शनिवार, अक्टोबर २९, कार्तिक १३
‘प्रभुको आनन्द नै तिमीहरूको बल हो।’ —नहेम्याह ८:१०
तपाईंले आफ्नो दृष्टिकोण हरेक दिन चुन्नु पर्छ, त्यसकारण बुद्धिमानीपूर्वक र राम्ररी चुन्नुहोस्।
ध्यान दिनुहोस्ः
१) आनन्दित दृष्टिकोणले तपाईंलाई विजयी हुन सहायता गर्छ। विश्व हेभीवेट च्याम्पियन जो लुइसलाई टोनी ग्यालेन्टोले मुक्का हानेर लडाउँदा, उनी तत्कालै उठे र प्रतिद्वन्दीको सामना गरे। उनका प्रशिक्षकले त्यसको विरोध गर्दै यसो भने, ‘मैले तिमीलाई सधैँ सिकाएझैँ नौ पटकसम्म नगनुन्जेल किन लडिबसेनौ ?’ लुइसले भने ‘उसलाई आराम गर्ने समय दिनु र ?’ त्यसपछि उनी खेलमा गए र त्यो खेल जिते।
२) आनन्दित दृष्टिकोणले तपाईंप्रति अरूले कसरी प्रतिकृया जनाउँछन् भन्ने कुरा निर्धारण गर्दछ। तपाईं मुस्कुराउनुभयो भने, त्यसको जवाफमा मानिसहरू पनि तपाईंप्रति मुस्कुराउनेछन्। तर यदि तपाईं रुखो व्यक्ति जस्तो देखिनुभयो भने, उनीहरू पनि तपाईंप्रति त्यस्तै देखा पर्नेछन्। यदि तपाईं दिनभरि मानिसहरूमा आनन्दित हुन चाहनुहुन्छ भने उनीहरूको बारेमा असल सोच्नुहोस्। यो जटिल कुरा होइन, तर हामी यसलाई सजिलै बिर्सिन्छौं।
३) आनन्दित दृष्टिकोणले खुशीयाली ल्याउँछ। अंग्रेज साहित्यकार स्यामुएल जोन्सनले भनेकाछन्ः ‘आफ्नै स्वभावभन्दा अरू कुनै कुरा बदलेर खुशीयाली खोज्ने प्रयास गर्ने हदसम्म मानवीय स्वभावको बारेमा अल्प ज्ञान भएको व्यक्तिले निष्फल प्रयासमा आफ्नो जीवन बर्बाद गर्छ, अनि उसले हटाउन चाहेको दुःख बढाउँछ।’
सफल मानिसहरूले यो सत्यलाई आत्मसात् गर्छन्, चाहे ती अपरेसन कक्षमा गइरहेका सर्जन हुन्, वा प्रवचन तयार पारिरहेका पास्टर हुन्, वा करोवार वा व्यापारको नयाँ कदम उठाउँदै गरेका कार्यकारी अधिकृत हुन्। आत्मविश्वासले प्रत्येक पटक तपाईंको सफल हुने सम्भावनालाई बढाउँछ। यसकारण, विशेष गरी तपाईंलाई त्यति मन नपर्ने कुनै काम गर्नुहुँदा, परमेश्वरका प्रतिज्ञामा आफ्नो मन अडाउनुहोस्, आफ्नो भावनामा होइन। यसले तपाईंलाई प्रत्येक पटक सही मार्गमा फकाईल्याउनेछ— निश्चित रूपमा !
आत्मिक भोजनः यशैया ३४–३७, यूहन्ना ७:२५–३२, भजन ९, हितोपदेश २८:१३–१६
Discussion about this post