मंगलवार, अक्टोबर २५, कार्तिक ९
‘जससँग दश सिक्का छ त्यसलाई देओ।’ —मत्ती २५:२८
लगानी गर्न प्रत्येकलाई केही रकम दिइएका तीन जना भण्डारेका बारेमा सम्झना छ ? अघिल्ला दुई जनाले आफ्नो रकम दुई गुणा बनाए; तेस्रोले आफ्नो रकम माटोमुनि लुकायो। अघिल्ला दुई जनाको पदोन्नति भयो; तेस्रो कामबाट निकालियो। ‘त्यस बेकम्मा नोकरलाई चाहिँ बाहिरी अन्धकारमा फालिदेओ’ (पद २८–३०)। परमेश्वरले तपाईंलाई प्रतिज्ञा गर्नुभएको कुराको आधारमा विश्वासमा जोखिम उठाउन योभन्दा बढी शक्तिशाली प्रेरणा के हुन सक्छ र ? तपाईंले भन्नुहोला, ‘तर यदि म असफल भएँ भने ?’ असफलताले तपाईंलाई सफलताको लागि तालिम दिन्छ ! यसले तपाईंलाई अघि बढ्न तपाईंले कुन कुरा परिवर्तन गर्नु आवश्यक छ भन्ने कुरा देखाइदिन्छ। यसको बारेमा यसरी सोच्नुहोस्ः उद्धार पाएको परमेश्वरको एक सन्तानको रूपमा, तपाईंसँग यस्तो एउटा सुरक्षाको जाल छ जसले तपाईंलाई सुरक्षित रूपमा असफल हुन सम्भव बनाउँछ। तर यदि तपाईंको प्रतिष्ठा र आत्म–सम्मान कुनै असफल प्रयासमा अडिएर रहेकाछन् भने, फेरि प्रयास गर्न तपाईंलाई कुनै प्रेरणा हुँदैन। असल अनुभव गर्न चाहनु, सफल बन्नु, इनाम जित्नु, र अघि बढ्नु मानवीय स्वभाव नै हो। तर जसरी विश्व स्तरीय धावकले छिटो दौडन अलिकति पछि हट्छ, त्यसैगरी अहिले तपाईंले पछाडि सर्न लिनुभएका केही कदमहरूले पछि गएर तपाईंको प्रगतिलाई अघि बढाउनेछन्। अनि ध्यान दिनुपर्ने अर्को केही कुरा पनि यहाँ छः परमेश्वरले मानिसहरूको भन्दा फरक तरिकाले हाम्रा उपलब्धिहरूको मूल्याङ्कन गर्नुहुन्छ। मानिसहरूको नजरमा असफलता चाहिँ परमेश्वरको नजरमा प्रायः सफलता हुन्छ। नोआलाई सम्झनुहुन्छ ? जलप्रलयभन्दा पहिले उनले सबै कुरा गुमाए जस्तो देखिन्थ्यो; तर पछि उनी पृथ्वीका सबैभन्दा सफल मानिस बने। तपाईंलाई सबैभन्दा बढी सन्तुष्टि दिने इनाम भनेको मानिसहरूको स्वीकृति होइन— यो त परमेश्वरको ‘स्याबास, असल र विश्वासयोग्य नोकर !’ (मत्ती २५:२१) हो। यसकारण, जोखिम उठाउनुहोस् !
आत्मिक भोजनः यशैया १७–२१, यूहन्ना ६:५२–५९, भजन १२७, हितोपदेश २७:२५–२७
Discussion about this post