
धरान-साउन १, वर्षाका कारण देशभरीका विभिन्न ठाउँहरुमा बाढी, पहिरो र डुबानले असर पारेको छ। असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण देशभरकै जीवन प्रभावित भयो। बाढी, पहिरो र डुबानले देशभर मृत्यु हुनेको संख्या ७९ पुगेको नेपाल सरकार गृह मन्त्रालयले सार्वजनिक गरेको छ।
राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार, वर्षाका कारण ३४ जना वेपत्ता भएका छन् भने ४० जना घाइते भएका छन्। वर्षाले मानविय क्षति हुनुका साथै भौतिक संरचनाहरू पनि ध्वस्त भएका छन्। ठाउँ ठाउँमा सडक अवरूद्ध पनि भएका छन्।
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार असार ३१ गतेसम्म १७,४३१ अनुमानित घरधुरी अस्थाईरुपमा विस्थापित भएका छन्।
सबैभन्दा बढी विस्थापित घरधुरी मोरङ जिल्लामा ६५३५ घरधुरी विस्थापित भएका छन्(अस्थायीरुपमा)। जनकपुरमा ५००० घरधुरी विस्थापित भएका छन् भने सर्लाहीमा ३००० घरधुरी विस्थापित भएका छन्।
बारामा १६०० घरधुरी विस्थापित भएका छन् भने रौतहटमा १११० घरधुरी विस्थापित भएका छन्। सार्वजनिक डाटा अनुसार पर्सामा १२० र ताप्लेजुङमा १ घरधुरी विस्थापित भएको जानकारी दिइएको छ।
अवरूद्ध भएका सडकहरू खुलाउन सबै ठाउँमा प्रयास हुँदै छन्।
Discussion about this post