कास्की- बुधबारका दिन ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीको आज राजकीय सम्मानमा पोखराको रामघाटमा अन्त्यष्टि गरिएको छ।
पोखराको रामघाटमा मन्त्री रबिन्द्र अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरू विराज र स्वराज अधिकारीले दागबत्ति दिएका थिए। हेलीकोप्टर दुर्घटनामा निधन भएका सातजना मध्ये पाँचजना नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, प्राधिकरणका कर्मचारी ध्रुवदास भोछभया, प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो।
पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको अन्त्येष्टि बौद्ध परम्परा अनुसार आइतबार टेकुमा हुने जानकारी भएको छ।
शुक्रबारका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीको शवमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो। अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जली गरिएको थियो।
मन्त्री अधिकारीको शव गृह जिल्ला पोखरा लगिएको थियो। मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्तरुपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । त्यसैगरी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्ममा अर्याल, नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट, काङ्ग्रेस नेता यज्ञबहादुर थापालगायतले श्रद्धाञ्जलि दिनुभएको थियो । हजारौं सर्वसाधारणहरूले श्रद्धाञ्जलिको दिनुभएको थियो ।



Discussion about this post