बिहीवार, अक्टोबर २७, कार्तिक ११
‘परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ।’ —रोमी ८:२७
हामीले कहिले कहीँ परमेश्वरको इच्छाभन्दा बाहिरका कुराको लागि प्रार्थना गर्ने हुनाले, पवित्र आत्माको कामको एक पक्ष भनेको चाहिँ हाम्रो मन परिवर्तन गर्नु हो— हामीले चाहेको कुरा पाउन परमेश्वरलाई मनाउनु होइन। यसकारण पवित्र आत्माले प्रार्थनामा ‘हाम्रा हृदयको खोजी गर्नुहुन्छ।’ कहिले काहीँ शब्दहरू पर्याप्त हुँदैनन्; कसैले जे भन्छन् त्यसको आधारमा उनीहरूले वास्तवमै के सोचिरहेका छन् वा के चाहन्छन् भन्ने कुरा तपाईंले सधैँ बुझ्न सक्नुहुन्न। तर यदि तपाईंले उनीहरूको हृदयभित्र देख्न सक्नुहुन्थ्यो भने, उनीहरूका शब्दको अर्थ के हुन्छ भन्ने कुरा तपाईंले निश्चित रूपमा थाहा पाउन सक्नुहुन्थ्यो। उहाँले हाम्रा हृदयको खोजी गर्नुहुँदा अनि पिताकहाँ हाम्रा निवेदनहरूको व्याख्या गर्नुहुँदा पवित्र आत्माले त्यही काम गर्नुहुन्छ। तर यदि पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ (परमेश्वरकहाँ हाम्रोतर्फबाट निवेदन गर्नुहुन्छ) भने, हामीले परमेश्वरको इच्छा के हो थाहा पाउनु असल हुन्छ। अनि त्यो कुरा हामीले कहाँबाट थाहा पाउन सक्छौँ त ?
उहाँको वचनबाट। हामीले परमेश्वरको इच्छाअनुसार प्रार्थना गर्न सक्नुभन्दा पहिले दुईवटा कुरा हुनुपर्छ।
पहिलो कुरा, हामीले नियमित रूपमा धर्मशास्त्र पढ्नुपर्छ। परमेश्वरको मन उहाँको वचनमा प्रकट गरिएको छ, यसकारण बाइबल पढ्नुहुँदा तपाईंले कसरी प्रार्थना गर्नुपर्छ भन्ने कुरा तपाईंले थाहा पाउनुहुन्छ।
दोस्रो कुरा, हाम्रा प्रार्थनाले कुनै फल फलाउने हो भने हामीले धर्मशास्त्रमाथि मनन गर्ने अभ्यास गर्नुपर्छ। जसरी खाना पकाउने सीपालु व्यक्तिले सम्पूर्ण स्वाद निकाल्न खानालाई विस्तारै उम्लन दिन्छ, त्यसैगरी हामीले पनि हाम्रा मनलाई धर्मशास्त्रमा डुब्न दिनुपर्छ र यसलाई हाम्रो अंश बन्न दिनुपर्छ। त्यसो भएपछि हामीले आफ्ना प्रार्थनाको जीवनमा परिस्थितिहरू परिवर्तन भएको देख्न सुरु गर्नेछौँ किनकि पवित्र आत्माको मध्यस्थता परमेश्वरको इच्छाअनुसारको हुन्छ, जुन उहाँको वचनअनुसारको हुन्छ।
अन्तिम निश्कर्ष के हो भने, तपाईंले के चाहनुहुन्छ भन्ने कुरा तपाईंलाई थाहा छ भनी तपाईंले सोच्न सक्नुहुन्छ, तर तपाईंलाई कुन कुराको खाँचो छ भन्ने कुरा परमेश्वरलाई थाहा छ !
आत्मिक भोजनः यशैया २६–२९, यूहन्ना ७:१–१३, भजन १०४:१–२३, हितोपदेश २८:५–८
Discussion about this post