आइतवार, अक्टोबर १६, असोज ३०
‘यत्तिले के पुग्ला र ?’ —यूहन्ना ६:९
येशूले पाँच हजार भोका मानिसहरूलाई खुवाउनुभन्दा ठिक पहिले चेलाहरूले येशूलाई के भने, विचार गर्नुहोस्ः
‘यहाँ एउटा ठिटो छ, त्यससँग जौका पाँच रोटी र दुई माछा छन्। तर यति धेरैका निम्ति यत्तिले के पुग्ला र ?’ कथा यत्तिमै सिद्धियो त ? होइन, ‘येशूले रोटी लिनुभयो, र परमेश्वरलाई धन्यवाद चढाउनुभएपछि बस्नेहरूलाई बाँडिदिनुभयो … तिनीहरूले चाहेजति खाए …खानेहरूले उबारेका जौका ती पाँच रोटीका टुक्राहरू तिनीहरूले बटुले र बाह्र डाला भरे’ (पद ११–१३)। सुरु गर्न परमेश्वरले तपाईंलाई जहिल्यै पनि केही कुरा दिनुहुन्छ। तर तपाईंले यसलाई खोज्नुपर्छ, यसलाई पहिचान गर्नुपर्छ, र यसलाई उहाँको हातमा सुम्पनुपर्छ। ठूलो मात्रामा वृद्धि हुने आश्चर्यकर्म तब भयो जब एउटा ठिटाले आफूसँग जे छ त्यो येशूलाई दियो।
बाइबलले भन्दछ, ‘यो सानो सुरुआतलाई तुच्छ नठान, किनकि काम सुरु भएको देख्दा परमप्रभु आनन्दित हुनुहुन्छ’ (जकरिया ४:१०)। साना कदमहरू उठाउन नडराउनुहोस्, तिनीहरू विश्वासका कदमहरू हुन् भन्ने कुरा मात्रै निश्चित गर्नुहोस् र परमेश्वरले तपाईंद्वारा काम गर्नुहुनेछ। येशूले भन्नुभयो, ‘म मेरो मण्डली स्थापित गर्नेछु’ (मत्ती १६:१८)। उहाँले केद्वारा यसलाई स्थापित गर्नुभयो त ? हामी जस्तै बाह्रजना असिद्ध मानिसहरूद्वारा ! तर जब उहाँले आफैँलाई उनीहरूमा खन्याउनुभयो, तब त्यो मिलावट यति प्रभावकारी भयो कि उनीहरू दुई जना सँगसँगै हुँदा उनीहरूले पूरा शहरलाई नै उलटपुलट पार्न सक्थे (हेर्नुहोस् प्रेरित १७:६)। तपाईंले भन्नुहोला, ‘तर मेरा त धेरै कमजोरीहरू छन्।’ हामी सबै जना चोट लागेर अनि निको हुन खाँचो परेर परमेश्वरकहाँ आउँछौं। तर असल समाचार के छ भने, तपाईं कतिपय क्षेत्रमा बलियो र कतिपय क्षेत्रमा संघर्षरत हुन सक्नुहुन्छ, तापनि आफूसँग जे छ त्यसैबाट सुरु गर्न तपाईं तयार हुनुहुन्छ भने परमेश्वरले तपाईंलाई प्रयोग गर्न सक्नुहुन्छ।
आत्मिक भोजनः गरिवहरुलाई सुसमाचार सुनाउन यशैया ६१:१–९, लूका ४:१६–३०,
Discussion about this post