
काठमाडौं – असोज १८, नेपाल राष्ट्रिय मण्डली संगति (NCFN) को केन्द्रिय महाअधिवेशन २०७४ भरतपुर, चितवनमा सम्पन्न भएको छ। असोज १७ र १८ गते चलेको महाअधिवेशनले नयाँ केन्द्रिय कार्यसमितिको अध्यक्षमा पास्टर हनोक तामाङ, उपाध्यक्षमा पास्टर बि बि कार्की, सचिवमा पास्टर बीरबहादुर तामाङ र कोषाध्यक्षमा विश्वदेव खडकालाई निर्वाचित गरेको कुरा NCFN का जेनरल सेक्रेटरी डा कर्ण बहादुर तामाङले बताउनुभयो।
नेपाल राष्ट्रिय मण्डली संगतिले पहिला क्षेत्रिय कार्यसमिति गठन गरेर केन्द्रिय कार्यसमिति गठन गरेको हो। नेपालको पाँच विकास क्षेत्रका क्षेत्रिय कार्यसमितिमा निर्वाचित अध्यक्षहरू स्वत केन्द्रिय समितिमा सदस्य हुने प्रावधान रहेको कुरा जेनरल सेक्रेटरी डा कर्ण बहादुर तामाङले बताउनुभयो। संघिय नेपालका सात प्रदेश अनुसार कार्यसमिति बनाउने तयारी भएको कुरा पनि डा. तामाङले बनाउनुभएको छ।
केन्द्रिय महाअधिवेशनमा “भातृ-प्रेम बनिरहोस” हिब्रू १३:१ थिमबाट महअधिवेशन तथा साधारणसभामा प्रवचन राखिएको थियो। उक्त थिममा आदरणीय पास्टर एस.सोदेम्वा, पास्टर बि. बि. राई र डा. मंगलमान महर्जनले वचनबाट उत्साह दिनुभएको थियो।
केन्द्रिय महाअधिवेशनमा ५०० जनाको सहभागिता रहेको थियो। एनसिएफ नेपालको सुरूदेखि हालसम्म लगभग ४००० चर्चहरू आवद्ध भएर संगति गर्दै आएका छन्। एनसिएफ नेपालमा अनुमानित आठलाख विश्वासीहरू भएको कुरा डा. तामाङले जानकारी गराउनुभएको छ।
Discussion about this post