जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भइ देशका बिभिन्न जिल्लाहरूमा सामाजिक सेवाका कामहरू गर्दै आएको संस्था कोमल हृदय प्रतिष्ठान (Gentle Heart Foundation) ले हालै चितवन जिल्लाको कालिका नगरपालिकामा बिभिन्न सामाजिक सेवाका कामहरू सम्पन्न गरेको छ ।
विशेषगरी अनाथ तथा असहाय बालबालिकाको स्याहारसम्भार र बेचबिखनको उच्च जोखिममा परेका महिलाहरूको उत्थान र सबलीकरणको क्षेत्रमा कार्यरत यस संस्थाले यही मङ्सिर १६ गरेका दिन कालिका नगरपालिका – ६, क्लबचोकमा ६ महिने नि:शुल्क सिलाइकटाइ तालिमको सुरुवात गरेको छ । तालिमको उद्घाटन समारोहमा कालिका नगरपालिका चितवनका मेयर श्री खुमनारायण श्रेष्ठ, कालिका नगरपालिका वडा नं. ७ का वडाध्यक्ष श्री डिल्लीराम दवाडी तथा पृथ्वी माध्यमिक विद्यालय, चितवनका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री केशव लामालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कालिका नगरपालिकाको सिद्धीलगायत अन्य ठाउँहरूका ७८ जना बालबालिकाहरूलाई संस्थाको छात्रवृत्ति कार्यक्रमकै एक भागस्वरूप चिउरा, दालमोठ, मञ्जन, ब्रस तथा साबुनलगायतका सामग्रीहरू वितरण गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै मेयर श्रेष्ठले संस्थाले गरेको असल कामहरूको सराहना गर्दै यस्ता असल कामहरू जारी राख्न अनुरोध गर्नुभयो । उहाँले सीप सिक्नका निम्ति तालिममा अनुबन्धित सहभागीहरूलाई एकदम लगनशीलताका साथ सिक्न र आफ्नो भविष्य आफै निर्माण गर्न उत्साह दिनुभयो ।
आवश्यक सीपको अभावमा कतिपय महिलाहरू जोखिमपूर्ण काम गर्नसमेत बाध्य हुनुपरेको त कतिपय आफ्नै घरभित्र लैंगिक हिंसाको सिकार बन्नुपरेको यथार्थतालाई मध्यनजर गर्दै सीप विकासको क्षेत्रमा राज्यलाई थोरै भए पनि सहायता पुर्याउने उद्देश्यले संस्थाले यसप्रकारका तालिमहरू सञ्चालन गरेको संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक श्री अर्जुन ढकालले बताउनुभयो । उहाँले तालिम समापनको क्रममा सबै दीक्षितहरूलाई एकएकवटा सिलाइ मेसिन हस्तान्तरण गरिने पनि जानकारी गराउनुभयो ।
Discussion about this post