शुक्रवार, सेप्टेम्बर ३०, असोज १४
‘तब उहाँलाई पक्राइदिने यहूदाले सोध्यो, “गुरुज्यू, के त्यो म हुँ ?”’ —मत्ती २६:२५
ख्रीष्टप्रति प्रतिबद्धताको बारेको एउटा प्रचारमा महान् प्रचारक चाल्र्स स्पर्जनले भनेः ‘मैले यस्ता कतिपय मानिसहरूलाई चिनेकोछु जसले शक्तिशाली रूपमा सुसमाचार प्रचार गरे, तर अन्त्यमा त्यसबाट तर्केर गए। त्यस्तै मैले अरू यस्ता मानिसहरूलाई चिनेकोछु जसले डिकन र एल्डरका जिम्मेवारीहरू निकै परिश्रमसाथ पूरा गरे, तर पछि गएर आफ्ना दुष्ट इच्छाहरूका वशमा परे। तिनीहरूमध्ये कतिपयलाई मैले सबैभन्दा पवित्र मानिसहरू ठानेको थिएँ। तिनीहरूले प्रार्थना गर्दा म स्वर्गको ढोकैसम्म उचालिएकोछु। यदि तिनीहरू एक दिन यस्ता भयानक पापमा फस्नेवाला थिए भनी कसैले भनेको भए मैले त्यो कुरा विश्वास गर्ने थिइनँ। बरु आफ्नै बारेमा मैले त्यस्तो कुरा छिटो विश्वास गर्थेंहोला। हामीभन्दा बलिया जस्ता देखिने मानिसहरू पतन भएकाछन् भने हामीसँग पनि त्यस्तो हुन किन नसक्ने ?
तिनीहरूमध्ये एक जनाले तिनीहरूका प्रभुलाई धोका दिनेछ भनी येशूले भन्नुहुँदा, उहाँसँगै भोजमा बसेका हाम्रा प्रभुका प्रत्येक चेलाले सोधेः “प्रभु, के त्यो म हुँ ?” त्यो धेरै उचित प्रश्न थियो। “प्रभु, के त्यो यहूदा हो ?” भनी कसैले पनि सोधेन। सायद तिनीहरूमध्ये कसैले उसलाई शङ्का गरेनहोला। अनि यो सभामा सबैभन्दा खराब पाखण्डी त्यही हुनसक्छ जसमाथि अहिले कसैले अलिकति पनि शङ्का गर्दैन। उसले यति राम्ररी अभिनय गर्न सिकेकोछ कि उसको साँचो चरित्र अझसम्म प्रकट भएको छैन।’ यदि यी शब्दहरूले तपाईंलाई असजिलो महसुस गराए भने, नहिँड्नुहोस्— आजै क्रुसको फेदिमा दगुरेर जानुहोस् ! तपाईंका संघर्ष र परीक्षाहरूको पूर्ण ज्ञान भएर पनि तपाईंलाई विनाशर्त प्रेम गर्नुहुनेकहाँ दगुरेर जानुहोस्। येशूकहाँ जानुहोस् जसको रगतले तपाईंलाई पापबाट शुद्ध पार्छ, जसको अनुग्रहले तपाईंलाई उठाउन र थामिराख्न सक्छ, अनि जसको शक्तिले तपाईंलाई एक विजयी जीवन जिउन सहायता गर्नसक्छ।
आत्मिक भोजनः प्रस्थान १–३, यूहन्ना १:२९–४२, भजन ६३, हितोपदेश २५:२६–२८
Discussion about this post