्रमजीवी अलपत्र परे। एकमहिनाभित्र नै आर्थिक सङ्कट थेग्न नसकेर यस्ता निर्णय भएका होइनन्, धेरै रोजगारदाताले खर्च बचाउने अवसरको सदुपयोग गलत तरिकाले गरे। सबै ठीक हुँदा कामदारलाई आफ्नो परिवारको सदस्यहरू हुन् भन्‍नेहरूले यस्तो आपतको घडीमा निर्दयी व्यवहार गरिदिंदा, घरमा तीनको चुलो चिसो भयो, तिनका नाबालक छोराछोरीले त्यही चुलो वरिपरि भोको पेट मिच्दै गहभरि आँशु पारे। कोरोनाले ल्याएको सङ्कटमा, तलब ज्यालाको काटौती, रोजगार समेत गुम्नुले हिजो चन्दन जस्तो घोट्ने साहुले गरेको अमानवीय व्यवहारले कामकादरहरूमा खिन्‍नता छायो। भोलि राम्रा दिन पनि आउलान् त्यतिबेला चाहिएजति श्रम दिनुपर्छ है, अहिले ऋणै थपेर भए पनि जीवन धानौं, सकेसम्म गरौं, नसकेको अवस्थामा जे सकिन्छ त्यही गरौंला भनेर आफ्नै परिवार सरहका कामदारलाई भन्‍न सकिने अवस्था थिएन होला र ? यसका लागि असहाय कामदार कति कृतज्ञ हुन्थे होलान् ? मन जित्न होइन तर सम्पत्ति बचाउने मनसाय हावी भयो। इश्वरमाथि आस्था राख्‍नेहरूले, ईश्वरले यसको लेखा राख्लान् भन्‍ने पनि सोचेनन्। सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी भएको थियो। यस्तो कठिन अवस्थामा कारम्यक्स कम्पनीले कर्मचारीको कटौति गर्नुको साटो उनीहरूको क्षमताको विकासमा थप लगानी गर्‍यो। सन् २०१२ मा आफ्नो एक सम्बोधनमा कम्पनीका सिओ टोम फोलियार्डले हरेक वर्ष १५ प्रतिशत बिक्रिमा बृद्धिभएर सफलकम्नीको श्रेणीमा पहिलेभन्दा बृद्धि भएको बताए र भने,  “यदि हामीले हाम्रा कामदारको ख्याल गर्‍यौ भने, उनीहरूले ग्राहकहरूको ख्याल राख्छन् र बाँकी कुराले आफ्नो ख्याल आफै राख्छन्”। तसर्थ सङ्कटको बेलामा, परिवारजस्तै कामदारहरूको ख्याल राख्नुपर्छ।  आफ्नो प्रगतिमा उनीहरूको योगदान रहेको हुन्छ। आखिर यस धर्तीबाट अन्तिम दिन बिदाइ हुँदा आफूसँग हुने भनेको आफन्तले दिएको एकपसर माटो र ६ फिटको खाल्टो मात्र नै त हो नि !

 

  1. रोजगारदाताको अवस्थालाई ख्याल राख्‍ने : उद्योगधन्दा, व्यापार व्यवसाय त्यसै सञ्चालन हुँदैनन्। त्यसको लागि ऋण लिइएको हुन्छ, जोखिम वहन गर्नुपर्ने हुन्छ, धेरै बाधा र अवरोधको सामना गर्नुपर्ने हुन्छ। आफ्नो चलअचल सम्पत्ति दाउमा राखेर लगानीकर्ताले लगानी गरेका हुन्छन्। उनीहरूले कमाएको देखिन्छ, तर दिनरात नभनी खर्चेको बलबर्कत देखिँदैन। व्यपार व्यवसाय, उद्योगधन्दा राम्रो भयो भने, रोजगारीको स्तर राम्रो हुन्छ। उद्योगधन्दाको बृद्धि हुँदा नै रोजगारको सिर्जना हुन्छ। तर यसो हुनका लागि कामदारको सोच र परिश्रमले ज्यादै महत्वपूर्ण भूमिका खेलेको हुन्छ। निष्ठावान र मेहेनती कामदार कुनै पनि व्यापार–व्यवसाय उद्योगधन्दाका लागि सम्पत्ति हो। कामदारको जीवन कम्पनीको अवस्थामा निर्भर हुन्छ। कामचोर, बेइमान, छलकपट, अनियमितता भएका कर्मचारीले साहु डुबाउँछन्। यसको प्रभाव अर्थतन्त्रमा नकारात्मक पर्दछ। अहिले कोराना सङ्कटको समय छ, यस्तै सङ्कटको क्षणमा कार्मचारी कामदारले निष्ठापूर्वक नियमितभन्दा बढी योगदान दिनुपर्छ। सिर्जनात्मक सरसल्लाह र सहयोगको अपेक्षा कामदार तथा कर्मचारीबाट राखिने हुँदा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ। यसरी एक–आपसमा आर्थिक चुनौतीलाई कम गर्न सकिन्छ।

 

  1. अरूलाई हतोत्साहित पार्ने गरी भड्किलो जीवन जिउनु हुन्‍न : सामान्य अवस्थामा पनि जीवन यापनको सन्दर्भमा धेरै मानिस सङ्घर्ष गरिरहेका हुन्छन्। तुलनात्मक रूपमा समाजमा केही खर्च गर्न सक्ने सम्पन्‍न व्यक्तिहरू होलान्। त्यसो भए तापनि भड्किलो जीवनशैली जिएर अरूलाई निराश र खिन्‍न पार्नुहँुदैन। यसले गर्दा विभिन्‍न खालका विकृतिको विकास हुन सक्छन्। तर समाजमा भएका अशक्त, दिनदुःखी व्यक्ति र परिवारलाई सकेसम्म उत्साह हुने प्रकारले जिउनुपर्छ।

 

  1. शोषण र भ्रष्टचारबाट बच्नुपर्छ र विरोध गर्नुपर्छ : सङ्कटको बेलामा धेरैको अवस्था नाजुक र कमजोर हुन्छ। यस्तो बेलामा आर्थिक खाँचो हुने भएकोले त्यसको फाइदा उठाउनेहरू पनि जुर्मुराउँछन्। आर्थिक लोभ, लाउनखानको लोभ, विदेश घुम्ने लोभ देखाएर मानव बेचविखन गर्ने सक्रिय हुन्छन्। बालबालिकाको दुरुपयोग, श्रमको शोषण, झुक्याउने, ठगी गर्ने, बाध्यतामा पार्ने जस्ता हरकत गर्नेहरू निकै नजिकका र पत्याउनै नसकिने व्यक्तिहरू हुन्छन्। सङ्कटको समयमा आफ्ना छोराछोरीलाई कसैले वशमा पारिरहेका छन् कि भन्‍ने कुरामा सचेत हुनुपर्छ। आफ्ना छोराछोरीको व्यवहारमा आएको परिवर्तनलाई याद गर्नुपर्छ। यस्तै बेलामा सरसामानको अनुचित प्रकारले अधिक मुल्य तोक्ने र असामान्य मुनाफा खाएर ठगी गर्नेहरू पनि त्यत्तिकै हुन्छन्। यस्तो परिस्थितिमा सरसामान किनेर खुरुक्क हिँड्नुको साटो, बिक्रेतालाई किन असामान्य मूल्य तोक्नुभयो ? पहिला त कम थियो, अहिले किन महँगो, कहाँबाट सामान आउँछ ? तपाईंले कति तिर्नुभयो ? के यो मुल्य सरकारले तोकेको हो? मलाई बिल दिनुहुन्छ? भन्‍ने जस्ता प्रश्नहरू मात्र सोधियो भने पनि त्यसले सतर्क बनाउन धेरै सहयोग गर्छ। आफूलाई अति नै गरेको महसुस भए, प्रहरी वा उपभोक्ता मञ्च वा अख्तियार दुरुपयोग अनुसन्धन आयोग जस्ता निकायलाई खबर गरिदिने साहस पनि गर्नुपर्छ।

 

  1. बिउ जोगाउनु पर्छ : अनिकालमा बिउ जोगाउनुपर्छ, प्रचलित नेपाली कथन हो। बिउ नै मासियो भने रोप्न सकिन्‍न, त्यसपछि कटनी गर्ने कुरै हुँदैन। अनि गरिबी र भोकमरीको चरम अवस्थाको सामना गर्नुपर्ने हुन्छ। ई सं २००८ ताका गरिएको एक सर्वेक्षणले इथियोपिया देशको गरिबीको महत्वपूर्ण एउटा कारण त्यहाँका मानिसहरूसँग वर्षभरि खान नपुग्ने भएकोले उनीहरू अन्‍नका बिउ पनि खान्थे। यस्तो चक्र तोड्नका लागि मानव हितकारी सङ्घ–संस्थाहरूले वैकल्पिक सहयोग कार्यक्रमहरू ल्याए र सर्वसाधारणलाई बिउ जोगाउन, त्यसलाई रोप्न र हुर्काउन सहयोग गरे। उनीहरूसँग पुग्ने अन्‍नपात भएपछि बिउ जोगाउन सक्ने भए। बिउको महत्व हुन्छ, तसर्थ बिउ मास्नुहुन्‍न, नत्र ठूलो गरिबी र भोकमरीको सामना गर्नुपर्ने हुन्छ। सङ्कटले ल्याउने अनिकालको सामना गर्नका लागि यो अझ महत्वपूर्ण हुन्छ।

 

  1. जोखिम न्यूनीकरण गर्ने : अहिले कोरनाको माहामारी समुदायको तहमा नै प्रवेश गरिसकेको छ। ११ चैत्र २०७६ का दिन एक दुई सङ्क्रमित देखिँदा देशभरि नै बन्दाबन्दी लागू गरियो। निको हुनेहरूलाई उच्च तहका पदाधिकारीहरूले फूलका गच्छासहित बिदाइ गर्थे तर अहिले घरछेउमै सङ्क्रमित देखिन थालेका छन्, न त सावधानी नै छ, न कुनै नियन्त्रण नै। उपचारको अवस्था नाजुक छ, सामाजिक बहिष्कार र हीन भावनाले हेर्न थालिएको छ। तसर्थ कोरनाको सङ्क्रमणबाट बच्ने भनेको आफैं हो, सामाजिक दूरी कायम गर्नुपर्ने, बारम्बार हात धुने, सरसफाइमा ध्यान दिने, मास्कको प्रयोग आदि नै सबैभन्दा उत्तम उपाय हुन्। सरकारी कार्यालयको अवस्था, सार्वजनिक स्थलमा मान्छेको हेलचेक्य्राइँपूर्ण धुइरो आदि देख्दा कतिखेर आफू पनि सङ्क्रमित होइन्छ भन्‍न सक्ने अवस्था छैन। अहिले कोरना बिमा (इन्सोरेन्स) को व्यवस्था छ। रु. १,००० को इन्सुरेन्स गरेमा रु. १ लाखसम्म र रु. ५०० को गरेमा रु ५० हजारसम्म विमा गरेको व्यक्ति सङ्क्रमित भएको प्रमाणित हुनेबित्तिकै पाउने व्यवस्था छ। देशमा कोरनाको महामारी कम्तीमा पनि १ वर्ष रहने विज्ञहरूको अनुमान छ। त्यसैले सम्भव हुन्छ भने जोखिममा रहेका र परिवारको लागि पनि इन्सोरेन्स गर्नु असल हुन्छ।

 

अन्तमा,

अहिले विश्व नै कोरोनाको सङ्कटले आक्रान्त भएको अवस्था छ। यसका वाबजुद बाढी, पैरो जस्ता विपद्ले हामी नेपालीहरू प्रभावित बनेका छौं। निम्न आय भएका, दैनिक ज्यालादारीमा बिहान–बेलुकीको छाक गुजार्नेहरू बढी पीडामा छन्। निम्न र मध्ययम वर्गकाहरूमा पनि जीवन यापनका लागि सङ्घर्ष बढिरहेको अवस्था छ। सबैलाई सङ्कट परेको छ, तर सानो कुराहरूमा ध्यान दिइयो भने पनि आर्थिक सङ्कटको चाप थेग्न धेरै हदसम्म सहज हुने छ। तसर्थ यसमा ध्यान दिएर प्रयास गर्नुपर्ने टड्कारो आवश्यकता छ।

राजु अधिकारी

२५ साउन २०७७

 

Facebook Comments

Category: Articles, Socio-political


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4